भरतपुर, ७ कात्तिक ।
विश्व पोलियो दिवस २०२५ को अवसरमा रोटरी क्लब अफ नारायणी मिड टाउन र रोट्रयाक्ट क्लब अफ नारायणी मिड टाउनको संयुक्त आयोजनामा शुक्रबार चौविसकोठी क्षेत्रमा विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमअन्तर्गत चौविसकोठी क्षेत्रका चारै दिशामा पोलियो उन्मूलनसम्बन्धी ब्यानरहरू टाँस्दै स्थानीय समुदायमा सचेतना फैलाइएको थियो । साथै, चौविसकोठीबाट सुरु भएको र्याली Chitwan Business Complex सम्म पुगेर सम्पन्न गरिएको थियो ।

र्यालीमा क्लबका पूर्व अध्यक्ष, रोटरियन तथा पदाधिकारीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमको संयोजन रोटरी डिस्ट्रिक्ट ३२९२ सब–कमिटी चेयर तथा क्लबकी पूर्व अध्यक्ष छाया श्रेष्ठले गर्नुभएको थियो । सो अवसरमा रोटरी क्लबका अध्यक्ष प्रमेश्वर भण्डारी र रोट्रयाक्ट क्लबकी अध्यक्ष आचल थापा समेत उपस्थित रहनुभएको थियो ।
रोटरी क्लबका अध्यक्ष प्रमेश्वर भण्डारीले सञ्चारकर्मीहरूसँग भन्नुभयो —
`पोलियो अन्त्यको यो लामो यात्रामा रोटरीको योगदान ऐतिहासिक छ । पोलियोमुक्त विश्व बनाउने हाम्रो अभियान निरन्तर जारी रहनेछ ।´
त्यसैगरी, रोटरी डिस्ट्रिक्ट ३२९२ रिजन ६ का को–चेयर प्रकाश पौडेलले भन्नुभयो – `विगतमा चितवन र नवलपरासीका क्लबहरूले संयुक्त रूपमा बृहत् र्याली गर्दै आएका थिए, तर यस वर्ष तिहार पर्वका कारण क्लबहरूले आफ्नै क्षेत्रबाट अभियान मनाएका हुन् ।´
सन् १९८५ देखि रोटरीले विश्वव्यापी रूपमा सुरु गरेको End Polio Now अभियानमार्फत हालसम्म पोलियोका केसहरू ९९.९% ले घट्न सफल भएको छ । नेपाललाई पोलियोमुक्त देश बनाउने यात्रामा रोटरीको भूमिका निर्णायक रहँदै आएको छ ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले `पोलियोमुक्त विश्व — स्वस्थ भविष्य´ भन्ने नारासहित समूह तस्वीर खिच्दै कार्यक्रम सम्पन्न गरेका थिए ।





