भरतपुर, ३१ जेठ ।
जिल्लामा भइरहने रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले चितवनमा आयोजित ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव’ भव्य रूपमा सम्पन्न भएको छ । ब्लड डोनर सोसाइटी नेपाल, जिल्ला शाखा चितवनको आयोजनामा भएको महोत्सवमा १ हजार २२६ जनाले रक्तदान गरेका छन् ।
भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजित बृहत् रक्तदान कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको सोसाइटीका कार्यकारी उपाध्यक्ष रमेश नेपालले जानकारी दिए । उनका अनुसार ‘रक्तदान नै जीवनदान हो’ भन्ने सन्देशलाई व्यापक बनाउँदै जिल्लामा रगतको माग पूर्ति गर्न महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा विभिन्न क्षेत्रका रक्तदाताहरूको उत्साहजनक सहभागिता देखिएको थियो । रक्तदाताहरूलाई प्रोत्साहनस्वरूप यस वर्ष विशेष आकर्षक उपहारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । रक्तदान गर्ने सबैलाई ‘फग सेन्ट’ अङ्कित विशेष कप उपहार प्रदान गरिएको थियो भने सेन्टको निःशुल्क परीक्षण गर्ने अवसरसमेत उपलब्ध गराइएको थियो ।
आयोजकका अनुसार रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्दै नियमित रक्तदाता उत्पादन गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ ।





