नाडी दोष
सनातन परम्परामा धर्म, अर्थ र काम यी त्रिविध पुरुषार्थको सिद्धि गर्नका लागि तथा सबैभन्दा श्रेष्ठ गृहस्थाश्रम निर्वाह गर्नका लागि विवाह संस्कारको नितान्त आवश्यकता हुन्छ । विभिन्न परीक्षणबाट यो कुरा सिद्ध हुन्छ कि वैदिक विधिबाट र ज्योतिषीय मेलापक गरेर गरिएको विवाह लामो समयसम्म स्थायी र निर्विघ्न रहन्छ ।
विवाह अघि वर र वधूको जन्म-नक्षत्रको ज्योतिषीय विधिबाट विभिन्न किसिमले परीक्षण गरिन्छ । जसलाई हामी मेलापक, अनुकूल्य वा प्रीति भन्ने गर्दछौँ । विवाह मेलापकमा विभिन्न प्रकारका कूट (गणना प्रणाली) को प्रयोग गरिन्छ । जसको सङ्ख्या ८, १०, १२, १८, २०, २३ सम्म पुगेको पाइन्छ । व्यक्तिगत अध्ययनले देखाउँछ कि विवाहमा अधिकतम २३ प्रकारका मेलापक विचार गरिन्छ तर यी सबैको प्रयोग क्षेत्रविशेष वा विशेष परिस्थितिमा मात्र गरिन्छ । यी मेलापकहरू मध्ये ४ मेलापक राशिअनुसार, १ मेलापक ग्रहअनुसार, १६ मेलापक नक्षत्रअनुसार र आयु एवं शक्ति (प्रेम मेलापक) का आधारमा हुन्छन् ।
प्रश्नमार्ग ग्रन्थमा भनिएको छ –
चत्वारिभिर्भपेनैकं सक्त्या च वयसोडुभिः ।
शोडषेत्यनुकूलानां त्रयोविंशतिरीरिता ।।
यी सबै कूटहरू भए पनि सम्पूर्ण ज्योतिष वाङ्मयमा अष्टकूट (८ कूट) लाई नै प्रमुख मानिएको छ र ती अष्टकूटमध्ये पनि नाडी कूटलाई विशेष महत्व दिइएको छ, पाइन्छ ।
शास्त्रमा भनिएको छ –
नाडीकूटं तु संग्राह्यं कूटानां तु शिरोमणिः ।
ब्रह्मणा कन्यकाकण्ठसूत्रत्वेन विनिर्मितम् ।।
अर्थात्, सबै कूटमध्ये नाडी कूट नै शिरोमणि हो । जसलाई ब्रह्माले स्त्रीको (मङ्गलसूत्र) सौभाग्य सूत्र झैँ महत्वपूर्ण विनिर्मित गरेका छन् ।
त्रिनाडी कूट
त्रिनाडी कूट नै सर्वत्र प्रचलित छ किनकि यो विधि सरल छ । जसरी विंशोत्तरी दशा सरल भएकै कारण धेरै प्रयोगमा आउँछ, त्यस्तै त्रिनाडी कूट पनि सबैले प्रयोग गर्छन् । यसमा नक्षत्रलाई तीन भागमा बाँडिन्छ । आदि नाडी, मध्य नाडी र अन्त्य नाडी ।
यसको सम्बन्ध आयुर्वेदमा बताइएका इडा, पिङ्गला र सुषुम्ना नाडीसँग हुन्छ । यदि वर र वधू दुवैको जन्मनक्षत्र एउटै नाडीमा पर्यो भने अनिष्ट हुन्छ । यदि दुवै आदि नाडीमा भए वियोग हुन्छ । यदि दुवै मध्य नाडीमा भए मृत्यु वा मृत्युतुल्य कष्ट हुन्छ ।
यदि दुवै अन्त्य नाडीमा भए वैधव्य (पति वा पत्नीको मृत्यु) हुन्छ ।
शास्त्रोक्त प्रमाण
आद्यैकनाडी कुरूते वियोगं मध्याख्यनाड्यमुभयोर्विनाशः ।
अन्त्या च वैधव्यमतीवदुःखं तस्माच्च तिस्रः परिवर्जनीयाः ।।
यसरी त्रिनाडी विचार विवाहमा गरिन्छ ।
चतुर्नाडी कूट
त्रिनाडी झैँ चतुर्नाडी कूट पनि छ । तर यसको प्रयोग त्यस्ता जातकका लागि हुन्छ जसको जन्म-नक्षत्र तीन पाद (चरण) भएको हुन्छ । यसमा नक्षत्रलाई चार समूहमा बाँडिन्छ र कृत्तिका नक्षत्रदेखि गणना सुरु हुन्छ । यदि वर र वधू दुवै एउटै नाडीमा परे भने अशुभ हुन्छ, फरक नाडीमा भए विवाह शुभ हुन्छ ।
शास्त्र वचन –
चतुर्नाडी त्वहल्यायां पांचाले पंचनाडीका ।
त्रिनाडी सर्वदेशेषु वर्जनीया प्रयत्नतः ।।
पञ्चनाडी कूट
यसको प्रयोग त्यस्ता जातकका लागि हुन्छ जसको जन्म-नक्षत्र दुई पाद एउटै राशिमा पर्ने हुन्छ (जस्तै मृगशिरा, चित्रा, धनिष्ठा) । यसमा नक्षत्रलाई पाँच समूहमा बाँडिन्छ । मृगशिराबाट गणना सुरु हुन्छ । यसमा पनि एउटै नाडीमा विवाह भए अनिष्ट हुन्छ, फरक नाडी भए शुभ हुन्छ । तर यसको प्रयोग क्षेत्रविशेष (पञ्चाल देश आधुनिक रुहेलकण्ठ) मा मात्र गर्न शास्त्रमा बताइएको छ ।
नाडी दोष परिहार
विवाह मेलापकमा नाडी कूटलाई ८ अङ्क दिइएको छ । यदि वर र वधू एउटै नाडीमा भए ० अंक दिइन्छ । यस्तो अवस्थामा दोष निवारणका उपाय छन्, जो तल प्रस्तुत छ ।
१. यदि नक्षत्र एउटै भए पनि राशि भिन्न भए दोष हट्छ ।
२. यदि नक्षत्र भिन्न भए पनि एउटै राशिमा परे दोष हट्छ ।
३. यदि नक्षत्र र राशि दुवै एउटै भए पनि चरण (पाद) भिन्न भए दोष हट्छ ।
शास्त्र वचन
राश्यैक्ये चेद् भिन्नमृक्षं द्वयोः नक्षत्रैक्ये राशीयुग्मं तथैव ।
नाडी दोषो न गणानां च दोषः नक्षत्रैक्ये पादभेदे शुभं स्यात् ।।
यसबाहेक केही नक्षत्रमा जन्म भएकालाई नाडी दोष लाग्दैन
रोहिणी, आर्द्रा, मृगशिरा, कृत्तिका, पुष्य (तिष्य), ज्येष्ठा, श्रवण, उत्तरा भाद्रपदा र रेवती ।
शास्त्र वचन
रोहिण्याद्र्रा मृगेन्द्राग्नी पुष्यश्रवणपौष्णभम् ।
अहिर्बुध्न्यक्र्षमेतेषां नाडी दोषो न जायते ।।
समग्रमा
यसरी नाडी दोषको शास्त्रीय अध्ययन गर्दा देखिन्छ कि यसको विचार नजिकैका नक्षत्र, राशि वा चरणअनुसार परिहार गर्न सकिन्छ । तर यदि यसबारे गलत निर्णय दिइयो भने विवाह जीवनमा अनावश्यक समस्या आउँछ । त्यसैले शास्त्रीय ग्रन्थलाई आधार बनाएर मात्र नाडी दोषको निष्कर्ष निकाल्नुपर्छ ।
भास्कराचार्यले ज्योतिषलाई आदेश शास्त्र भनेका छन् । आदेश (निर्णय) गलत भए ज्योतिषको वास्तविक स्वरूपमा विकृति आउँछ ।
ज्योतिः शास्त्रफलं पुराणगणकैरादेश इत्युच्यते ।
(लेखक न्यौपाने देवघाटधामस्थित वेद वेदाङ्ग संस्कृत विद्यापीठम्मा अध्ययनरत हुनुहुन्छ ।)