हाडजोर्नी उपचारलाई गुणस्तरीय बनाउन ट्रमा सोसाइटी अफ नेपाल गठन, अध्यक्षमा डा. प्रमोद लामिछाने

काठमाडौं, २९ जेठ ।
हाडजोर्नी तथा ट्रमा उपचारलाई थप गुणस्तरीय, प्रभावकारी र सर्वसाधारणको पहुँचमा पुर्‍याउने उद्देश्यसहित ट्रमा सोसाइटी अफ नेपाल गठन गरिएको छ । हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको घोषणा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत गरिएको हो ।

नेपालमा अर्थोपेडिक तथा ट्रमा उपचारमा संलग्न चिकित्सकहरूलाई एकै छातामुनि ल्याई अनुभव, ज्ञान र नवीनतम प्रविधिको आदानप्रदानलाई सुदृढ गर्ने उद्देश्यले सोसाइटी स्थापना गरिएको जनाइएको छ । सोसाइटीको संरक्षकमा प्राध्यापक डा. रमेशप्रसाद सिंह रहेका छन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा डा. शैलेन्द्र के. दुवाल श्रेष्ठ, उपाध्यक्षमा डा. हेमन्त कुमार गुप्ता, महासचिवमा डा. विजयन्द्र अधिकारी, कोषाध्यक्षमा डा. आलोक पाण्डे, सहसचिवमा डा. पविन थापा तथा सहकोषाध्यक्षमा डा. सन्जित झा रहेका छन् ।

सदस्यहरूमा डा. सरोज सिंह, डा. ओमप्रकाश चौधरी, डा. राजीव झा, डा. तोयाराज भट्ट, डा. ललित चौधरी, डा. सुदीप खनाल र डा. सार्थक नेपाल रहेका छन् । साइन्टिफिक कमिटीको अध्यक्षमा डा. रोहित श्रेष्ठ तथा सदस्यहरूमा डा. भाष्करराज कार्की, डा. मनिष श्रेष्ठ र डा. विश्वबन्धु निरौला रहेका छन् ।

प्रदेशगत प्रतिनिधिहरूमा कोशी प्रदेशबाट डा. रुपेशजंग वेलवासे, मधेश प्रदेशबाट डा. चन्द्रभूषण यादव, बागमती प्रदेशबाट डा. मनोज कँडेल, गण्डकी प्रदेशबाट डा. झपेन्द्र पोखरेल, लुम्बिनी प्रदेशबाट डा. प्रकृतिराज कँडेल, कर्णाली प्रदेशबाट डा. पुजन के. रोकाया र सुदूरपश्चिम प्रदेशबाट डा. मन्दीप पाठक चयन भएका छन् ।

अध्यक्ष डा. प्रमोद लामिछानेका अनुसार काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा कार्यरत सक्रिय हाडजोर्नी चिकित्सकहरूको सहभागितामा गठन भएको यस संस्थाले ट्रमा तथा अर्थोपेडिक उपचारमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय सेवा प्रवाहमा जोड दिनेछ ।
सडक दुर्घटना, कार्यस्थलमा हुने चोटपटक तथा विभिन्न विपद्का कारण गम्भीर चोट (ट्रमा) सम्बन्धी समस्या बढ्दै गएको सन्दर्भमा सोसाइटीले हाडजोर्नी तथा नसा रोग विशेषज्ञबीच अनुभव र ज्ञान आदानप्रदानलाई तीव्रता दिने, अनुसन्धान तथा तालिमलाई प्रोत्साहन गर्ने र दुर्गम क्षेत्रसम्म विशेषज्ञ सेवा विस्तार गर्न पहल गर्ने जनाएको छ ।

संस्थाको मुख्य उद्देश्य गुणस्तरीय उपचार सेवा, जनचेतना अभिवृद्धि, अनुसन्धान, क्षमता विकास तथा सरोकारवाला निकायसँग समन्वय र सहकार्य रहेको अध्यक्ष डा. लामिछानेले बताए ।

उनका अनुसार सोसाइटीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा कार्यशाला गोष्ठी, नयाँ सर्जनका लागि फेलोसिप कार्यक्रम, उत्कृष्ट सर्जनलाई सम्मान, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न ज्ञानवर्द्धक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट