श्रद्धेय शेरबहादुर देउवाज्यू
सभापति, नेपाली कांग्रेस
सर्वप्रथम, यही भाद्र २३ र २४ गतेको Gen Z आन्दोलनको क्रममा नेपालभर ७२ जनाभन्दा बढीले ज्यान गुमाउनु भएको दुःखद घटनामा गहिरो शोक व्यक्त गर्दछु । मृतक सबै आत्माहरूको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
यस आन्दोलनको क्रममा नेपाली कांग्रेस, नेपाल प्रहरी, अन्य विभिन्न राजनीतिक दलहरू, जनप्रतिनिधिहरू, तथा आन्दोलनमा सहभागी युवाहरू गरी करिब १,३०० भन्दा बढी नागरिक घाइते हुनु भएको खबरले हामीलाई अत्यन्तै पीडित बनाएको छ । सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
श्रद्धेय सभापतिज्यू,
तपाईंले लामो समयदेखि नेपाली कांग्रेस पार्टीको नेतृत्व सम्हाल्नु भएको छ। यस अवधिमा धेरै कठिन चुनौतीहरू पार गर्दै संविधान, लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि तपाईंले अतुलनीय योगदान दिनु भएको छ । देशमा प्रजातान्त्रिक मूल्य–मान्यताको संस्थागत विकासमा तपाईंको भूमिका इतिहासमा स्वर्ण अक्षरमा लेखिनेछ । हामी तपाईंको दीर्घ राजनीतिक यात्रामा नतमस्तक छौं ।
त्यही पार्टीको एक निष्ठावान कार्यकर्ता भएको नाताले, मैले जीवन र जगतका सबै मोह त्यागेर नेपाली कांग्रेसको नीति, विधि र सिद्धान्तअनुसार समाजसेवामा समर्पित रहँदै आएको छु ।
मैले पार्टीमा लागेकै भरमा अहिलेसम्म कुनै व्यक्तिगत फाइदा लिएको छैन । सिफारिस गरेर जागिर दिएको छैन । आफ्नै व्यक्तिगत मूल्यवान जमिन पार्टी र समाजको सेवामा खर्च गरेर सार्वजनिक खानेपानी बनाएको छु, जहाँ हजारौँ मानिसले शुद्ध पानी पिउने सुविधा पाएका छन्। सामुदायिक विद्यालय, मठ–मन्दिर, चौतारा, बाटो–घाटोको निर्माणमा सक्दो योगदान दिएको छु । छिमेकी बिरामी परेमा रगत दिनेदेखि आर्यघाटमा अन्त्येष्टि व्यवस्थासम्म पनि सक्दो साथ दिएको छु ।
मैले बिर्सेको छैन – तपाईं बिपी, गणेशमान, किसुनजीसँगै राणा शासनविरुद्ध लड्नु भएको थियो । हामीलाई रैतीबाट नागरिक बनाउनु भएको हो । तर त्यो लडाइँमा हाम्रो पुस्ताले पनि हातेमालो गर्यो । माओवादी जनयुद्धमा हामीमाथि बन्दुक ताकिएको थियो, अपहरण र धम्की खेपिएको थियो, व्यापारमा क्षति पुर्याइयो, तर हामी विचलित भएनौं । संसद विघटनको विरोधमा, सत्ताको दुरुपयोगविरुद्ध सडकमा उत्रिएर न्यायको पक्षमा लड्यौं। नयाँ पार्टीहरूको साइबर आक्रमणको जवाफ दिन पनि पछि परेनौं ।
तर भाद्र २४ गते देश जल्यो । सिंहदरबार, अदालत, प्रहरी चौकी, स्थानीय तह, वडा कार्यालयदेखि जनप्रतिनिधिहरूका घरसम्म जलाइयो । तपाईँको निवास, इन्द्रबहादुर बानिज्यूको घर, लौहपुरुष गणेशमान सिंहको घर, किसुनजीको सम्पत्ति, विराटनगरको कोइराला निवास – सबै जलाइयो ।
नेपाली कांग्रेसका कैयौँ नेता–कार्यकर्ताका घरहरू जलाइयो, तोडफोड गरियो । जनताको सन्तानमाथि कन्चटमै गोली हानी मारियो। घुसपैठका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गरियो । यी सबै घटनाबारे निष्पक्ष छानबिन हुनैपर्छ ।
सभापतिज्यू,
म तपाईंको घरमा कहिल्यै गएको छैन । जीवनभर तपाईंलाई टाढाबाट आदर गर्दै आएको कार्यकर्ता हुँ । सायद तपाईंलाई पनि मेरो नाम थाहा नहुन सक्छ ।
तर मलाई आज पनि गर्व लाग्छ, जुन दिन हामीले श्रद्देय सुशील कोइरालाज्युलाई चितवनबाट जिताएर संसदमा पठाएका थियौँ । उहाँकै नेतृत्वमा संविधान बन्यो । तपाईं पाँचौं पटक प्रधानमन्त्री बन्नुभयो । तपाईंमाथि हामीले गर्व किन नगर्ने ?
तर आज, मन भारी छ ।
देश जलिरहेको थियो, त्यहीँबेला तपाईंहरूको निवासमा नोटका डोकाहरू भेटिएको खबर आयो । नोटहरू जलेको समाचार रेडियो, टेलिभिजन, फेसबुक, ट्विटर, सबै ठाउँमा भाइरल भयो। चिया पसल, चौतारा, गाउँ–टोल हरेक स्थानमा जनताले प्रश्न उठाए – “कांग्रेस नेताहरूका घरमा यति धेरै पैसा किन ?”
त्यसरी नोट जल्नु र कार्यकर्ताको शिर लज्जाले झुक्नु एकै साथ भयो ।
यदि ती खबरहरू झूटा हुन् भने प्रमाणसहित सार्वजनिक खण्डन गर्नुपर्छ । होइन भने, त्यसको वैधानिकता छानबिन गर्नुपर्छ । हामीजस्ता साधारण कार्यकर्ताहरूका लागि, नेताहरूको घरमा भेटिएको पैसाको “गोदाम” हेर्न र सहन अत्यन्त गाह्रो भइरहेको छ ।
तपाईंहरूलाई त्यस्तो सम्पत्ति किन चाहियो ? यदि तपाईंको पछाडि लाग्नका लागि कार्यकर्ताहरूलाई पैसा बाँड्नुपर्छ भने, ती तपाईंका असली कार्यकर्ता होइनन् ।
हामी स्वार्थ लुट्न पार्टीमा लागेका छैनौं । यो पार्टी हाम्रो पनि हो – हामीले पनि पसिना, आँसु, रगत बगाएका छौं । हामी पार्टी छोड्दैनौं । तर अब, तपाईंहरूका गलत कामविरुद्ध चुप लागेर बस्नेछैनौं ।
नेताहरूको नाम आदरपूर्वक लिन पाउनु हाम्रो सौभाग्य हो । बिपी, गणेशमान, किसुनजी, सुशीलजी जस्ता नेताहरूले हाम्रो विश्वास जिते । हामी चाहन्छौँ, तपाईंको नाम पनि त्यही अनुकरणीय नेताहरूको सूचीमा सम्मानपूर्वक लिन पाइयोस् ।
हाम्रो इतिहास गौरवपूर्ण छ – वर्तमान कलंकित नहोस् ।
यो सुझाव हामीले तपाईंप्रतिको श्रद्धा र देशप्रतिको जिम्मेवारीको भावनाले लेखेका हौं । कलम मेरो भए पनि, यो लाखौँ कार्यकर्ताको मनको आवाज हो ।
हामी आशा गर्छौँ, तपाईंले यसलाई सकारात्मक रूपमा लिनुहुनेछ
।
अन्त्यमा, तपाईंको शीघ्र स्वास्थ्यलाभको कामनासहित,
२७ वर्षभन्दा बढी समयदेखि नेपाली कांग्रेसको संगठनमा समर्पित, एक निष्ठावान कार्यकर्ता र तपाईंको शुभचिन्तक ।
देवकी गौतम
भरतपुर, चितवन
(लेखक गौतम नेपाली कांग्रेस बागमती प्रदेश सदस्य हुनुहुन्छ ।)