नेपाली साहित्यिक फाँटमा निबन्धकार तथा लघुकथाकारका रूपमा परिचित रामकृष्ण ढकाल सादा भोजन र उच्च विचारका शालीन व्यक्तित्व हुन् । उनी षड्यन्त्रपूर्ण जुवाको चौकामा सधैं मौलाइरहने राजनीतिक दाउपेचबाट टाढा रहन रुचाउने साहित्य–साधक हुन् ।
राजनीति कहिलेकाहीँ अराजक बन्न सक्छ, लिक छोड्न सक्छ, अनुशासन तोड्न सक्छ र परिआएमा निकृष्ट सम्झौतामा समेत हस्ताक्षर गर्न सक्छ । तर नीति, न्याय, विधि वा पद्धतिमा पल्लवित र पोषित प्राणीले अवसर हेरी राजनीतिजस्तै दिउँसै काँचुली फेर्न सक्दैन । यिनै जीवन–अनुभूतिहरूलाई निबन्धकार ढकालले उजागर गर्ने इमानदार प्रयास गरेका छन् ।
माता दिलमाया ढकाल र पिता भवानीप्रसाद ढकालका पुत्ररत्नका रूपमा जन्मिएका रामकृष्ण ढकाल हाल रत्ननगर नगरपालिका –२, चितवनमा रही अध्यात्म र साहित्यको साधना तथा अध्ययनमा तल्लीन देखिन्छन् । उनले हालै एकसाथ दुई कृतिहरू — ‘वामनकथा’ (लघुकथासङ्ग्रह, २०८२) र ‘रामवाण’ (व्यङ्ग्य–निबन्धसङ्ग्रह, २०८२) — प्रकाशित गरेका छन् ।
पहिलो कृतिले बीस शीर्षकमार्फत समसामयिकताको वस्तुविन्यासीय कथानक प्रस्तुत गरेको छ भने दोस्रो कृतिले सिद्धान्त र दर्शनको दुहाइ दिने भ्रष्टाचारीहरूलाई केन्द्रमा राखी निबन्धात्मक ढाँचामा जोडदार व्यङ्ग्य–वाण प्रहार गरेको छ । यसमार्फत देशमा फैलिएका राजनीतिक, सांस्कृतिक र सामाजिक विकृति, विसङ्गति र विद्रूपताप्रति शब्दभेदी सोलाहरू वर्षिएका छन् ।
राजनीतिले आफैं बनाएको संवैधानिक बार–बन्धन भत्काउन सक्छ, तर न्यायनिष्ठ तपस्वीले विधिको विधानलाई वेदका ऋचा ठानेर पाठ गर्दै अक्षरशः पालन गर्न रुचाउँछ ।
‘रामवाण’ (व्यङ्ग्य–निबन्धसङ्ग्रह) नामअनुसार नै रामले खर र दूषणमाथि वाण प्रहार गरेझैं शब्दभेदी वाणको बौछार गरी भ्रष्टहरूको सातोपुत्लो उडाइएको छ । उक्त कृतिमा उक्ति–वक्रोक्ति भन्दा पनि शब्द–वक्रोक्तिको प्रभावशाली प्रयोग पाइन्छ ।
यसमा ‘मणिशहरका हासित्यिकहरू’, ‘परिवर्तन’, ‘हाँसिफल’, ‘खायदेयको पार्थिव हनुमान’, ‘मुर्कुट्टोसँग खायालय भ्रमण’, ‘सडकको आत्मसवाई’, ‘आखिर किन ?’, ‘झरीको गन्थन’, ‘धन्य धन्य महाधन्य’, ‘पहिरो पुराण’, ‘बिजुली बखान’, ‘जात्रैजात्रा’, ‘गाँडतन्त्रको चोर सरात’, ‘दीर्घकालीन सुशासनको जय’, ‘नेपाल, नेपाली र पराइ’, ‘सभ्यताको सेरोफेरो’, ‘शुद्धबुद्धिविहीनस्य ढाडी राज्यं तथैव च’, ‘अँठ्याचार’, ‘क्षेतिपाती’, ‘ऊ::: कम्प’, ‘जाडोको घाँडो सवाई’, ‘खायक्रम सञ्चालन’, ‘हासित्यिक पुरस्कार वितरण तथा मैमान कार्यक्रम’, ‘गड्याङगुडुङ डड्याङडुडुङ’, ‘राष्ट्र गफाडी सम्मेलन’, ‘गन्दे चौरको महाधिवेशन’, ‘आन्दोलन कि हानेदोलन’, ‘बाह्र र बार’ जस्ता करिब ५५ शीर्षकमा निबन्धहरू समावेश छन् ।
यीमध्ये ‘चुरीफुरी र हाबाहुरी’, ‘बक्चेट भाषण’, ‘नेता नं. ४२०’, ‘घिचपर्वको लाठे बैठक’, ‘मन्त्रीमण्डलको गौरवशाली खाइठक’, ‘ए फर एटम नून गुन र बैगुन’ जस्ता निबन्धहरूले समसामयिक नाङ्गो राजनीतिलाई उदाङ्ग पारिदिएका छन् ।
निबन्धकारको रचना–शिल्प सशक्त, रोचक र विचारोत्तेजक छ । भनाइ र हनाइ दुबै तोडपूर्ण छन् । नमुनास्वरूप एउटा अनुच्छेदांश प्रस्तुत छ :
“बुद्ध, प्लेटो, सुकरात, फाल्गुनन्द र हजारौं ऋषि–मुनिहरू आदिम युगका कुँडाकर्कट भए । ह्यान्सेल र ग्रेटेल नामक दाजुभाइको कथा तथा रापुन्जेल नामकी सुन्दरीको कथाजस्ता पश्चिमी आख्यानमा वर्णित काला शक्तिधरहरू पूर्वका लागि मात्र अन्धविश्वास ठहरिए …।”
प्राकृतिक, भौगोलिक, सामाजिक, धार्मिक, सांस्कृतिक एवं जातीय, क्षत्रीय र लैङ्गिक तहमा लागेका काला धमिराहरूप्रति चाहिँदो शब्दमय विषादीको प्रयोग राम्ररी भए पनि निर्मलीकरण हुनसक्ला नसक्ला— त्यो भविष्यकै गर्भमा छोड्नु उपयुक्त ठानिन्छ ।
वर्तमान विद्रोहमा राजनीति र न्यायबीचको भेद जस्तै, कृतिकारले पनि निबन्धमार्फत ती विषयहरूलाई विश्लेषण–संश्लेषण गरी वर्तमानका कुख्यात भ्रष्ट सम्राटहरूको चरित्रलाई उदाङ्ग पारेका छन्। उनले सरल, सरस र सहज भाषाशैली तथा शिल्पको उत्कृष्ट प्रयोग गरेका छन् ।
कृतिमा मुद्राराक्षसको अतिक्रमणले व्यङ्ग्यलाई थप धार दिएको छ। यसरी नै यो कृतिले अहिले चितवनको साहित्यिक वृत्तमा नयाँ हलचल ल्याएको छ ।
यति सुन्दर दुई कृतिहरू उपहार दिने निबन्धकारप्रति सादर धन्यवाद र हार्दिक बधाई व्यक्त गर्दै, उहाँको लेखकीय ऊर्जा अझ परिपक्व र प्रस्फुटित हुँदै जाओस् भन्ने शुभकामना प्रकट गर्दछु ।




