मस्तिष्कको कुनामा समयको एक चक्र घुमिरहेको छ ।

झिसमिसै उज्यालोमा उठ्दा चिसो चिसो हुन्थ्यो । मन्दिर कोठाबाट धुपको बासना सिधै नाकमा ठोक्किँदा मनै आनन्दित बनाउँथ्यो ।

घरमा पोतिएको कमेर‍ो र रातोमाटो, बुबाले लगाउनु भएको दुर्गा पाठको ध्वनि अनि आमाले आँगन बढार्दै गर्दा आएको खर्राको आवाज, त्यसै आँगनको डिलमा सयपत्री र मखमली फूलको फक्रँदै गरेको कोपिला, पहेलिँदै गरेको जमरा, ठडिँदै गरेको लिङ्गेपिङ अनि रेडियोमा निरन्तर बजिरहको मालश्री धुनले दशैँलाई भव्य स्वागत गरिएको हुन्थ्यो । आकाशमाथि चङ्गा उडिरहेको हुन्थ्यो । चङ्गासँग मन पनि आफ्नै संसारमा उड्थे ।

समयको चक्र एकदमै थोरै घुम्यो –
१५ दिन स्कुल बिदा, टपरीको मासु र चिउरा, चचहुई भन्दै खेलिएको पिङ, रातै निधार, शिरमा जमरा, मुगलान फिल्मको ‘कोदो फुल्यो बारीमा….” गीत, घरमा आफन्तजनको भेटघाट । खै यी चिजहरु किन यति धेरै रमाइला भएका होलान् ?

खुशी सँगसँगै अब दशैँ सकिन लाग्यो भन्ने एउटा पिर पर्थ्यो । दशैँ सकिएपनि तिहार त आइहाल्छ नि भन्ने अर्को खुशीले फेरि मनमा डेरा जमाउँथ्यो ।

समयको एक कालखण्ड बित्यो –
छोरी दगुर्ने भैसकेकी थिई । घर चलाउने जिम्मेवारीसँगै दशैँ मनाउने जिम्मेवारी पनि काँधमा थपिएको थियो । कामको व्यस्ततालाई थाँती राख्दै लिइएको दशैँ बिदा अनि पातलिदो जमघट । पहिलाको दशैँ भन्दा अहिलेको दशैँको रौनक केहि कम भएको महसुस मनले गर्दै थियो । रौनकमा केही भिन्नता थियो होला तर उमंग बढी थियो । कतिपय कुरालाई उमेरले पनि फरक पार्दो रहेछ । म छोरीको उमेरमा हुँदा जति खुशी थिएँ, छोरी पनि त्यत्तिकै खुशी देखिन्थी ।

हुन त परिवर्तन पनि निकै भइसकेको थियो । रेडियोमा बज्ने मालश्री धुन टिभिमा र मोबाइलमा बज्दै थियो । घरको भित्तामा कमेरो र रातो माटोको साटोमा रङ लागिसकेको थियो । आकाशमा पहिला जस्तो चङ्गाहरु उड्दैनथे । लिङ्गेपिङ ठडिएपनि सँगै खेल्ने साथीभाई सात समुन्द्र पारि थिए ।

समयको चक्र घुम्दै गर्दा म पनि विदेश आइपुगेँ । कुनै महत्वाकांक्षा र लालसा बोकेर हैन, देशमा केही गर्ने वातावरण नभएर हो । घर चलाउन मुस्किल महसुस भएपछि विदेश जान्न भनेर थन्काएको पासपोर्ट निकालेँ । पासपोर्ट नवीकरण गर्ने बेला भएको थियो । नवीकरण भयो । इन्टरभ्युमा पास भएँ । दशैँ र तिहार मनाए लगत्तै आफ्नो गन्तव्यको उडान भरेँ । त्यो उडान भर्दै गर्दा मनमा धेरै प्रश्न उठेका थिए । त्यसको जवाफ अहिले पनि पाएको त छैन । अझै प्रतिक्षारत नै छु ।

परको देश अर्थात परदेश सोचेको भन्दा निकै फरक छ । यहाँ ठूलाठूला भवन हुन्छन् तर भावना हुँदैन, ठूलाठूला सपना देखिन्छन् तर निद्रा पुग्दैन, खाना हुन्छ स्वाद हुँदैन, मान्छे हुन्छन् तर मानवता हुँदैन । अझ महत्वपूर्ण कुरा यहाँ नेपाली हुन्छन् तर नेपालीपन हुँदैन । साँच्चै नै यहाँ सबैथोक भएर पनि केही छैन ।

समयको चक्र अहिले वर्तमानमा घुम्दै छ । विदेसिएपछिको यो दोस्रो दशैँ हो । दशैँ आउँदा एक्लै नआउने रहेछ । यसले धेरै कुरा सँगै ल्याउने रहेछ । नेपालमा हुँदा त दशैँले खुशी त्याउँथ्यो, हर्ष ल्याउँथ्यो अनि उमंग ल्याउँथ्यो । जब परदेशी भइन्छ नि दशैँले परिवारको याद दोब्बर बनाएर ल्याउँदो रहेछ । त्यस्तै गाउँघर, साथीभाइ सबैको सम्झनालाई पनि सँगै लिएर आउँदो रहेछ । दशैँ गीत सुन्दाको त्यो आनन्द अहिले खिन्नतामा बदलिँदो रहेछ । पहिलाका दशैँका रमाइला पलहरु आँखा मा झलझली आउने रहेछ ।

अहिले चार भित्ताले घेरिएको बन्द कोठामा एक्लै छु । केही समयपछि ड्युटी सुरु हुन्छ । ज्यान यहाँ भएपनि मन परिवार र गाउँघरकै वरिपरि घुमिरहेको छ । मोबाइलमा साथीभाईहरुको दशैँको शुभकामना सन्देश प्राप्त गरेको छु । भ्याएको सम्म आफूले रिप्लाई दिएको छु र आफूले नि सन्देश पठाएको छु । परिवारसँग सदाझैँ भिडियो कलमा कुराकानी भएको छ ।

खाउँ भनौँ भने फ्रिजमा मासु छ, लगाउँ भनौँ भने सुटकेशमा नयाँ लुगा छ, निधारमा लगाउन अबिर, चामल र दही पनि छ । छरेकै भए जमरा पनि ठूलै हुन्थ्यो । खेलौँ भने नजिकैको पार्कमा सानै सहि पिङ पनि छ । लिएको भए बिदा पनि पाइन्थ्यो नै होला तर खै यी सबैकुरा हुँदाहुँदै पनि परदेशमा दशैँ नआउने रहेछ ।

 

(चितवन हाल : जापान)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट