कवि मेनकाको `मनको अदालत´ सार्वजनिक

गैंडाकोट, २ कात्तिक ।
कवि मेनका चापागाईं काप्रीको कवितासङ्ग्रह `मनको अदालत´ लोकार्पण गरिएको छ ।

गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा आइतबार गैंडाकोटमा आयोजित ११७ औँ लक्ष्मी जयन्ती विषेश कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, नगर प्रमुख मदनभक्त अधिकारी र कवि चापागाईंका मातापिताले कृति लोकार्पण गर्नुभएको हो ।

कृतिमाथि प्राध्यापक रञ्जना लामिछाने र उदय अधिकारीले परिचर्चा गर्नुभएको थियो । समसामयिक विषयवस्तुमा लेखिएका ६९ वटा कविता यो सङ्ग्रहमा छन् । स्कुले जीवनदेखि नै कविता सिर्जना गर्नुभएकी चापागाईंले कोरोनाकालमा कविता लेखनमा सक्रियतापूर्वक लागेको बताउनुभयो ।

कार्यक्रममा डाक्टर भूमिराज चापागाईंले कृतिकारको परिचय गराउँदै कवि चापागाईं कविता पारखी भएको बताउनुभयो । वीरेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक रमेश प्रभातले शुभकामना मन्तव्य राख्दै कवि चापागाईंको कविता लेखनको धार बलियो देखिएको बताउनुभयो ।

कार्यक्रममा उदितप्रकाश सिग्देल, एकदेव रिमाल र विष्णु पन्थीले मनको अदालत कवितासङ्ग्रहबाट एकएकवटा कविता वाचन गर्नुभएको थियो । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित पुस्तकको मूल्य ३५१/- छ । चापागाईंको यो पहिलो कृति हो ।

सोही कार्यक्रमको पहिलो खण्डमा कवि मनोज भण्डारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको चर्चा गर्दै देवकोटाका केही श्लोकहरु वाचन गर्नुभएको थियो ।

गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई लेखराम सापकोटाले सहजीकरण गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट