माननीय रवि लामिछानेलाई खुला पत्र
माननीय रवि लामिछानेज्यू, नमस्कार !
कति चाँडै हामीलाई ‘निष्ठुरी’ भन्न पुग्नुभयो ! तर सत्तामा नपुग्दासम्म दुई हात जोड्ने र सत्तामा पुगेपछि लात हान्ने प्रवृत्ति हाम्रो राजनीतिक संस्कृतिको पुरानै रोग हो ।
तपाईंप्रति हामी पत्रकारहरूको ठूलो आशा र अपेक्षा थियो । पत्रकारिताकै पृष्ठभूमिबाट उठेर देशको नेतृत्वमा पुगेका तपाईंले सञ्चार क्षेत्र र श्रमजीवी पत्रकारका समस्यामा विशेष ध्यान दिनुहुनेछ भन्ने विश्वास थियो । तर, त्यो विश्वास क्रमशः कमजोर हुँदै गएको महसुस भइरहेको छ ।
आज देशभरका श्रमजीवी पत्रकारहरू आन्दोलित छन् । सरकारी सञ्चारमाध्यमबाहेक निजी सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापनबाट वञ्चित गरिँदा पनि तपाईंको नेतृत्वको सरकार मौन देखियो । अझ दुःखको कुरा, स्वयं पत्रकारिताबाट राजनीति यात्रामा पुगेका तपाईंले यस विषयमा सार्वजनिक रूपमा एक शब्द पनि बोल्नुभएन ।
माननीयज्यू, हिजो चुनावका बेला सञ्चारकर्मीले दिएको साथ र विश्वास यति छिट्टै बिर्सन मिल्छ र ? कहिलेकाहीँ लाग्छ, सत्ताले मानिसलाई यति कठोर बनाउँछ कि उसले आफू हिँडेर आएको बाटोसम्म देख्न छाड्छ ।
यसअघि सञ्चारमन्त्री हुँदा जगदीश खरेललाई पनि मैले खुला पत्र लेखेको थिएँ । तर त्यसले खासै परिणाम दिएन । अहिले सरकारमै रहेका धेरै नेताहरू पत्रकारिताको पृष्ठभूमिबाट आउनुभएको छ । हिजो श्रमजीवी पत्रकारका अधिकारका पक्षमा चर्का आवाज उठाउनेहरू आज आफ्नै सरकार हुँदा मौन छन् । यो मौनता केवल संयोग होइन, जिम्मेवारीबाट पन्छिने प्रवृत्ति हो ।
माननीय रविज्यू,
तपाईंसँग शब्दमा प्रतिस्पर्धा गर्ने मेरो हैसियत छैन । बोल्ने कलाकै कारण विश्व कीर्तिमानमा नाम लेखाउन सफल व्यक्तिलाई म जस्तो भुइँमान्छेले सम्झाउनु शायद मूर्खता नै ठहरिएला । तर प्रश्न सोध्ने अधिकार नागरिकको हो, पत्रकारको त झन् कर्तव्य नै हो ।
हामी पत्रकारहरू अरूका समस्या लेख्छौँ, अन्यायविरुद्ध बोल्छौँ, पीडितको आवाज बन्छौँ। तर विडम्बना, आफ्नै पीडा सुनिदिने कोही हुँदैन । कहिलेकाहीँ लाग्छ, सायद हामी सबै पत्रकारले मनमनै सोधिरहेका छौँ— आखिर हामी कस्तो पेशामा बाँचेका छौँ ?
हामीलाई विशेष सुविधा चाहिएको होइन, केवल सम्मानपूर्वक बाँच्न सक्ने वातावरण चाहिएको हो । पत्रकारिता पेशालाई दया होइन, राज्यको नीति र व्यवहारबाट संरक्षण चाहिएको हो ।
सरकार, पत्रकार भएर बाँच्न सक्ने वातावरण बनाइदेऊ ।
बाँकी अर्को भेटमा ।
उही भुइँमान्छे
अजित अधिकारी
पत्रकार : पारदर्शी अनलाइन
भरतपुर, चितवन ।





