सुरुमा चितवनको चर्चा
यतिबेला मेरो हातमा आफ्नो समयमा निकै चर्चित सामाजिक शिक्षक भजुमनराम महतोको “थारु जातिको सङ्क्षिप्त इतिहास र संस्कृति” नामक पुस्तक छ । माडी प्रज्ञाप्रतिष्ठानका उपाध्यक्ष सीएम् अपिल चितौनेको आग्रहमा यसका बारेमा केही लेख्नु छ । यसका बारेमा लेख्नुअघि चितवनको बारेमा छोटो चर्चा गर्नु उपयुक्त होला, हैन त ?
हो, चितवन चिनाउनका लागि भनेरै प्रभातकुमार जोशीद्वारा रचना गरिएको, सहन प्रधानद्वारा सङ्गीत दिइएको र सहनलगायत अरु तीन जना मिलेर गाइएको एउटा गीत मलाई असाध्यै मन पर्छ :
“नारायणीको पानीजस्तै सङ्लो चितवन
माया फुल्ने प्रीति फल्ने सानो उपवन
न्यानो मुटु नेपालको हाम्रो चितवन ।”
त्यसो त मसँग चितवनबाट जारी गरिएको नागरिकता भए पनि मेरो जन्म चितवनमा भएको चाहिँ होइन । म सानै छँदा बाआमासँग चितवन बसाइँ आएको हुँ । त्यतिबेला आफैँ हिँडेर आएको सम्झना अझै ताजा छ मसँग । त्यतिबेला नेपालमा पञ्चायतकाल थियो र भर्खरै निर्दल कि बहुदल भन्ने शीर्षकमा आमनिर्वाचन सम्पन्न भएको थियो । त्यतिबेला देशभरमा दुई जिल्लामा बहुदलले बहुमत ल्याएको थियो, चितवन र तनहुँ । हो, म त्यही तनहुँबाट चितवन आएको हुँ । यतिबेला म ठान्छु, त्यतिबेला चितवनलाई हेप्न भनेरै “चितवन नेपालका पचहत्तर जिल्लाहरुमध्ये छैहत्तरौँ जिल्ला हो ।” भन्ने भाष्य बनाइएको त होइन कतै ?
चितवन बसाइँसराइँबाट मात्र बनेको जिल्ला कदापि होइन । भन्नेहरु चितवनलाई समथर भूभाग भन्छन् । समथर बाहेक यहाँ पहाडी भूभाग पनि छ भन्ने कुरा चितवनबाहिरकाहरु भुसुक्कै बिर्सन्छन् । यहाँको पहाडी भेगमा बसोबास गर्ने चेपाङ र समथर भूभागमा बस्ने थारुहरु यहाँका रैथाने जाति हुन् । यति भएपछि चितवन कसरी बसाइँसराइँबाट मात्र बनेको हो त ? यसका बारेमा बहस चलाउन ढिला भएन र भन्या ?
त्यसपछि थारु जातिका कुरा
तनहुँबाट बसेर झरेपछि हाम्रो परिवार मङ्गलपुरमा बसोबास गर्न थाल्यो । यसरी चितवन झरेको केही महिनापछि थारु जातिलाई साहुको घरमा हरुवा वा चरुवाका रुपमा काम गर्ने कामदारका रुपमा चिनेको हुँ मैले । आफूले एसएलसी पास गरेर आइएस्सी पढ्ने भएपछि मात्र थारुहरु पनि सम्पन्न हुँदा रहेछन् भन्ने कुरा बुझेको हुँ । हुन त सन्तराम थारु नाम गरेका पञ्चायतकालका थारु नेताका बारेमा पनि यदाकदा सुनेको हुँ, तर प्रत्यक्ष भेट भएको थिएन । आफूसँगै पढ्ने थारु साथीहरु भेटेपछि बल्ल थारुका बारेमा मेरो धारण बदलिएको हो । बालमस्तिष्कमा बसेको छाप हटाउन प्रत्यक्ष प्रमाण नै चाहिने रहेछ ।
आफू शिक्षण पेसामा आएपछि भने मैले चितवन भनेको थारुको रैथाने भूमि हो भनेर पढाउन थालेको हुँ । थारुको रगतमा त्यस्तो के चिज छ जसले मलेरियासँग सजिलै विजय पाउन सक्छ ? पहाडबाट बसाइँ आएका कतिपय व्यक्तिहरुले मलेरियाका कारण सजिलै ज्यान गुमाउने गरेकोमा चितौने थारुहरु कसरी त्यसबाट बचे ? उनीहरुसँग त्यस्तो कुनै घरेलु औषधी थियो कि ? उनीहरुको जिनमै त्यस्तो कुनै प्रतिरोधी क्षमता थियो ? यसका बारेमा मानवविज्ञानमा रुचि राख्नेहरुले अध्ययन गरुन् भन्ने चाहन्छु म । जेहोस्, चितवनको पर्याय भनेकै थारु हो भन्नेमा ढुक्क छु म ।
चितवनमा मानव बस्तीका कुरा
२००७ सालमा प्रजातन्त्र आएपछिका दिनमा हो चितवनमा बस्ती खुलेको । राप्ती दून उपत्यका परियोजनाले पहाडका बासिन्दालाई चितवनतर्फ आकर्षित गरेको हो । केही दस्तुर बुझाएर आफूले सकेजति वन फाँडेर बसेको बस्तीलाई भूमि सुधार योजनाले भने प्रति परिवार पाँच विगाहामा सीमित गरिदिएको थियो । यतिबेला पुगनपुग आधा कट्ठामा बस्ने गरेकाहरुलाई यो इतिहास अचम्म लाग्नु स्वाभाविक हो ।
चितवन खुलेको पनि करिब अढाइ दशकपछि चितवन झरेका हाम्रो परिवारले आफ्नो स्वामित्वमा एक विगाहा जमिन कहिल्यै बनाउन सकेन । तर पनि कुना कन्दरामा बसेका थारुहरुसँग अझै पनि थुप्रै विगाहा जमिन छ । यसबाहेक केही अन्य जातिका व्यक्तिका हातमा पनि त्यस्तो अवस्था छ । तर यो अवस्थामा कति जना छन् ? यसको अध्ययन भने जेन्जीलाई ढाल बनाएर देशभरिका मालपोत जलेको अबको समयमा कसरी होला खै ?
अनि त्यसपछि चितवनमा थारु अस्तित्वका कुरा
मैले यहाँ पूर्वमा बछ्यौली, खैरहनी र भण्डाराका केही गाउँहरु; भरतपुर महानगरपालिकाका पटिहानी मेघौली तथा शुक्रनगर क्षेत्र र माडी नगरपालिका भित्रका केही गाउँहरु बाहेक यतिबेला चितवनका थारुको अस्तित्व सङ्कटमा छ भनेँ भने गल्ती गरेँ भन्ने लाग्दैन । चितवन राष्ट्रिय निकुञ्ज विस्तारका लागि भनेर सिङ्गो पदमपुरमा बसोबास गरेका थारुहरुको उठीबास लगाएको कुरा त हामी चितवनबासीले कहाँ भुलेका छौँ र ?
केही पढेलेखेका थारुहरु बाहेक पढाइमा पछि परेका अधिकांश थारुहरुको जीवनस्तर निकै गुज्रेको छ । उनीहरु रिनै रिनको भारी बोकेर बाँच्न विवश छन् । यसबाट उनीहरुले कहिले मुक्ति पाउने ? उनीहरुको रैथाने भूमि चितवनमा अन्यत्रबाट बसाइँ सरेर आएका अन्य जातिले रजगज गरेका कारण उनीहरुको अस्तित्व सङ्कटमा पर्दै गएकोमा चिन्ता कसले लिने ? पदीय हैसियतमा पुगेका थारु पदाधिकारीहरु लोप हुन लागेका आफ्नो जातिको बारेमा के सोच्छन् होला ? अनि यसका बारेमा राज्यको धारणाचाहिँ के छ होला ? म चितवने गैर थारुको चिन्ताको विषय हो यो ।
थारु जातिको सङ्क्षिप्त इतिहास र संस्कृति नामक कृतिको छोटो चर्चा
लेखक भजुमनराम महतो थारु जातिको पहिचानका लागि क्रियाशील स्रष्टा हुन् । यसको पुष्टि उनका यसअघि प्रकाशित कृतिहरु : दिउवा (कवितसङ्ग्रह, २०६२), पारिवारिक वंशावली (२०६२), थारु समाजका अग्रज पुर्खाहरु (२०७५), मोर जिनगिक ७५ वसन्त (जीवनी, २०७६), मोर जिनगी भरक सम्झनामा लक्ष्मी (शोक रचना, २०७७), हमार यगुवा (२०७९) तथा उनको सम्पादनमा निस्केका कृतिहरु : थारु जातिका चिनारी : एक झलक (२०७५), हमार चिनारी (२०७६), खिचरा महोत्सव स्मारिका (२०८०) आदिले दिन्छन् । त्यसबाहेक थारु संस्कृति, सङ्हाती आदि पत्रिकामा प्रकाशित विभिन्न लेखहरु उनलाई चिनाउने थप सामग्री हुन् । उमेर असीको दैलो टेक्नै लागेका भए पनि उनको क्रियाशीलता भने लोभलाग्दो छ ।
जम्मा ११२ पृष्ठको डिमाइ साइजमा प्रकाशित महतोको पछिल्लो कृति ‘थारु जातिको सङ्क्षिप्त इतिहास र संस्कृति’ (२०८१) लाई अनुसन्धानात्मक ग्रन्थ नभनेर लेखहरुको सङ्ग्रह भनिएको छ । यति हुँदाहुँदै पनि यसमा ती लेखहरुलाई व्यवस्थित गरेर राखिएको पाइन्छ । यसमा मूल खण्ड र परिशिष्ट खण्ड गरेर लेखहरुलाई राखिएको छ । मूल खण्डमा जम्मा चार वटा परिच्छेदहरु छन् । जसमा पहिलो परिच्छेदलाई ऐतिहासिक पृष्ठभूमि भनिएको छ । यसमा विषयप्रवेश गर्दै थारु जातिको अवस्थिति, थारु जातिको मूल थलो, धार्मिक संस्कार, थारु शब्दको उत्पत्ति र दाङका थारु वंशावलीको चर्चा गरिएको छ । यसमा चितवनका थारु वंशावली भने राखिएको छैन ।
यस कृति भित्र रहेको दोस्रो परिच्छेदमा थारु जातिको बसोबास, पहिरन र पेसा–व्यवसायको चर्चा गरिएको छ । यसलाई पनि बसोबास, वर्ण÷शारीरिक बनोट, पहिरन, शृङ्गार तथा गरगहना, जीवन पद्धति तथा पेसा÷व्यवसाय जस्ता उपशीर्षकमा चर्चा गरिएको छ । यसले थारु जातिका बारेमा जान्न इच्छुकहरुको मुमुक्षा पूरा गर्छ । यसमा आएको जीवन पद्धति निकै मार्मिक खालको छ । यसले थारुलाई अरुभन्दा पृथक् पुष्टि गरेको छ ।
यस कृतिको तेस्रो परिच्छेदलाई नेपालका थारु जाति नाम राखिएको छ । यसभित्र नेपालमा बसोबास गर्ने थारु जाति, तिनको अवस्थिति, तिनका थरहरुको चर्चा गरिएको छ । त्यसपछि चितवनमा बसोबास गर्ने थारु जातिको एक झलक देखाउनका साथै चितवन जिल्लाको नामकरण, चितवन जिल्लामा प्राप्त ऐतिहासिक तथा पुरातात्विक स्रोत, चितवन जिल्लाको जनसङ्ख्या आदिको ऐतिहासिक चर्चा गरिएको छ । त्यसपछि थारुसँग जोडिएको भए पनि शीर्षकमा नझल्काई थारुका परम्परागत कामहरुको चिनारी दिइएको छ । त्यसपछि चितवनका जातजाति शीर्षकमा २०५८ देखि २०७८ सम्मका जनगणनाका तथ्यहरुलाई तालिकामा प्रस्तुत गरिएको छ । यो परिच्छेद ज्ञानका दृष्टिले उपयोगी भए पनि व्यवस्थापनका दृष्टिले कमजोर देखिन्छ । यसमा भएका चितवनसम्बन्धी तथ्यलाई छुट्टै परिच्छेद बनाएर नेपालका बारेमा राखिएको तथ्य र वर्णनलाई छुट्टै बनाएको भए निकै आकर्षक हुन्थ्यो कि ?
यस कृतिमा रहेको चौथो अर्थात् अन्तिम परिच्छेदलाई थारु जातिका मूल संस्कृति र संस्कार नाम राखिएको छ । यसमा संस्कृतिअन्तर्गत थारुले मनाउने विभिन्न नौ थरीका जाडपर्वको चिनारी दिइएको छ । त्यस्तै नाचगान शीर्षकमा आठ थरी नाचको चर्चा गरिएको छ । त्यस्तै गरी परम्परागत संस्कृति शीर्षकमा नेपालमा प्रचलित तेह्र थरी थारु संस्कृतिको चिनारी दिइएको छ । यसमा संस्कारलाई छुट्टै शीर्षक दिएर थारुहरुमा प्रचलित जन्म, विवाह र मृत्यु संस्कारका विभिन्न प्रकारको छुट्टा छुट्टै चर्चा गरिएको छ । यसर्थ यो परिच्छेद थारु संस्कार र संस्कृति बुझ्नका लागि निकै उपयोगी देखिन्छ ।
यस कृतिमा समेटिएको दोस्रो खण्ड अर्थात् परिशिष्ट खण्डमा एउटा लेख र एउटा कविता राखिएको छ । आफू लामो समयसम्म आबद्ध रहेको थारु कल्याणकारिणी सभालाई चिनाउनका लागि बीस पृष्ठको आयाममा फैलिएको निकै लामो ‘थारु जातिको इतिहास र कला–संस्कृतिको उत्थानमा थारु कल्याणकारिणी सभाको भूमिका’ शीर्षकको लेखलाई परिशिष्टमा समेटिएको छ । यो लेखमा उक्त संस्थाले गरेका गतिविधिको फेहरिस्त प्रस्तुत गरिएको छ । त्यस्तै दोस्रो रचना भने सचेतनामूलक कविता राखिएको छ । लोकलयका सोह्र श्लोकमा रचित यो कविता पनि प्रकारान्तले थारु कल्याणकारिणी सभातर्फ नै लक्ष्यित रहेको पाइन्छ । पृष्ठ नराखी पुस्तकको अन्त्यमा राखिएका रङ्गीन खालका १६ पृष्ठमा रहेका ४५ वटा चित्र, फोटो र नक्साले पनि थारु जातिलाई चिनाउन निकै सहयोग पुर्याएका छन् । रङ्गीन पृष्ठभन्दा अगाडि राखिएको दुई पृष्ठको सन्दर्भ ग्रन्थसूचीले यो कृतिलाई लेखसङ्ग्रह नभएर अनुसन्धानको ढाँचामा तयार पारिएको कृति हो भन्ने पुष्टि गरेको छ । यही नै यो कृतिको सफलताको चिन्ह हो ।
थारुको इतिहास र संस्कृतिमा भजुमनराम महतोको योगदानका कुरा
भजुमनराम महतो थारु जातिलाई चिनाउन दिलोज्यानले लागि परेका स्रष्टा हुन् । यसको पुष्टि उनका आधा दर्जन कृति र तीन वटा सम्पादित कृतिले दिएका छन् । उनी आफ्नो जीवनलाई लेख्दा पनि थारुलाई नै केन्द्रमा राखेर लेख्ने गर्छन् । अझ उनको पछिल्लो कृति ‘थारु जातिको सङ्क्षिप्त इतिहास र संस्कृति’ (२०८१) नामक अनुसन्धानात्मक कृतिले गरेको छ । उनको लेखनीलाई सलाम छ ।
मलाई त यस्तो लाग्दै छ, भजुमन सर केवल लेखिरहेका छैनन्, असी वर्षको सङ्घारमा उभिँदा पनि कत्ति नथाकेर कलमरुपी हतियार उठाई आफ्नो जातीय पहिचानका लागि युद्ध गर्न तम्सिएका छन् । उनको यो कलमयुद्ध कहिल्यै नरोकियोस्, उनी सदा विजित बन्दै जाऊन् । उनको योगदानको उच्च मूल्याङ्कन होस्, यही कामना गर्दै मेरो लेखाइलाई विश्राम दिन्छु । भबतु सब्ब मङ्गलम् ।





