चितवन, ६ असोज ।
भरतपुरमा चितवन बिजनेस कम्प्लेक्स (सिबिसी) र चितवन बिजनेस मार्ट (सेल्सबेरी) को उद्घाटन गरिएको छ ।
भरतपुर विमानस्थल अगाडि रहेको सिबिसी प्लाजाबाट अन्तर्राष्ट्रियस्तरको ‘लर्डस्’ होटल र ‘सेल्सबेरी’ स्टोर एकैसाथ सञ्चालनमा आएका छन् । ११ तले कम्प्लेक्समा तीन तलामा सेल्सबेरीको ३८औं शाखाका रूपमा सञ्चालनमा ल्याइएको छ ।
होटलमा ५८ कोठा, सभा कक्ष, कन्फ्रेन्स हल, रेष्टुरेन्ट र छिट्टै सञ्चालनमा आउने स्वीमिङ पुल रहने छन् । सेल्सबेरीमा ग्रोसरी, इलेक्ट्रोनिक्स, कस्मेटिक्स, मदिरालगायत सामग्री उपलब्ध हुने र निकट भविष्यमा कपडा–फर्निचर थपिने सोमबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।
चितवन विजनेश कम्प्लेक्स होटल प्रा.लि. (सिबिसी) का कार्यकारी अध्यक्ष दिनुप बरालका अनुसार एक अर्ब ६० करोड रुपैयाँको लगानीमा बनेको कम्प्लेक्समा १८ जना स्थानीय व्यवसायीको लगानी रहेको छ । होटलमा पाँच सय क्षमताको सभा कक्ष, एक सय क्षमताको कन्फ्रेन्स हल, ३० जना क्षमताका तीन वटा बैठक कक्ष रहेको छ ।
पर्यटक तथा स्थानीय सर्वसाधारणलाई प्राथमिकता दिने गरी होटलको स्थापना गरिएको उनले बताए । दसैं–तिहारमा १५ प्रतिशतसम्म छुट तथा होटलमा सन् २०२५ भरि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।