`पढ्ने बानीले सपना देख्न सिकाउँछ र लक्ष्यमा पुर्‍याउँछ´

गैंडाकोट, २५ असोज ।
पठन संस्कृति अभियानको १७ औँ शृङ्खलाको प्रमुख अतिथिका रूपमा विश्लेषक नारायण गाउँले सहभागी भएका छन् । कार्यक्रममा सहभागी गाउँलेले कुनै पनि लक्ष्यमा पुग्न मानिसले सपना देख्नुपर्ने बताए । `सपनाले मानिसलाई लक्ष्यमा पुर्‍याउँछ । अगाडि बढ्न प्रेरित गर्छ ।´ गाउँलेले भने – `संघर्षभित्र जीवनको रस हुन्छ । संघर्ष पनि एउटा सपना हो । पढ्ने बानीले मानिसलाई सपना देख्न सिकाउँछ र लक्ष्यमा पुर्‍याउँछ ।´

गाउँलेले पठन संस्कृतिलाई अब अभियानकै रूपमा विकसित गर्नुपर्ने आवश्यकता औंल्याए । सामुदायिक रेडियो विजय एफएमको आयोजनामा भएको पठन संस्कृति अभियानको १७औँ श्रृङ्खलामा बोल्दै उनले अध्ययन र लेखन जीवनका कमजोरी सुधार्ने महत्वपूर्ण माध्यम भएको बताए । गाउँलेले सृष्टिमा नभएर दृष्टिमा कमजोरी हुने भएकाले त्यसलाई सुधार्न पढ्ने बानीको विकास अनिवार्य रहेको बताए ।

जीवनमा जागिर, घरघडेरी वा व्यक्तिगत लक्ष्य हासिल गर्न पनि पढाइ र पठन संस्कृतिको भूमिका महत्वपूर्ण हुने बताउँदै गाउँलेले चेतना र ज्ञान अभिवृद्धिका लागि पढ्ने बानीलाई निरन्तरता दिनुपर्ने धारणा राखे । उनले पठन संस्कृतिको विकासका लागि नगरपालिका लगायत सरोकारवाला निकायले अभियानमा दिएको साथप्रति धन्यवाद पनि व्यक्त गरे ।

कार्यक्रममा संसारचन्द्र सापकोटाले `जैविक दर्शन´ पुस्तकको समीक्षा गरेका थिए । त्यसैगरी मेनका चापागाईं काप्रीले `बखान´ उपन्यासको चर्चा गरिन् भने सहारा सापकोटाले शैक्षिक कानुनका बारेमा आफ्नो प्रस्तुति राखिन् ।
शंकर आचार्यले `दिए पुग्छ´, उदित प्रकाश सिग्देलले `सत्यजीत रेका कथा´ र पवित्रा पराजुलीले `ल्हासाको खबर´ पुस्तकको टिप्पणी गरिन् ।

कार्यक्रम संयोजक त्रिलोचन सापकोटाका अनुसार पठन संस्कृति अभियानले समुदायमा अध्ययन र पुस्तकप्रतिको रुचि अभिवृद्धि गर्न ठूलो योगदान पुर्‍याएको छ । यो अभियान २०८१ साल वैशाख १५ गतेबाट सुरु भएको हो र हरेक महिनाको अन्तिम शनिबार विजय विकास स्रोत केन्द्रको सभाहलमा नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।

अभियानअन्तर्गत सहभागीहरूलाई पुस्तक उपलब्ध गराइने, पढिसकेपछि फिर्ता गर्ने र पुस्तकका बारेमा आफ्ना विचार तथा अनुभव साटासाट गर्ने गरिन्छ । यसले समुदायमा पठन संस्कृतिको जग मजबुत बनाउन मद्दत गरेको संयोजक सापकोटाले सुनाए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट