सामाजिक धरातल , सांस्कृतिक पर्यावरण र राजनीतिक सत्ससङ्गका असरले आलोडित हुँदा साहित्यकारले आफ्नो बौद्धिक क्षमता, अध्ययन, ज्ञान, अनुभव, अनुभूति अभिरुचि, समय, साधन र स्रोतका माध्यमबाट लेख्यविषयको उद्देश्य र त्यसले समाजमा पार्ने सकारात्मक दीर्घ-असरको तह निर्धारणसँगै लेखन-यात्रा तय गर्नको लागि सिलायात्रा आरम्भ गर्दछ । त्यसरी सिलायात्रा गर्न रुचाउने सत्पात्र हुन्- कमल अर्याल ।
पूर्वप्रकाशित कृतिहरूमा कमल अर्यालका ‘तिमी आउनु अघि (२०७१), तिमी आएपछि (२०७३) र लौरौ (२०७५) आदि गजल सम्बन्धी कृतिहरू हुन् भने ‘उत्तरकी अप्सरा (२०७५)’ चाहिं यात्रापरक र ‘सिलायात्रा (२०८२)’ भर्खरै बजारमा आएको अनुसन्धानमूलक निबन्धात्मक आत्मपरकशैलीमा लिखित शोधपरक कृति हो । यस प्रकारका कृतिमा अनुसन्धानले निबन्धको निकट पुर्याउँछ भने नियात्राद्वारा यात्राका क्रममा भोगिएका अनुभूति, दृष्यावली, शोध-खोज र सोधपुछका आधारमा प्राप्त सत्य-तथ्य विवरणको अभिव्यञ्जनात्मक लयमा विचार सुग्रथन गरिन्छ । नियात्रा र निबन्धमा शैलीका हिसाबले केही फरक पनि पार्दछ । निबन्धको व्युत्पत्तिले भन्दा निष्कर्षतया बन्ध्यते इति निबन्ध: अर्थात् निष्कर्षकै रूपमा जुनवस्तुसत्यलाई प्रकटन गरिन्छ त्यो निबन्ध हो । त्यसैगरी प्रकर्षतया बन्ध्यते इति प्रबन्ध अर्थात् विशिष्ट तरिकाले आत्मपरक वा वस्तुपरक शैली र शिल्पमा जुन वस्तुतथ्यलाई उजागर गरिन्छ त्यो प्रबन्ध हो ।
अनुसन्धान वा शोधखोजका क्रममा निबन्धकार कमल अर्यालले निकै दौडधूप गरेका छन् । धर्म, संस्कृति, इतिहास, पुरातत्त्व र प्रकृतिविद् वा सम्बन्धित विषयमा जानकारी राख्नेहरूलाई भेटेर तार्किक प्रश्नहरू सोधेका छन् । आएका उत्तरलाई टिपेका छन् । तिनै ठाउँविशेषका बारेमा लेखिएका ग्रन्थहरूको खोजी र अध्ययन गरेका छन् । बडो परिश्रमपूर्वक पुस्तक तयार पारेर पुस्तकको नाम चाहिँ सिलायात्रा चयन गरेका छन् । सिला र यात्रा वा सिलाको लागि यात्राको विग्रहबाट पनि अर्थ बस्दैन । प्रकरणद्वारा अर्थ साधिने हुँदा ‘शिला’ आएर मगजमा ठोकिन्छ जसको अर्थ ‘पाषाण, पत्थर , ढुङ्गो अथवा दहिलाका तल्लापटिका ठेला’ समाउन पुगे पनि अर्थ राम्ररी बस्दैन । शिलापुष्प ( शिलाजीत ), शिलाखण्ड ( ढुङ्गाको ठूलो टुक्रो ), शिलान्यास ( विधिपूर्वक जगमा राखिने ढुङ्गो ), शिलाक्षर (ढुङ्गा खोपेर लेखिने अक्षर) जस्ता शब्दहरूले अर्थको निकट पुर्याउँदैनन् ।
शिला र सिलाको अर्थान्तरलाई छाडेर कृतिका भूमिकाकारले सोझै ‘बाली उठाएपछि बाँकी रहेका अन्नका बाला , कोसा, घोँगा, गेडा आदि खोज्ने काम हो सिलाखोज ।’ भनेर अर्थ्याएका छन् र सिलाले दिने अर्थ-रस-तत्व पनि यही हुन आउँछ । इतिहासकारहरूद्वारा लेखेर वा लेखिनसकिएका वा लेख्न बाँकी रहेका अवशेषलाई कमलले उठाएकाले सिलाखोज वा सिलायात्रा कृतिको नाम राखिनु स्वाभाविकै देखिन्छ । यो सिलायात्रामा समावेश गरिएका प्राकृतिक, भौगोलिक, धार्मिक , सांस्कृतिक, पुरातात्त्विक र सामाजिकताले मात्र नभई पर्यटकीय दृष्टिकोणले समेत चासो लिइने निम्न शीर्षकहरूबाट अवगत गर्न सकिन्छ । जस्तै “लौरीघोल यसका सन्दर्भहरू, कयरको कनकन, उपरदाङ्गढीलाई खोज्दै जाँदा, कङ्कालीकोटको सेरोफेरो, गायत्री हरिहर मन्दिर : एक परिचर्चा, जुटपानी कालिका मन्दिर, चित्रसारीलाई चियाउँदा, धर्मधामको नालीबेली, एक प्रतिनिधिमूलक चरित्र, मसानघाट र जीवन, रत्ननगरभित्रका चार मन्दिर : एक परिचय ” जस्ता एघारवटा शीर्षकहरू चयन गरिएका छन् ।
रत्ननगर वाङ्मय प्रतिष्ठानबाट प्रकाशित यस कृतिमा संस्थाका अध्यक्ष एवं सुप्रसिद्ध निबन्धकारको कृतिमाथिको छोटो र समीक्षासहितको प्रकाशकीय मन्तव्य रहेको र समालोचक लक्ष्मण अर्यालको सारपूर्ण भूमिकाले कृतिको ओज थपिएझैँ लाग्दछ । चित्रसारीदेखि आसपासका क्षेत्रहरू हुँदै उपरदाङ गढीसम्म , कङकालीकोटको सेरोफेरोदेखि धरमधाम हुँदै कयरखोला, लौरीघोल र देवघाटसम्मको छेउछाउसमेतका आञ्चलिक परिवेशको परिक्रमामात्र रहेको छैन अपितु यिनीहरूको ऐतिहासिकता, धार्मिकता, प्राकृतिकता र पुरातात्त्विकतालाई खोतलखातल गरी उजागर गरिएको छ ।
साह्रै सरल, सरस र सहज ढङ्गमा कुतूहलता र जिज्ञासाले भरी आत्मपरक एवं प्रश्नोत्तर शैली-शिल्पमा लेखिएकाले विद्यार्थी, प्राध्यापक, पर्यटन-व्यवसायी, अभिसन्धित्सुलगायत सबैखाले पाठकहरूलाई प्रियकर लाग्ने बनाइएको छ । यति सुन्दर कृति तयार पार्ने कमल अर्याललाई हृदयदेखि नै धन्यवाद दिंदै आसन्न दीपावली र छठपर्वको विशेष शुभकामनासहित लेखनी थाम्दछु । सर्वे भवन्तु सुखिन: …!!!




