‘युगको तटमा उभिएर’ आह्वान गर्नेसँग

नेपाली साहित्यको क्षेत्रमा विमल वैद्य अपरिचित व्यक्ति होइनन् । पूर्वी नेपालबाट आफ्नो परिचयलाई फैलाउँदै आज कविता विधामा रुचि राख्ने प्रायः पाठकले पढ्न भ्याएको एउटा नाम कवि विमल वैद्य पछिल्लो समय आफ्नो चौँथो कविता कृति ‘युगको तटमा उभिएर’ (२०८०)का माध्यमबाट साहित्यका पाठकसामु उभिएका छन् । यसअघिका कविताहरू भन्दा अझ माझिएर आएका उनका कविताहरूले अलिकता आशा भित्रको निराशा प्रयासबिचका न्यूनतम प्राप्ति र जीवन मूल्यका विविध आयामलाई देखाउन भ्याएका छन् ।
झन्डै चार दशक भन्दा लामो समयको लेखन र प्रकाशनले आफूलाई एउटा परिपक्व कविका रूपमा स्थापित गरिसकेका वैद्यले मौन विद्रोह बोलेका छन् भने प्रेमको सहज स्वरूपलाई बुझ्न नसके मनको घाउ कहिल्यै निको नहुने विचार पनि कवितामार्फत् नै अभिव्यक्त गरेका छन् । कवि एवम् अन्वेषक तुलसी दिवसले भनेझैँ “विमलका कवितामा नेपालको सुदूरपूर्वी पहाडको भाषा, लवज, कथन, पात्र, विश्वासधारा र विम्बहरूको बाहुल्य छ ।” यहाँ उल्लेख गरिएका विशेषता मात्र बोकेर सीमित घेरामा नरमाएर उनी अब कुनै क्षेत्र, भाषा, जाति वा समय सीमामा रहेर युगको तटमा उभिएर आफू र आफू बाँचेको समयलाई सम्बोधन गरिरहेका छन् भने पछिल्लो पुस्तालाई असीमित शब्दका अर्थलाई मानवीय हित र प्रकृतिको संरक्षणमा लगाउन अनुरोध गरिरहेका भेटिन्छन् ।
यस छोटो लेखमा ‘युगको तटमा उभिएर’ कवितासङ्ग्रह भित्रका आठतिस कविताहरूमध्ये आधा दर्जन कविताहरूमा केन्द्रित भएर उनको काव्य प्रवृत्तिलाई सोदेश्यमूलक छनोट प्रणालीका आधारमा खोजी गर्दै प्रभावपरक विश्लेषकको चेष्टा गरिएको छ ।
घाट,
पर्खिरहेको हुन्छ
हरेक जिउँदा मान्छेलाई
आफ्नो अस्तित्वमा समाहित गराउन
घाट,
जीवनको दर्शन
जीवनको आत्मबोध हो
घुमेर
फिरेर
भोगेर
अन्ततः मानिस त्यहीँ पुग्छन्
पर्खिरहेको हुन्छ घाटले सधैँ
मान्छेको अन्त्य (पृ. ८)
कविको विचारमा असहमत हुनु पर्ने कुनै कुरा छैन । कवि सहमत विषयलाई खुला गरिदिन्छन् । विषय वासनालाई जतिसुकै सजाएर हिँडे पनि जीवन छ र मृत्यु छ भन्ने सत्यलाई सहज ढङ्गे स्वीकार गर्ने वातावरण निर्माण गरिदिन्छन् ।
जीवनको अनुभूति बाँकी नरहने दिन मान्छे सोच्न र सम्झन पनि चाहन्न तर त्यो सत्य कसैले छेक् सक्दैन । होला अरूले पनि यस विषयलाई कविता वा अन्य विधामार्फत् प्रस्तुत गरेकै छन् तर कवि वैद्यको प्रस्तुति शैली सरल, सहज हुनाले विश्वास आर्जन गर्ने खालको छ । जीवनयात्रामा जति नै होड गरे पनि आफूलाई एकदिन मान्छेले भौतिक रूपमा बिसाउनै पर्ने भएकाले पटक–पटक कार्यसम्पादनमा पुनर्विचार गर्न उनले अनुरोध गरेझैँ लाग्छ । उनी जीवनको यथार्थलाई राखिदिन्छन् पूर्वाग्रह विना ।
कवि विमल वैद्यले आशालाई तिरोहित गरेर भिन्न मार्गतर्फ लागेको वर्तमान राजनीतिलाई अलि भिन्न तौरले कान समातेर ठिक ठाउँमा ल्याउने यत्न गरिरहेझैँ लाग्छ । मौन विद्रोह सबैभन्दा ठूलो परिवर्तनको वाहक हो । आख्यानकार कृष्ण धरावासीले भनेका छन्, “हरेक विसङ्गति उनका काव्यिक प्रहारका निसाना हुन् ।” आफ्नो मौनतालाई शब्दहरूको सहारा लिएर उनी बोल्छन् र यस्तो लाग्छ यो कुरामा सहमत हुनु नपर्ने कुरा केही छैन ।
उडिरह्यो असुरक्षाको बादल
सिंहदरबार र बानेश्वर वरिपरि
रहेन सुरक्षित
आफ्नै आँगनको सिमाना
निदाउन सकिएन
पट्याएर राष्ट्रिय झन्डा
आफ्नै सिरानीमुनि
तैपनि भ्रमको तुवाँलो ओढेर
म भन्दै छु
मेरो देश सुरक्षित छ
हामी समृद्ध भएका सपना देखौँ । (पृ. ३०)
कविता लेखनको कालिक सन्दर्भ र आज बाँचिरहेको हाम्रो दैनन्दिनीले भन्छ, “नारामा राजनीति चल्ने र जनता भोकभोकै मर्ने दिन आउँदा पनि यहाँ ठूलो विद्रोह भइरहेको छैन ?” नालायक राजनीतिक नेतृत्व आफूलाई स्वघोषित जनसेवक ठानेको मात्र छैन भ्रमको खेतीमा समृद्धिको फसल उठाउने योजना त बुनिरहेको छैन ? आजको सन्नाटाले भनिरहेछ केही हुन जरुरी छ विद्रोह आवश्यक छ त्यसका लागि अवज्ञा एक मात्र शक्तिशाली हतियार हो । देशमा एउटा तन्त्रलाई बिदा गरेर अर्को तन्त्र स्थापना गर्नु भनेको जनताले सास्ती मात्र खाने उपक्रम हो र ! कवि मैन विद्रोहले यो अवस्थाको अन्त्य प्रगतिशील चेत निर्माण गर्दै अगाडि बढ्न सङ्केत गर्छन् ।
जसरी लय हराउँदा गीत कस्तो हुन्छ त्यस्तै नेपाली समाजको चेतनास्तर बढे पनि राजनीति नेतृत्वको क्षमतामा कमजोरी देखिएकाले कष्टसाध्य जीवन बिताउन हामी विवश छौँ ।
कवि वैद्य गाउँको खरब सुनाउँदै गाउँको विषयलाई निकै सरल ढङ्गले राज्य सत्तामा जोड्छन् । एकातिर विकासे यात्राले कमिसनको मार्ग निर्माण गर्दै टावर संस्कृति निर्माण भइरहेको छ भने अर्कोतर्फ लाखौँ युवा आफैँलाई बेचेर, स्वाभिमानलाई बन्धकी राखेर रूसी सेनामा भर्ती भइरहेको दृश्यतर्फ ध्यान आकृष्ट गराउँछन् । आज गाउँले सहरलाई खबरदारी गर्न सकेको छैन । सहर पसेकाहरू कोही विदेशतर्फ लागेका छ त कोही सहरमै महल ठड्याएर गाउँलाई माया मारिरहेका छन् । गाउँ ऊर्जा नपाएर कमजोर बन्न पुगेको छ । अतिथि सत्कार गर्ने आफ्नो कुरा सुनाउने,  प्रकृतिलाई बचाएर सहरलाई सच्याउने शक्ति कमजोर बन्नु भनेको राज्य नै कमजोर हुनु हो । नयाँ पुस्तालाई विदेश लखेटेर हामीले कस्तो सबल राष्ट्र बनाउन खोजेको हो भन्ने प्रश्न गर्छन् कवि:
आँगनमा झोकाइरहेको घाम
र पिँढीमा सुस्ताइरहेको साँझ भेट्नु हुनेछ
रोगले थलिएर आइपुगेको मानिसलाई
पुर्जामा रेफर लेखिरहेको
अर्को रोगी स्वास्थ्य केन्द्रमा भेट्नु हुनेछ । (पृ. ४६)
जति नै अधिकार पालिकामा केन्द्रित गरिएको वा बडासरकारको कुरा गरिएको भए पनि गाउँमा न डाक्टर, न उच्च शिक्षा पढेका जनशक्ति नपुग्दा वा नरहँदा गाउँ विरामी छ । खेतीयोग्य फाँट घडेरीमा बेचेर मान्छे लडिरहेछन् उन्नत अर्थनीतिका लागि । तथापि सहर गाउँलाई त्यतिबेला पक्कै भेट्न जान्छ जतिबेला गाउँमा परिवारको सदस्य वा आफ्ना कार्यकर्ताको मृत्यु हुन्छ । यस्तो परनिर्भरता र कृतिमा सम्बन्धले समग्र विकासको गतिलाई निकै कमजोर बनाएको छ । स्वाभिमानपूर्वक देश उभिन सबै क्षेत्रलाई बलियो बनाउनु आजको आवश्यकता हो । कवि वैद्यले विषयलाई एउटा कविताबाट अर्को कवितासँग जोडिरहेका छन् मानौँ कुनै गद्य महाकाव्यमा परिच्छेद परिच्छेदका बिचमा सघन सम्बन्ध हुन्छ ।
देशको अर्थतन्त्र बलियो बनाउन सुदूर पूर्व र पश्चिमको उत्पादन प्रक्रिया र वस्तुमा सुधार आउनुपर्छ नभए थुतुनोले “समृद्ध राष्ट्र, सुखी नेपाली” जतिचोटि भने पनि त्यो नारामा मात्र सीमित हुन्छ, पारामा नवीनपन आउने छैन नै । उनी आम मान्छेको आवाजलाई राम्ररी सुनेर संश्लेषण गर्छन् कवितामा:
निरीह छ मान्छे
मान्छेभन्दा बढी निरीह लाग्छ सरकार
लुट मच्चिरहन्छ
चुपचाप हेरिरहन्छ
चोक–चोकमा अस्मिता च्यातिँदा
ऊ रमिते बनेर बस्छ । (पृ. ५७)
आखिर आजको वास्तविकता यही हो । कहीँ राज्यको उपस्थिति छैन जहाँ न्याय र निसाफको कुरा होस् । कविले भनेझैँ न्याय स्वयम् न्यायालयको गेटमा मगन्ते बनेको छ । मत्स्य न्यायको उचित उदाहरण दिन पर्‍यो भने हाम्रो न्याय प्रशासनलाई हेरे पुग्छ । मैना सुनार र निर्मला पन्तका हत्याराहरू कहाँ छन् ? लाखौँ रुपैयाँ लिएर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउनेहरूको कुरा के–के हुँदैछ । ललिता निवास काण्डमा न्यायाधीश र ठूला नेताको संलग्नताको विषय के हो ? के जनताको पीडा समाधान गर्न होइन टुलुटुलु हेर्न सरकार चाहिने हो ? किन गाडीघोडा र आवासको सुविधा दिएर पाल्नु पर्‍यो राष्ट्रिय पोशाकका लुटाहाहरूलाई ? कविताभित्र बगेको धारा र आक्रोशको भाषा यस्तै लाग्छ पाठकलाई । केही थान मान्छेका लागि रोजगारी दिन निर्वाचन गराउने हो र स्थायी सरकार भन्ने संरचनाले प्रमाणलाई ढाकछोप गर्ने मात्र कर्ममा रमाउने हो भने लाखौँ गरिब यो देशमा किन बाँच्नु पर्‍यो ।
गरिबी होइन गरिब मास्ने रणनीतिको विरोध गर्दै कवि गर्जन गर्दछन् । जति शोषणको मारमा परेको मान्छे होस् त्यससँग झन् बढी माया माटोको हुन्छ भन्ने प्रमाण पेश गर्दछन् कवि:
कतै कण्ठमा ध्वनि हराए पनि
मुठो लडेझैँ लडेर मान्छे
देशको सिमानामा धुकधुकी बाँचे पनि
रगतभित्रको संवेदना
र माटोसँगको साइनो छुट्दो रहेनछ कहिल्यै । (पृ. ८१)
सक्नेहरू उहिल्यै विदेशको नागरिक भइसके । परिवार स्वदेशमा राखेर अरबको खाडीमा श्रमको गीत गाउनेहरूको विप्रेषणबाट देश चलेको छ अनि यिनै सामान्य बनिबुतो गर्ने जनताको मालपोतले पालिएको देशमा गरिब नाङ्गो छ, भोको छ । यही हो आजको परिदृश्य । आज हामी देशलाई वा विश्व नेपाललाई यस्तै देख्छ कविको सूक्ष्म दृष्टिले माटोको मायालाई मसिनो ढङ्गले स्पर्श गरेको छ ।
आज देशलाई घिनलाग्दो संसदीय राजनीति र चुनावहरूले ग्रस्त पारेको छ । पैसाको खोलो बगाएर सहिदको रगतसँग साटेको गणतन्त्र जोगिएला र ! निकै यथार्थ ढङ्गले शब्द तथ्य वा दृश्य प्रस्तुत गर्दै कवि अगाडि भन्छन् जसरी टिप्पणी गर्छन् अध्येता तुलसी दिवस, “नेपाली राजनीतिको विसङ्गति र इतिहासका विपयोसहरूलाई राम्रोसँग सतहमा ल्याएका छन् भने आफ्नो राष्ट्र, माटो र परिवारप्रतिको जिम्मेवारीलाई सर्वोपरी मानेका छन् ।” तिन तहको सरकार निर्माणका नाममा प्रत्येक पाँच वर्षको दृश्यलाई शब्दमा कैद गर्छन् कवि:
सधैँभन्दा
दुई पेग बढी पिएर
अथवा धोएर आँखा आफ्नै आँसुले
चकित बन्दै होलान्
घरमा आइपुगेका होटेलका बिल देखेर
झर्को मान्दै होलान्
आफैँले बाँडेको तेलका कुपन भर्पाइ देखेर । (पृ. ९०)
आखिर आजको सत्य यही त छ । धेरै खर्च गरेर चुनाव लड्नु र जित्नुको आवश्यकता के हो ? सिद्धान्तको राजनीति कहाँ पुग्यो ? कता छन् वि.पी.को समाजवाद अनि माक्र्सका दास क्यापिटल ? जबजको सिद्धान्तले देशलाई कता पुर्‍याएको हो ? कवि कसैको नाम नलिएरै पनि उछितो काढ्छन् अनि कविताका पङ्क्तिहरू पढिरहँदा झलक–झलक सम्झिरहन्छौँ हामी स्वीजरल्याण्ड बनाउने सपना, ग्यासको पाइप, रेल यातायात सञ्चालनका कुरा । माथि प्रस्तुत घाट, लय हराएको गीत, गाउँको खबर, आत्मसम्मान, युगको तटमा उभिएर र यतिबेला उनीहरू कवितालाई अलि गहिरिएर हेर्दा कविताले केही नभने जस्तो गरी गहन विषयलाई सतहमा ल्याइदिएका छन् । कवि समाजको मसिनो अध्ययनबाट आफ्नो लेखन मार्गमा सामल लिन्छन् मात्र होइन चिन्तन प्रधान आलोचनात्मक काव्य रचना गर्न पुग्दछन् । करोडौँ नेपालीको ढुकढुकी हुनुपर्ने नेपालको राजनीति र यसलाई हाँक्नेहरूले जनतालाई गरिरहेको बेवास्ताले कुनै बेला अर्को रूप ग्रहण गर्दैछ । जनता सहन सक्ने भन्दा पनि बढी सहिरहेका छन् ।
जनतालाई वैदेशिक ऋण बढाएर नेता र कर्मचारीले देश लुटेको हेर्नु छैन । यो सहन गर्ने अवधि सकिन लाग्यो भन्ने २०७० को दशकको आम नागरिक चेत यहाँ प्रष्ट शब्दमा प्रतिविम्बित भएको पाइन्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट