चितवन हात्ती महोत्सवमा : ‘मिस हात्ती सुन्दरी २०८२’ चयनसँगै वातावरणीय संवेदनशीलतामा बहस

चितवन, १२ पुस ।
क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनद्वारा शनिबार सौराहामा आयोजित १९औँ संस्करणको चितवन हात्ती महोत्सवमा २५० अंक प्राप्त गर्दै ४० वर्षीया हात्ती पुनम कली ‘मिस हात्ती सुन्दरी २०८२’ घोषित भएकी छन् ।

देश–विदेशमा व्यापक प्रचारप्रसार पाउँदै आएको यो महोत्सव अन्तर्राष्ट्रिय स्तरमै लोकप्रिय मानिन्छ, जहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहने गर्दछ ।

यस्तो अन्तर्राष्ट्रिय ध्यान आकर्षित गर्ने कार्यक्रममा उत्कृष्ट घोषित हात्तीलाई सजावटका नाममा प्लास्टिकको माला प्रयोग गरिएको विषयले भने गम्भीर प्रश्न खडा गरेको छ । जब नागरिक तह र स्थानीय समुदायबाटै प्लास्टिकजन्य सामग्रीको प्रयोग बन्द गरिनुपर्छ, स्थानीय फूल तथा प्राकृतिक सामग्री प्रयोग गरिनुपर्छ भन्ने आवाज उठिरहेको छ, त्यही समयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको नजर पर्ने मञ्चमा प्लास्टिकको प्रयोग हुनु दुर्भाग्यपूर्ण भएको सरोकारवालाहरूको भनाइ छ ।

पर्यटन, वातावरण संरक्षण र जैविक विविधताको सन्देश विश्वसमक्ष पुर्‍याउने उद्देश्यसहित आयोजना गरिने यस्तो महोत्सवमा प्लास्टिकको झकिझकाउले कस्तो सन्देश प्रवाह गरिरहेको छ ? भन्ने प्रश्न पनि उठेको छ । निर्माण तथा व्यवस्थापन पक्षले किन वैकल्पिक, वातावरणमैत्री सजावटको प्रयोग गर्न सकेन ? आयोजक संस्थाले प्लास्टिकजन्य सामग्रीको प्रयोगलाई किन प्रोत्साहन गर्‍यो ? भन्ने विषयमा स्पष्ट जवाफ आवश्यक देखिन्छ ।

हात्ती संरक्षण, वन्यजन्तु अधिकार र दिगो पर्यटनको सन्देश बोकेको महोत्सवले आफ्नै उद्देश्यविपरीत अभ्यास गर्नु अन्तर्राष्ट्रिय स्तरमा गलत सन्देश जाने जोखिम भएको वातावरणविद् र सचेत नागरिकहरूको धारणा छ । भविष्यमा यस्ता कार्यक्रमहरूले स्थानीय पुष्प, प्राकृतिक तथा पुनः प्रयोगयोग्य सामग्रीको प्रयोगलाई अनिवार्य गर्दै पर्यावरणमैत्री आयोजनाको उदाहरण प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

चितवन हात्ती महोत्सवजस्ता अन्तर्राष्ट्रिय पहिचान बनाएका कार्यक्रमहरूले मनोरञ्जनसँगै जिम्मेवार पर्यटन र वातावरणीय चेतनाको नमूना प्रस्तुत गर्न सकून् भन्ने अपेक्षा व्यापक रूपमा व्यक्त गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट