मकवानपुर, १ असार ।
चितवन जिल्लामा शनिबार एकैदिन तीन जनाको मृत्यु भएको छ । दुई जनाको शव विभिन्न स्थानमा फेला परेको छ भने मानवसेवा आश्रममा आश्रित एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट सम्पर्कविहीन भएका एक पुरुषको शव भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनार (ड्याम साइड) क्षेत्रमा फेला परेको छ । नदीले बगाएर ल्याएको अवस्थामा शनिबार बिहान शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
मृतक काठमाडौँ महानगरपालिका–६, सरस्वतीनगरका ५९ वर्षीय वामदेव शर्मा अधिकारी रहेको प्रहरीले जनाएको छ । उनी गत मंगलबारदेखि सम्पर्कविहीन थिए । घटनास्थलमा पुगेका मृतकका ज्वाइँ विजय धितालले शवको पहिचान गरेका थिए ।
त्यसैगरी, भरतपुर–२९ स्थित तान्द्राङ खोलामा एक महिलाको शव फेला परेको छ । नाम, थर र ठेगाना नखुलेको उक्त शव सडेगलेको अवस्थामा भेटिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार महिलाले निलो रङको कुर्था–सुरुवाल लगाएकी थिइन् । शवको टाउकोको भाग अत्यधिक कुहिएर कंकालजस्तै बनेको तथा शरीरका अन्य भागहरू पनि सडेको अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, भरतपुर महानगरपालिका–३ बेलचोकस्थित मानवसेवा आश्रममा आश्रित एक महिलाको मृत्यु भएको छ । रुपन्देहीको बुटवलबाट उद्धार गरी भरतपुर ल्याइएकी अन्दाजी ३६ वर्षीया ‘सरुवा’ भनिने महिलाको शनिबार बिहान मृत्यु भएको हो ।
उनको वास्तविक नाम, थर तथा स्थायी ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । उनलाई २०८० साल मंसिर ६ गते बुटवलबाट उद्धार गरी मानवसेवा आश्रम, भरतपुरमा राखिएको थियो ।




