कविडाँडा आख्यान पुरस्कार `हिउँको गीत´लाई, प्रतिभा पुरस्कार घोषणा

भरतपुर, २ कात्तिक ।
चितवनमा लामो समयदेखि साहित्यिक गतिविधि गर्दै आएको कविडाँडा साहित्य समाजले नेपाली साहित्यको प्रवर्द्धन र प्रोत्साहनका लागि आगामी वर्षदेखि “कविडाँडा प्रतिभा पुरस्कार” घोषणा गरेको छ । शनिबार ग्यालेक्सी गार्डेन रिसोर्टमा सम्पन्न कविडाँडा आख्यान पुरस्कार अर्पण समारोहमा समाजका अध्यक्ष एलबी क्षेत्रीले आगामी वर्षदेखि कविडाँडा प्रतिभा पुरस्कार वितरण गरिने घोषणा गरेका हुन् ।

अध्यक्ष क्षेत्रीले पुरस्कारको राशि एक लाख पचास हजार रुपैयाँ रहने बताए । यसअघि समाजले एक लाख २५ हजार रुपैयाँको कविडाँडा आख्यान पुरस्कार प्रदान गर्दै आएको थियो । यस वर्षैदेखि अझ वृद्धि गरी एक लाख पचास हजार रुपैयाँ पुर्‍याइएको छ । आगामी वर्षदेखि दुबै पुरस्कार एकसाथ घोषणा हुने र अर्पण गरिने संस्थाका अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

कविडाँडा आख्यान पुरस्कार २०८१ अर्पण समारोहमा यसपटक कविडाँडा आख्यान पुरस्कार तीर्थ गुरुङको ‘हिउँको गीत’ नामक कृतिलाई प्रदान गरिएको छ । गुरुङद्वारा लिखित यो उपन्यासले सात सय वर्षअघिदेखि गुरुङ समाजको सामाजिक यथार्थलाई चित्रण गरेको छ । यसले राजनीतिक विषयलाई मात्र नभई सांस्कृतिक पक्षलाई समेत सशक्त रुपमा समेटेको छ । उक्त कृतिलाई पद्मश्री पुरस्कारको सूचीमा समेत सूचीबद्ध गरिएको थियो । जसले कृतिको साहित्यिक मर्मलाई थप पुष्टि गरेको छ ।

२०६० सालमा स्थापना भएको कविडाँडा साहित्य समाजले २०७५ सालदेखिदेखि निरन्तर रुपमा वर्षभरि प्रकाशित उत्कृष्ट आख्यानलाई सम्मान गर्दै आएको छ । पुरस्कारको राशि मीना लामिछाने ट्रस्टले उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए । सामाजिक, सांस्कृतिक र साहित्यिक उत्तरदायित्वमा सक्रिय यो संस्था समय-समयमा विभिन्न साहित्यिक कार्यक्रम र पुरस्कारमार्फत नेपाली साहित्य समाजमा आफ्नो विशेष पहिचान बनाउँदै आइरहेको छ ।

आगामी वर्षदेखि अर्पण गरिने कविडाँडा प्रतिभा पुरस्कारले साहित्यिक प्रतिभालाई नयाँ मान्यता र प्रोत्साहन दिने मात्र नभई नेपाली साहित्यको समृद्धिका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । राष्ट्रियस्तरमा स्थापित यो पुरस्कारले आगामी पुस्ताको सृजनात्मक प्रवृत्ति बढाउन ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

यसले नेपाली साहित्य क्षेत्रमा नयाँ ऊर्जा थप्दै साहित्यको विकास र संरक्षणमा महत्वपूर्ण भुमिका खेल्ने अनुमान छ । साहित्य जगतमा आफ्नो विशिष्ट योगदानका कारण लामो समयदेखि मननीय रहेको कविडाँडा साहित्य समाजले यस अघि पनि नेपाली आख्यान र कविता लेखनलाई प्रोत्साहन गर्दै आइरहेको छ । आगामी दिनमा यस पुरस्कारले पनि साहित्यमा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ । कविडाँडा प्रतिभा पुरस्कार नेपाली साहित्य प्रेमीहरुका लागि उत्साहजनक , प्रेरणादायी र समग्र साहित्यिक परिदृश्यलाई अझ उज्जवल बनाउने आशा गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट