बालेनको बालहठ र बिग्रँदो नेपालको भविष्य

समय सममयमा भएका आन्दोलनको प्राप्ति

पाठकवृन्द, यहाँले आन्दोलनका बारेमा सुन्नुभएकै छ । संसारमा थुप्रै खालका आन्दोलनहरु हुन्छन्, ती सबै आन्दोलनको लक्ष्य सत्ता परिवर्तन नै हुन्छ भन्ने छैन । केही समयअघि नेपालमा भएको शिक्षक आन्दोलन त्यस्तै खालको थियो । त्यसो त भारतमा भएको ‘चिप्को आन्दोलन’का बारेमा सुन्नुभएको छैन भने गुगलमा गएर हेर्नुहोला ।

नेपालमा पनि समय समयमा आन्दोलन हुने गरेका छन् । समयसीमालाई हेर्ने हो भने हरेक दशकमा कुनै न कुनै निहुँमा आन्दोलन भएकै छन् । २०४६ मा जनआन्दोलन, २०५२ मा माओवादी जनयुद्ध, २०६२ मा अर्को जनआन्दोलन, मधेश आन्दोलन, २०७२ मा नाकाबन्दी विरुद्ध आन्दोलन अनि यसपालिको जेन्जी आन्दोलन यी सम्झलायक आन्दोलनहरु हुन् ।

२०८२ भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलन विश्वले हेरिरहेको आन्दोलन हो । जम्मा दुई दिनमा सत्ता ढलाउनसक्ने यो निकै शक्तिशाली आन्दोलन हो । तर यो आन्दोलनले सत्ता फेर्नेभन्दा बढी के गर्न सक्यो ? त्यसको प्राप्ति कत्तिको फलदायी भयो ? त्यसको हिसाबकिताब भने गर्न अझै बाँकी नै छ कि ?

जेन्जी आन्दोलनको अन्तर्य

हामी नेपाली अनुमान गर्न निकै सिपालु छौँ, त्यसैले नेपालमा विभिन्न खालका अनुमानहरु हुने गर्छन् । जेन्जी आन्दोलन किन भयो ? यो आन्दोलनको सूत्रधार को थियो ? यसलाई कसरी अगाडि बढाइयो ? यसलाई कसले नेतृत्व ग¥यो ? यो आन्दोलनले कसलाई फाइदा भयो ? यस्ता खालका प्रश्नको उत्तर खोज्नु सजिलो छैन ।

पाठकवृन्द, हामीले बुझेजस्तो जेन्जी भनेको तेह्र वर्षदेखि अट्ठाईस वर्ष उमेर समूहको युवा मात्र होइन । प्रविधिका पछि हुर्केको, सम्पन्नताको नजिक रहेको, सूचनालगायतका सबै स्रोत किताबलाई भन्दा पनि प्रविधिलाई मान्ने, घरपरिवारभन्दा पनि मोबाइल, ट्याब, ल्यापटपलगायतका साधनका पछाडि झुम्मिने पुस्ता हो जेन्जी । यो पुस्तालाई उक्साउने काम केपी ओलीको सरकारले इन्टरनेटमा सामाजिक सञ्जाल रोकेर गरेको पक्कै हो । तर जेन्जी आन्दोलनको अन्तर्य त्यत्ति हो भनेर म मान्दिनँ । सत्ताबाट बाहिर निस्कन परेका विभिन्न दल, विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्था, नेपालमा आँखा गाडेर बसेका विदेशी निकायको पक्कै पनि यसमा हात हुनपर्छ । यसका बारेमा बिस्तारै खुल्दै जाला । कि कसो पाठकवृन्द ?

आन्दोलनको आडमा बनेको सरकारको हविगत

नेपालमा जेन्जी आन्दोलनका आडमा बनेको सरकारको हविगत त यहाँले देख्दै हुनुहुन्छ । आफै निर्णय गर्ने र त्यो निर्णय कार्यान्यन नगर्ने, पुरानै सरकारले जस्तो रीसइबी साँध्ने, केवल हल्लामा मात्र विश्वास गर्ने गरेको त देखिहाल्नुभयो । अनि प्रधानमन्त्रीको देशवासीका नाममा सम्बोधन त सुनिहाल्नुभयो ।
त्यसो त यो सरकार बनेको एक महिना पनि पुगेको छैन । सरकारका हकमा एक सय दिनलाई हनिमुन पिरियड भनिन्छ क्यारे ! हेरौँ, यो सरकारले हनिमुन पिरियड कसरी मनाउला ? राम्रो गरोस् भन्ने चाहना हो । पुरानै सरकार जस्तो गोलचक्करमा नरुमल्लियोस् भन्ने चाहना सारा नेपालीको हो । तर चाहेर मात्र कहाँ हुन्छ र ?

‘काम गर्ने कालु मकै खाने भालु’ भएपछि

नेपालीमा एउटा उखान छ, ‘काम गर्ने कालु मकै खाने भालु’ । यो उखान त्यसै त बनेको होइन होला, यसका पछाडि निकै ठुलो रहस्य छ । हालै भएको जेन्जी आन्दोलनको परिणामले पनि त्यही देखाइरहेको छ । मर्नेहरु मरे, घाइतेहरु घाइते नै छन्, अग्रपङ्क्तिमा जानेहरु सबै पछाडि परिसके । आन्दोलनमा पछि पछि हिँड्नेले मुख्य भाग पाएको देखिन्छ । अझ आन्दोलन गर्नेचाहिँ युवा पुस्ता, अनि सत्तामा जाने जति सबै प्रौढहरु । यस्तो किन भयो ? यसले के कुरा देखाउँछ ? के सही भयो त ?
पाठकवृन्द, यहाँले नवनियुक्त प्रधानमन्त्रीको देशवासीका नाममा सम्बोधन त सुनिहाल्नुभयो होला । यहाँले भनिदिनुस्, त्यो सम्बोधनले के देखाउँछ ? हुनु पर्ने समयभन्दा दुई वर्ष अगाडि चुनाव गराउनकै लागि त्यत्रो बलिदानी आवश्यक थियो त ? के हात्ती आयो, हात्ती आयो फुस्सा भनेजस्तो भएन र ? यसको दोष कसलाई दिने ? कि नेपालीहरु यस्तै अवसरवादी छन् भनेर चित्त बुझाउने ?

हठ भनेको के हो ?

पाठकवृन्द, यहाँलाइ थाहा छ, हठ भनेको के हो ? कुनै कुरा जसरी पनि पाउनका लागि गरिने जिद्दी हठ हो । खासमा यस्तो हठ बालबालिकामा बढी हुन्छ । यसका पनि विभिन्न प्रकार भएको कुरा शास्त्रले बताउँछ । बालहठ, बृद्धहठ, स्त्रीहठ, राजहठ त्यसका महत्वपूर्ण प्रकार हुन् । बाँकी प्रकारको चर्चा गर्ने पक्षमा भने म छैन ।

संसारमा भएका विभिन्न हठमध्ये राजहठलाई सबैभन्दा खतरनाक हठ मानिन्छ । केपी ओली त्यस्तै खालका हठ भएका व्यक्ति हुन् । उनको अनावश्यक हठका कारण देशले अनाहकमा असी जनाभन्दा बढी युवाहरु गुमायो, कति अङ्गभङ्ग भएर अस्पतालमा बाँचिरहेका छन् । यस्तो परिस्थितिमा पनि उनी अझै टसको मस भएका छैनन् । यसको परिणाम के हुने हो ? म केही अनुमान गर्न सक्तिनँ । तपाईंसँग कुनै अनुमान छ र ?

के थियो बालेनको बालहठ ?

बालेन शाह नेपालका उदाउँदा राजनीतिक व्यक्तित्व हुन् । उनमा लामो समयको योजना छ भन्ने गरिन्छ । तर उनी पनि केपी ओलीभन्दा कत्ति कम देखिएनन् हठ गर्ने मामलामा । अरु जेन्जीसँग त योजना थिएन भन्ने लाग्छ तर उनीसँग योजना थियो । उनले कुनै सनकमा सिँहदरबार जलाउँछु भने त्यो जल्दा रमाइलो मानेर हेरिरहे । लाग्छ उनमा रोमन सम्राट निरोको अंश त छैन कतै ?

जेन्जी आन्दोलनले दुई दिनमै त्यत्रो तागत देखाएपछि केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएको अवस्था नयाँ सरकार बनाउने हर्ताकर्ता बनेका बालेन शाहको हठ थियो, संसद विगठन । त्यो उनको सबैभन्दा खतरनाका हठ हो । भइरहेको संसदलाई नै प्रयोग गरेर चाहेको काम गराउन सकिन्नथ्यो र ?

अवसरको उपयोग गर्न नजानेपछि

पाठकवृन्द, भनिन्छ नि बगेको खोला फर्किंदैन, मौका आउँछ पर्खिंदैन । जेन्जी आन्दोलनमा त्यस्तै सुनौलो अवसर आएको थियो । यहाँले कत्तिको हेक्का राख्नुभयो । त्यतिबेला संसदमा रहेका सबै नेताको मुटुमा राम्रै ढ्याङ्ग्रो ठोकिएको थियो । उनीहरु जेन्जीले जे भने पनि मान्ने अवस्थामा पुगेका थिए । त्योभन्दा ठुलो अवसर के हुन सक्थ्यो नेपालका लागि ?
यहाँले मलाई कुरा घुमायो भन्ने ठान्नुभयो होला । मैले कत्ति पनि कुरा घुमाएको छैन, त्यतिबेला नेपालमा सिर्जित अवसरको मात्र कुरा गर्न लागेको हुँ । त्यतिबेला संसद भवन जलाउने होइन, सबै सांसदलाई त्यहाँ थुनेर कति दिनमा हुन्छ, पूर्ण बहुमतले संविधान संशोधन गराउन सकिन्थ्यो । प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने हो कि प्रधानमन्त्री ? त्यसको निर्णय त्यहाँ लेखाउन सकिन्थ्यो । प्रदेश खारेजलगायतका मुद्दा त्यहीँ सम्बोधन गराउन सकिन्थ्यो । अनि त्यसपछि बल्ल निर्वाचनमा जानुपथ्र्यो । त्यसका बारेमा सोच्न आन्दोलनको नेतृत्व, योजना, कार्यदिशा सबै हुनुपथ्र्यो । त्यो केही नभएको भीडले आन्दोलन गरेपछि हुने भनेको ध्वंस र अहिलेको जस्तो गतिहीनता नै त हो । यसमा दोष कसलाई दिने जेन्जीका नेता भनिएकालाई ? बालेनलाई ? उनका पनि गुरुलाई ? कि त्योभन्दा पनि माथि कोही छ भने त्यसलाई ? मेरो छोटो दिमागले यसको उत्तर भेटेन । तर हामी चुकेको चाहिँ पक्का हो है !

कहाँनेर चुक्यो जेन्जी आन्दोलन ?

शासन सत्तामा भएका कमी कमजोरी हटाउन खबरदारी गर्ने भनेकै जनताहरुले हो । त्यसका लागि ज्ञापनपत्रदेखि लिएर आन्दोलनसम्मको बाटो तय गर्नुपर्ने हुन्छ । यतिबेला नेपालमा आन्दोलन भन्नेबित्तिकै ध्वंस गर्नुपर्छ भन्ने मानसिकता हाबी भएको छ । आन्दोलन मौन खालको पनि हुन सक्छ, शान्तिपूर्ण पनि हुन सक्छ । जेन्जीको आन्दोलन सुरुमा त्यही शान्तिपूर्ण खालकै हो भन्ने लागेको थियो, तर भइदियो उल्टो । अनाहकमा असीभन्दा बढी नेपालीले ज्यान गुमाए । कति घाइते छन् ? कति अङ्गभङ्ग भएर बसेका छन् । तिनको जिम्मा कसले लिन्छ ?

जेन्जी आन्दोलनको सबैभन्दा कमजोरी भनेको नेतृत्वविहीन हुनु हो । आन्दोलन घोषणा गर्दा कम्तीमा केन्द्रमा एउटा आन्दोलन परिचालन समिति र सतहत्तर जिल्लामा एक एक जना संयोजक तोक्नुपथ्र्यो । तिनको नेतृत्वमा आन्दोलन अगाडि बढाएको भए यस्तो अवस्था पक्कै आउने थिएन । त्यसो त यो आन्दोलनले सही दिशा लिइनसकेको हुनाले अझै आन्दोलन रोकिएको छ भन्ने लाग्दैन मलाई । यस्तो स्थितिमा सही नेतृत्व चयन गरी सही मार्ग पहिल्याउन अझै ढिलाइ गर्नुहुन्न भन्ने ठान्छु म । हुन त यो मेरो निजी विचार हो ।

अब नेपालको भविष्य के होला त ?

पाठकवृन्द, यदि २०८२ फागुन २१ मा संसदीय निर्वाचन नभए के हुन्छ ? यो प्रश्न नेपाली समाजमा निकै टड्कारो बनेको छ यति बेला । मसँग यसको ठ्याक्कै मिल्ने उत्तर छैन । यसका बारेमा विभिन्न अनुमानहरु भने गर्न सकिन्छ । मैले गरेका अनुमानहरु निम्न छन् :
१. फेरि अर्को छ महिनाका लागि यही सरकारको आयु थप हुन्छ र अर्को चुनावी मिति घोषणा हुन्छ । यो क्रम कतिचोटिसम्म दोहोरिन सक्छ ?
२. राष्ट्रपतिका हातमा शासन सत्ता जान्छ र सैनिक शासन लागू हुन्छ । अनि त्यसपछि सेनाले निर्वाचन गराउने काम अगाडि बढाउँछ ।
३. राष्ट्रपतिले पुरानै संसद ब्युँताएर संसदीय कामकाज अगाडि बढाउन सक्छन् । यसका लागि त मुद्दा मामिला हुन बाँकी नै छ, हैन त ?
४. यो सरकारको अवधि सकिएपछि सेनाले राष्ट्रपतिलाई अपदस्थ गर्छ र पुनः राजा ल्याउने काम हुनसक्छ ।
५. देशमा अस्थिरता भएको बेला विदेशी चलखेल भएर देश भारत वा चीनको अधीनमा जान सक्छ । यसो हुनु भनेको सबैभन्दा खराब अवस्था हो ।

के जेन्जी आन्दोलनको मुद्दा यही थियो त ? के जेन्जीले चाहेजस्तो यो देश भ्रष्टाचारमुक्त भयो त ? साँच्चै के उनीहरुले चाहेजस्तो भएको छ त ? के देशमा सुशासन आयो त ? के देशमा शान्ति र अमन चैन कायम छ त ? के अब यो देशमा गरिखाने वातावरण बन्यो त ? देश पुरानै लयमा फर्कन अब कति समय लाग्ला ? अनि विदेश जानका लागि पनि कतिपय देशले भिसा रोकेको अवस्था आएको छ । यसको जिम्मेवारी कसले लिने ? मसँग त केवल प्रश्नहरु मात्र छन् । उत्तर कसैसँग छ भने दिनुहोला । तमाम निराशाहरुका बिचमा आशा भने कायमै छ, हाम्रो आशाको दीयो कहिल्यै ननिभोस् । भबतु सब्ब मङ्गलम् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट