चितवन, ३ भदौ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको आयोजनामा ११ औं संविधान दिवसको अवसरमा `संविधान कार्यान्वयनका चुनौती र समाधान´ विषयक विचार गोष्ठी आज सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा व्यक्त गर्दै नेपालको संविधानमा आवश्यक संशोधन गरी जेन-जी पुस्ताको अपेक्षाअनुसार स्थायी सरकार निर्माण र भ्रष्टाचारमुक्त समाजको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी संविधानसभा सदस्य शेषनाथ अधिकारीले संविधान र व्यवस्थाको रक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै निर्धारित समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न नागरिकहरू सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
जिल्ला सभापति राजेश्वर खनालले कार्यक्रमको अध्यक्षता गर्दै नेपाली कांग्रेस जेन-जी पुस्ताको मागलाई आत्मसात गर्न तयार रहेको बताउनुभयो । लामो समयदेखि खुला राजनीतिमा सक्रिय नेपाली कांग्रेसले राष्ट्र र बहुसंख्यक नागरिकको पक्षमा काम गर्दै आएको भए पनि केही कमजोरीहरू रहेको स्वीकार गर्दै ती कमजोरी सच्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले आन्दोलनमा सहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । साथै, केन्द्रीय सभापतिप्रति भएको अमानवीय व्यवहारको घोर भर्त्सना गर्दै आन्दोलनमा घुसपैठ गर्ने पक्षले मुलुकभर भएको सरकारी तथा निजी सम्पत्तिको क्षतिको जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो । त्यस्ता व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गर्न वर्तमान सरकार र नेपाली कांग्रेस प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।
विचार गोष्ठीमा विषयसँग सम्बन्धित धारणा वरिष्ठ अधिवक्ता एकनारायण सापकोटा, नेपाली कांग्रेस चितवनका कानुनी सल्लाहकार अधिवक्ता गोविन्द सिग्देल, प्रजातान्त्रिक कानुन व्यवसायी संघ (DLA) चितवनका अध्यक्ष श्रीराम दवाडी, तथा जेन-जी युवा समूहका तर्फबाट युवा कानुन व्यवसायी उमङ्ग लोहनीले राख्नुभएको थियो ।
वक्ताहरूले संविधानअनुसार आवश्यकताको सिद्धान्तका आधारमा राष्ट्रपतिद्वारा सरकार गठन भएको उल्लेख गर्दै निर्धारित समयमा निर्वाचन हुनुको विकल्प नरहेको स्पष्ट धारणा व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव ध्रुवराज पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा सदस्यहरू, कानुन व्यवसायी, प्राध्यापक तथा सर्वसाधारण महानुभावहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।