काठमाडौं, ३० जेठ ।
रोटरी वर्ष २०२६–२७ का लागि विभिन्न क्लबका नवनिर्वाचित पदाधिकारीलाई लक्षित गर्दै रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ ले देशका तीन स्थानमा ‘पीएसटी–इलेक्ट लर्निङ सेमिनार’ सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपालभरका ११७ क्लबका करिब ३५० निर्वाचित पदाधिकारी सहभागी भएका थिए ।
काठमाडौं क्षेत्रको प्रशिक्षण भक्तपुरस्थित काठमाडौं मेडिकल कलेजमा, पूर्वाञ्चलको कार्यक्रम सुन्दरहरैंचा–५ स्थित टेन्डरफिट बोर्डिङ स्कुलमा तथा मकवानपुरको हेटौंडा–५ स्थित ब्रह्मदिक एकेडेमीमा सम्पन्न भएको थियो ।
नवनिर्वाचित अध्यक्ष, सचिव र कोषाध्यक्षलाई आफ्नो कार्यकाल सुरु गर्नुअघि आवश्यक ज्ञान, सीप र जिम्मेवारीबारे अभिमुखीकरण गराउने उद्देश्यले सेमिनार आयोजना गरिएको हो। यस क्रममा पदअनुसार छुट्टाछुट्टै समानान्तर सत्र सञ्चालन गरिएको थियो ।
आयोजकका अनुसार आगामी साता पोखरा र मणिग्राममा पनि यस्तै प्रकृतिका प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ । यसबाट ती क्षेत्रका क्लबका पदाधिकारीलाई नेतृत्व विकास र प्रभावकारी कार्यसम्पादनका लागि थप सक्षम बनाइने अपेक्षा गरिएको छ ।
‘बलियो टोली, बलियो जिल्ला’ भन्ने मूल नारासहित सञ्चालन गरिएको प्रशिक्षणले ‘निष्ठाका साथ नेतृत्व’, ‘दृष्टिबाट प्रेरणा’ र ‘नेतृत्वका साथ सेवा’ जस्ता रोट्रयाक्टका मूल्यमान्यतालाई प्रवर्द्धन गरेको छ । देशव्यापी प्रशिक्षण अभियानले ‘सेवामार्फत मित्रता’को भावनालाई थप सुदृढ बनाउँदै आगामी रोटरी वर्षलाई सफल र समुदायमुखी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।





