कुहिरोले छोपिएको ऐतिहासिक उपरदाङगढीमा गुञ्जिए गजल

उपरदाङगढी (चितवन), ३० जेठ ।

शनिबार बिहान चितवनको पुरानो सदरमुकाम उपरदाङगढीको खुला चौरमा चितवन, नवलपरासी र तनहुँका गजलकार तथा स्रष्टाहरूको जमघट देखियो । इच्छाकामनाका पहाडी डाँडाकाँडा कुहिरोले ढाकिएका थिए भने हल्का वर्षा पनि भइरहेको थियो ।

ऐतिहासिक गढीमा पुगेर गजल वाचन गर्ने योजनाअनुसार स्रष्टाहरू त्यहाँ पुगेका थिए । पानी परिरहेकाले खुला चौरमै कार्यक्रम गर्ने कि ओत खोज्ने भन्ने अन्योल देखिएको थियो । अन्ततः उनीहरू गढीको एउटा संरचनामा आश्रय लिएर गजल वाचन सुरु गरे । संयोगवश, गजल वाचन सुरु भएसँगै पानी रोकियो, आकाश खुल्यो र मौसम सफा भयो ।

त्यसपछि स्रष्टाहरू खुला चौरमा आएर इच्छाकामनाको प्राकृतिक सौन्दर्य नियाल्दै गजल वाचनलाई निरन्तरता दिए ।

गजल मञ्च चितवनले शनिबार उपरदाङगढीमा ‘गढीमा गजल’ कार्यक्रम आयोजना गरेको हो । इच्छाकामना गाउँपालिकाको प्रवर्द्धनात्मक सहयोग तथा इच्छाकामना काव्य प्रवाहको आतिथ्यमा आयोजित यो कार्यक्रमको दोस्रो शृङ्खला हो । यसअघि माडी नगरपालिकाको प्रवर्द्धनात्मक सहयोगमा सोमेश्वरगढीमा गजल वाचन गरिएको थियो ।

मञ्चका अध्यक्ष रामकृष्ण अनायासले मकवानपुरगढी, सिन्धुलीगढीलगायतका ऐतिहासिक स्थलमा पुगेर पनि गजल वाचन गर्ने योजना रहेको बताए । स्थानीय स्रष्टासँग सहकार्य गर्दै ऐतिहासिक किल्लाहरूमा साहित्यिक कार्यक्रम सञ्चालन गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य रहेको उनले बताए ।

कार्यक्रममा वासु पुष्पा अधिकारी, रामलाल कुमाल, प्रेम कँडेल उदय, अनिल श्रेष्ठ, विकास बराल, कमल अर्याल, रोशन श्रेष्ठ, विपिन पाठक, ज्ञानहरि कँडेल, अविरल यात्री, नवराज निर्वाह, सुमन घिमिरे, रामकृष्ण अनायास, प्रमिला सानु, लेखराम सापकोटा, प्रविन सन्नाटा, चारघरे ठिटो र प्रकाश थापालगायतले गजल वाचन गरेका थिए ।

नारायणगढ बजारबाट करिब ३० किलोमिटर दूरीमा रहेको उपरदाङगढी चितवनको पहाडी क्षेत्रमा पर्ने रमणीय स्थल हो । गर्मी मौसममा समेत शीतल रहने यस क्षेत्रमा बिदाका दिन आन्तरिक पर्यटकको चहलपहल बढ्ने गरेको छ । कार्यक्रममा सहभागी स्रष्टाहरू शुक्रबार नै त्यहाँ पुगेर घुर्केस घरबासमा बास बसेका थिए ।

कार्यक्रम संयोजक प्रविन सन्नाटाले साहित्यमार्फत स्थानीय पर्यटन प्रवर्द्धन गर्न सकिने विश्वास व्यक्त गरे । इच्छाकामना गाउँपालिका–२ का वडा अध्यक्ष पञ्चबहादुर चेपाङले युवापुस्ताका स्रष्टाहरूले पर्यटन प्रवर्द्धनमा चासो देखाउनु सकारात्मक पक्ष भएको बताउँदै स्थानीय सरकार साहित्यिक गतिविधिलाई सहयोग र सम्मान गर्न सधैं तयार रहेको धारणा राखे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट