देब्रेहाते कविका समयबोधी कवितालाई देब्रै हातकै सलाम छ !

आरम्भमा विपिन पाठकका कुरा

भाववकगण, म शिक्षण पेसामा हामफालेको एकतीस वर्ष पूरा भइसक्यो, यो भनेको छोटो अवधि होइन । यति लामो समय शिक्षक भएर बिताएको भए पनि गुरु बन्ने ल्याकत आजसम्म राखिनँ भन्ने लाग्छ । गुरु त्यसै बन्न नसकिँदो रहेछ । गुरु बन्न त स्वयम् प्रकाशवान् हुनुपर्ने रहेछ । हातमा बत्ती बालेर हिँड्ने मान्छे गुरु बन्न नसक्दो रहेछ । आफू गुरु बन्न नसकेकोमा कुनै खेद छैन मलाई ।

संसारमा आफूभन्दा सानासँग हार्दा खुसी हुने दुई खालका पुरुषहरु हुन्छन्, पहिलो पिता र दोस्रो गुरु । आफू पिता भएको नाताले एउटा पिता पुत्रसँग पराजित हुन पाउँदा आफूलाई संसारकै सबैभन्दा ठूलो विजेता सम्झिन्छ भन्ने बुझेको छु मैले । त्यस्तै असल गुरु पनि चेलाबाट पराजित हुनुमा गर्वबोध गर्छ । यस्तोचाहिँ कति प्रतिशत गुरुमा हुन्छ ? त्यो भने खोजको विषय हुनसक्छ । वैदिक कालदेखि नै अधिकांश गुरुहरु चेलालाई जानेजति सबै ज्ञान नदिएर आफूसँग केही राख्थे भन्ने सुनेको हुँ । यसले गुरुको गुरुता कति कायम राख्छ कुन्नि ? माथि मैले पुरुषका बारेमा कुरा गरेँ, महिलाका बारेमा भने म जान्दिनँ र नजानेको कुरा नबोल्नु नै ठिक हो भन्ने ठान्छु ।
त्यसो त म शिक्षण आउनुभन्दा पहिलेदेखि नै साहित्यमा लागेको हुँ । साहित्यमा हामफालेर लागेको पनि तपैँतीस वर्ष कटिसक्यो । यो अवधिमा थुप्रै किताबहरु पढियो । तिनमा सबैभन्दा बढी त कविता नै पढियो होला । लेख्न पनि सबैभन्दा बढी त कविता नै लेखियो होला । तर आजका मितिसम्म एउटा पनि कविताको एकल कृति निकाल्न सकेको छैन मैले । यो अवधिमा मैले पढाएका थुप्रै विद्यार्थीहरुले कविताका कृति निकालिसकेका छन् । तिनै विद्यार्थीको सूचीमा जोडिन आएका छन्, विपिन पाठक पनि ।

विपिन पाठकलाई सप्तगण्डकी बहुमुखी क्याम्पसमा एम्.एड्. पढाएको हुँ मैले । पढ्दा उनी निकै मेधावी थिए । त्यतिबेलै कविता सुनाउँथे उनी । म उनलाई कक्षामा कविताका सिद्धान्त पढाउँथेँ भने उनी त्यो सिद्धान्तलाई प्रयोग गरेर कविता लेख्थे । सिद्धान्त बुझ्नु मात्र कविता बुझ्नु होइन रहेछ । कविता बनाउन त भावना हुनुपर्ने रहेछ । अझ त्यसलाई कसरी अभिव्यक्त गर्ने भन्ने चेतना चाहिने रहेछ । यो कुरा विपिनको कविताको किताब ‘मरुभूमिमा वासन्ती याम’ पढेपछि बोध भयो मलाई ।

त्यसपछि चितवनका कवितामा युवापुस्ताका कुरा

म जानी नजानी करिब अढाइ दशकदेखि समालोचनाका क्षेत्रमा क्रियाशील छु । यो अवधिमा मैले कविता र गजलका बारेमा धेरै समीक्षा लेखेको छु । त्यस्तै चितवनको इतिहाससँग सम्बद्ध लेखहरु पनि एक दर्जनभन्दा बढी नै लेखिसकेको छु । यो त भयो, थोरै आत्मश्लाघाका कुरा । आफूले गरेको कामका बारेमा बेलाबेलामा अरुलाई सम्झाउँदै गर्नुपर्ने रहेछ । यो कुराको दिव्यज्ञान हाम्रा कहलिएका नेताहरुबाट सिकेको हुँ । त्यसो त ज्ञान भन्ने कुरा जोबाट सिके पनि के फरक पर्छ र ?

मैले चितवनबाट निस्केका कृतिहरु नियमिति जसो पढिरहेको छु । चितवनमा सबैभन्दा बढी निस्कने साहित्यिक कृति भनेको कविताको हो । यसमा प्रौढपुस्तादेखि युवापुस्तासम्म पनि क्रियाशील भएर लागेका छन् । म यहाँ ती सबै कविको सूची बनाएर यो आलेखलाई लामो बनाउने पक्षमा छैन । तर पनि यहाँ केही युवापुस्ताको नाम भने जरुर लिन्छु । यहाँ युवपुस्ताको मात्र नाम लिँदा पनि सूची लामो हुनसक्ने भएकाले प्रतिनिधि नाम मात्र लिँदै छु । मैले चितवनको प्रचुर सम्भावना देखेको युवापुस्ताको कवि सुमनराज श्रेष्ठ हो, तर उनी एउटा कृति निकालेर गुमनाम भएका छन् । उनलाइ अर्को कृति निकाल्न केले रोक्यो कुन्नि ?

त्यस्तै युवापुस्ताका आन्य कविताका कृति निकाल्नेहरुमा सुदेश सत्याल, मनोज भण्डारी, गोविन्दगोपाल खतिवडाका कविताबाट म निकै प्रभावित छु । उनीहरु नित्य लागिरहेका छन् । उनीहरुको कविताको भविष्य सुन्दर देख्छु म । त्यस्तै किताब निकाल्न बाँकी रहेका कविहरु शरद ऋतु, शून्य नयन, मेनका चापागाइँ पनि मैले सम्भावना देखेका कविहरु हुन् । हेरौँ उनीहरुको कृति आउँदा कुन रुपमा आउँछ ?
फुटकर कविता राम्रो लेख्ने कवि विपिन पाठक यतिबेला ‘मरुभूमिमा वासन्ती याम’ नामको कविताकृति लिएर हामी माझ आएका छन् । उनको कवितको चर्चा राम्रो चलेको छ । यस्तो चर्चा चल्दै पनि जानु आवश्यक छ । उनको कविताको किताब अझ बढी चर्चित बनोस् भन्ने चाहन्छु म । एउटा शिक्षक भएका नाताले विद्यार्थीको सफलतामा रमाउने छुट पक्कै छ मलाई पनि ।

अनि त्यसपछि विपिनको कविता यात्राको कुरा

चितवनको माडीमा जन्मेर उतै हुर्केका कवि हुन् विपिन पाठक । उनले स्नातक तहसम्मको पढाइ आफ्नो जन्मथलो माडीमै गरेका हुन् । स्नातकोत्तर तहको पढाइका लागि उनी भरतपुर हानिएका थिए । उनी भरतपुर आउँदा राम्रो कविता र गजल लेख्ने सिप लिएर आएका थिए । सप्तगण्डकी क्याम्पसको कार्यक्रममा मात्र नभएर त्योभन्दा बाहिरको कार्यक्रममा पनि उनका कविताहरु सुन्ने, परख गर्ने र कतैकतै त मूल्याङ्कन गरेर अङ्क दिने जिम्मेवारी पनि निभाएको छु मैले । म हरदम उनका कवितामा समाज पढिरहेको हुन्छु ।

मैले आजसम्म विपिनका कवितामा पढ्दै र अनुभूत गर्दै आएको कुरा भनेको समाजमा हुने होचोहेलो मात्र नभएर त्यसका विरुद्ध गरिने विद्रोहको स्वर हो । आफ्ना कवितामा उनी भुइँमान्छेका पक्षमा वकालत गर्दै आइरहेका छन् । उनको हालसम्म एउटा मात्र कविताको कृति निस्केको हुँदा उनको कविता यात्रा पहिलो चरणमै छ, तर पनि उनी निकै सशक्त कविता सिर्जना गरिरहेका छन्, विचारले माझिएका छन् । उनले अझ खेल्नुपर्ने भनेको भाषा र बिम्बमा हो । त्यो पनि पक्कै सुधार हुनेछ भन्ने विश्वास छ मलाई ।

अलिकति मरुभूमि र वसन्तको सम्बन्धका कुरा

अलिकति आफ्नै कुरा गर्छु म । हो, म तनहुँको पहाडी भूभागमा जन्मेर चितवनको समथर फाँटमा हुर्किएको एक सानो खालको भुइँमान्छे हुँ । मैले नेपाल बाहेक भारत र चिनको सीमावर्ती भूगागबाहेक अन्त पाइला टेकेको छैन । मसँग आजसम्म पासपोर्ट बनाउनका लागि लाइनमा बसेको र राजस्व बुझाएको अनुभवसम्म छैन । यति भएपछि मैले न त समुद्र देखेको छु न त मरुभूमि । आफूले नदेखेका बारेमा बोल्नुपर्दा सन्दर्भ सामग्रीको प्रयोग गर्नुपर्ने हुन्छ । हैन त ?
मैले पढेको र सुनेको आधारमा मरुभूमि भनेको निकै तातो ठाउँ हो । त्यहाँ बोटविरुवा पाइँदैन । यदि कतैकतै पाइहालिए पनि सिउँडी जातका विरुवा मात्र पाइन्छ । बोटविरुवा नभएका ठाउँमा केको वसन्त केको शिशिर ? वसन्त आउन त टन्न बोटविरुवा हुनुप¥यो, तिनमा हरिया पात पलाउनुप¥यो । हाँगामा कोपिला लागेर प्रशस्त फूल फुल्नुप¥यो, बल्ल पो वसन्त । अनि वसन्त नै नआइकन कसरी वासन्ती याम हुन्छ त ? यस्तै विपर्यासको संयोजन गरेका छन्, विपिनले आफ्नो कृतिको शीर्षकमा ‘मरुभूमिमा वासन्ती याम’ नाम राखेर । यो कविको काम हो, कुनै वातावरणविद्को होइन ।

विपिनको कविताकृति ‘मरुभूमिमा वासन्ती याम’को छोटो चर्चा

विपिन पाठकको कविताकृति ‘मरुभूमिमा वासन्ती याम’को विमर्श गर्नुअघि उक्त कृतिभित्र सुरुमा शुभकामना लेखेको शैलीमा बिना शीर्षक ने.क.पा. एमालेका नेता प्रदीप ज्ञवाली (शीतबिन्दु)ले लेखेको छोटो मिठो समीक्षात्मक मन्तव्य यहाँ साभार गर्न चाहन्छु :
“विपिनका कविताले बोकेको आकाश फराकिलो छ । यी हाम्रो समयका साक्षी कविता हुन् । कवितामा देशको लुटिएको माटोको उच्छ्वास छ । जेनाको भुइँमा बिलाइजाने पसिनाका बुँद छन् । आमाको ममताका अधुरा महाकाव्य छन् । टीका बोट, बसेल्नी आमा र आसबहादुर सार्कीका पीडाका सङ्गीन गीत एवम् जुवा खालको दाउमा राखिएकी द्रौपदीको मौन विद्रोह छन् । अलपत्र झुम्राको अधरका डोबहरु पनि । हिँसाको चरम त्रासदी, मूल्यहरुको भयावह विघटन र उपभोक्तावादको हदैसम्मको दोहन देखेभोगेका कवि घरी राप्तीजस्तै सुसाउँछन् त घरी नारायणीजस्तै उत्ताल लयमा तरङ्गित हुन्छन् । कविता पढिसकेपछि पाठकले अवश्य भन्नेछन् – तिम्रो देब्रे हातले कविता लेख्दै जाऊ, हामी पढ्न आतुर छौँ ।”

त्यस्तै उक्त कविताकृतिभित्र समाविष्ट ‘एक कुशल कविको पदार्पण’ शीर्षकको छोटो खालको भूमिकामा कवि अभय श्रेष्ठ कवि विपिन पाठकलाई चिनाउँदै उनका कविताका बारेमा यस्तो अभिमत राख्छन् :
“विपिनका कविताले जीवन र जगत्प्रति अविरल आशा जगाइराख्छन् । माया, प्रेम, सङ्घर्ष, स्मृति, अनुभूति, संवेदनाजस्ता यावत् कुराले जीवनलाई उज्यालो पारिराख्छन् । अप्ठेरो बाटो र कठिन यात्राले नै सुन्दर गन्तव्यसम्म पुर्याउँछ । उनका कवितामा तिनै कुराहरू प्राण बनेर आएका छन् । बाको दुःख, आमाहरुको अथक सङ्घर्ष, सभ्यता निर्माणमा महिलाहरुको अवदानको गाथा उनी आफ्ना कवितामा बारम्बार गाइरहन्छन् । त्यसैले हामीलाई उज्यालोतिर यात्रा गर्न प्रेरणा दिन्छ ।”

यति भनिसकेपछि विपिनका कविता कस्ता छन् ? भन्ने धारणा बनाउन सकिन्छ । पहिलो कृति भएकाले होला यसभित्र भूमिकामोह पाइन्छ । यसको उदाहरणका रुपमा भूपिन र सरिता तिवारीका छोटा मन्तव्यहरुलाई लिन सकिन्छ । ती सम्पूर्ण मन्तव्यहरुले विपिन कस्ता कविता लेख्छन् ? भन्ने जानकारी सामान्य पाठकलाई दिन्छन् । तर पनि यहाँ समग्रमा उनका कविता कस्ता छन् ? भन्ने चर्चा गर्नका लागि केही साक्ष्य र प्रमाणका आधारमा मेरो बहस अगाडि बढाउँछु ।
जम्मा ११० पृष्ठको आयाममा फैलिएको स्मार्ट साइजको ‘मरुभूमिमा वासन्ती याम’ कविताकृति भित्र नेपाली भाषाका सैँतीस वटा र एउटा थारु भाषाको कविता गरी कूल अडतीस वटा फुटकर कविता समेटिएको पाइन्छ । यसभित्र सङ्कलित अधिकांश कविता दुई दुई पृष्ठका छन् । यसभित्र रहेको सबैभन्दा छोटो कविता प्रेम हो, जुन जम्मा नौ पङ्क्तिमा विरचित छ । त्यस्तै यसभित्र रहेको सबैभन्दा लामो कविता झुम्राको भकुन्डो हो, जुन पाँच पृष्ठको आयाममा फैलिएको छ । यसरी यो कृतिमा संरचनागत विविधता पनि पाइन्छ । त्यस्तै यसभित्र भावगत विविधता छ भन्ने कुरा त प्रदीप ज्ञवालीको कथनबाट पुष्टि भइसकेको छ । यसका लागि केही साक्ष्य निम्न छन् :
कवि विपिन कविताकृतिभित्रको पहिलो कविता ‘जेना दाइ’मा सोझो खालको भूमिपुत्र जेननारायण चौधरीमा दमन खप्दाखप्दा अति भएपछि विद्रोहचेत भरिएको देखाउँदै कवितामा यसरी उतार्छन् :
अब चिन्नु छ मुकुन्डोभित्रका एक एक अनुहार
अनि रातो झण्डामा भएको हथौडा निकालेर
थाल्नु छ एउटा सफाइ अभियान ।” (पृ. १९)
उनका अधिकांश कवितामा उनी हुर्केको माटो अर्थात् माडीमा बसोबास गर्ने भूमिपुत्र थारुहरुको आदिवासीचेत पाइन्छ । त्यस्तै चेत ‘चिन्नुपर्छ तिमीले इन्द्रेणी रङ’ कवितामा यसरी पोखिएको छ :
“बाबु,
जस्तो सुन्दर हुन्छ
पूर्वबाट ओर्लिँदै गरेको घामको किरण
ठीक त्यस्तै छ हाम्रो संस्कृति
जस्तो कलामय छ इन्द्रेणी रङ
त्यस्तै सुन्दर छ आदिवासी सभ्यता ।” (पृ. १०९)
कवि विपिनको विद्रोह पुरुष पात्रमा मात्र नभएर महिलामा पनि उत्तिकै सशक्त देखिन्छ । उनी त्यस्तै विद्रोह ‘द्रौपदीको विद्रोह’ कवितामा अबका नारीले कसरी सामना गर्छन् ? भन्ने कुरालाई यसरी वाणी दिएका छन् :
“छातीमा ठोकिएका घातप्रतिघातका
तिखा किलाहरु निकालेर
निकालेर पितृसत्ताको सिरकले
गुटुमुटिएको अनुहारको आभा
अब गर्नेछन् प्रत्येक द्रौपदीहरुले
नवीन विद्रोह ।” (पृ. ९६)
विद्रोहीलाई विद्रोही बनिराख्न पनि तागत र प्रेरणा चाहिन्छ । त्यस्तो प्रेरणा दिने काम पुरानो याद र हराएको प्रेमीको स्मरणले गर्छ भन्ने कुरालाई कविले ‘परदेशीको तस्बिर’ कवितामा यसरी मुखरित गरेका छन् :
“जब जब दिलमाया
दिलमा सजाएको तस्बिर सम्झन्छे
र दिल नभएकाहरुको व्यवहार सम्झन्छे
तब उसमा आँट, साहस र ऊर्जाको त्रिवेणी मिल्छ ।” (पृ. ६४)
विद्रोह मात्र नभएर व्यङ्ग्यचेत पनि कविको अर्को विशेषता हो । उनी भ्रष्टाचार गर्ने आदत भएपछि मान्छेले श्रद्धाञ्जलि सभामा समयको कसरी भ्रष्टाचार गर्छ ? भन्ने कुरालाई ‘भ्रष्टाचार’ शीर्षकको कवितामा यसरी अभिव्यक्त गर्छन् :
“बडो विह्वल भएर
गरिँदै छ एक मिनेट मौनधारण
नसा नसामा बगेपछि आदत
चालीस सेकेन्डमै सक्काएर एक मिनेट
बीस सेकेन्ड गरिएको छ भ्रष्टाचार ।” (पृ. ५१)
कवि विपिन रुचिले कवि भए पनि पेसाले भने एउटा शिक्षक हुन् । आफू शिक्षक भएका नाताले सरकारले शिक्षाका क्षेत्रमा गरेको उपेक्षालाई यसरी ‘अल्जाइमर’ कवितामा व्यङ्ग्य प्रहार गरेका छन् :
“रातारात घोषणपत्र छाप्ने
मेरो सरकारले
रातारात मत्रपत्र छाप्ने
मेरो सरकारले
किन छाप्दैन रातारात पाठ्यपुस्तक ?” (पृ. ३१)
संसारमा धेरै लेखिने विषय प्रेम हो किनकि यो शास्वत भाव हो । कविले प्रेमजस्तो सार्वजनीन भावलाई ‘याद’ कवितामा यसरी मुखरित गरेका छन् :
“दृष्टि भएर पनि
दृष्टिकोणविहीन भएको छु म
पयर त छन्
तर छैन गतिशीलता
अहो ! कति बेचैनीका साथ
आइरहेछ तिम्रो याद ।” (पृ. ६०)
कविले प्रेमलाई साँघुरो घेरामा मात्र नभएर वैश्विक चेतका साथ व्याख्या गर्न पनि पछि परेका छैनन् । हेरौँ है त उनको ‘समर्पण’ कविताको एक अंश :
“अब त म
तिम्रो र मेरो प्रेममा
पुष्प फुलाएर
नाइल नदीको सभ्यता लेख्न चाहन्छु
हिरोसिमा र नागासाकीमा
रातो गुलाफ देख्न चाहन्छु ।” (पृ. १०२)
कविमा बाल्यकालीन यादहरु प्रशस्त छन् । उनको पुस्ता सायद अन्तिम पुस्ता हो, जो घरबाहिर खेलेर रमाइलो गथ्र्यो । अहिलेको पुस्ता त घरभित्रै बसेर मोबाइल, ट्याब वा कम्प्युटरमा रमाइरहेको छ । उनी आफ्नो बाल्यकालीन यादलाई आजका पुस्तासँग जोडेर समाजसँग एउटा अहम् प्रश्न उठाउँछन् आफ्नो ‘झुम्राको भकुन्डो’ कवितामा । हेरौँ उक्त कविताको अंश :
“के फेरि खेल्लान् त
उस्तै गरी केटाकेटीहरु
सारा खुसीहरुका कोलाज सँगालेर
उमङ्गको हाँसोसहित
झुम्राको भकुन्डो ।” (पृ. ७५)
मानवीय सम्बन्ध कविताको अर्को पाटा हो । अरुले जस्तै कविले पनि आफ्नो कवितामा आमालाई सम्झेका छन् । ग्रामीण परिवेशमा हुर्किएकी र गाउँले जीवन बिताइरहेकी आमाको अनुभूतिलाई उनले ‘आमाको विश्वविद्यालय’ कवितामा यसरी उतारेका छन् :
“जङ्गल आमाको पाठशाला हो
आमाकी सहेली हो
हतारो, पीडा र उल्झनको एक मात्र साक्षी
मनको सातपत्रेमा बेरिएका दुःखको मलम
मेरी आमाले सिकेकी हुन् समयबाट
रोकिँदै नरोकिने यात्रा ।” (पृ. २५)
कविले आफ्नो कवितामा आमाका बारेमा मात्र नभएर बाका बारेमा पनि व्याख्या गरेका छन् । उनी बालाई सङ्घर्षको पर्याय मान्दै ‘बा’ कवितामा यस्तो चित्रण गर्छन् :
“बाभित्रै छ
सङ्घर्षको हिमाल आरोहणपछि
जीवनको कविता लेख्ने कवि मन
धाँजा फाटेका खेतजस्ता पैतालाले
नापिरहेको बाटो ।” (पृ. ९२)
कविले आफ्ना अग्रजका बारेमा मात्र नभएर सन्ततिका बारेमा पनि आफ्ना कविताहरु समर्पित गरेका छन् । उनले ‘छोरी, तिमी यस्ती हुनु’ कवितामा छोरीलाई सम्बोधन गर्दै यो समाजसँग कसरी मुकाबिला गरेर अगाडि बढ्न सकिन्छ ? भन्ने सन्देश यसरी दिएका छन् :
“मेरी छोरी,
आधुनिक शताब्दीमा
विज्ञान पढेर भूतसँग डराउँदै
नमाग्नु नित्सेले घोषणा गरिसकेको
मृत ईश्वरसँग वरदान
स्वामीका गोडाको जल पिएर
दासत्वको भक्तिगान गर्नेसँग
नझुकाउनु मस्तक
पहिचान गर्नु
भ्रम छर्ने र श्रम गनेहरुलाई ।” (पृ. ४०)
कवि विपिनले आफ्ना कवितामा मूलतः समाज चित्रण गरेका भए पनि कुनै कुनै कवितामा नजानिँदो पाराले दार्शनिक चेत पनि घुसाएका छन् । उनको ‘यात्रा’ कवितामा यस्तो खालको दार्शनिक चेत पाइन्छ :
“सजिलो हुँदैन
हुरीविपरीतको यात्रा
उधिन्न खोज्छ त्यसले आफैँतर्फ
निल्न खोज्छ आफैँभित्र ।” (पृ. ६६)
हो, कवि विपिन देब्रे हातले लेख्ने व्यक्ति हुन् । उनलाई देब्रेहाते भएकोमा कत्ति पनि हीनताबोध छैन, बरु उनी त त्यसलाई गर्वका रुपमा लिन्छन् । यो समाजलाई देब्रेहरुको चुनौती आफ्नो ‘देब्रे हात’ कवितामा यसरी प्रस्तुत गर्छन् :
“महोदय,
हजुरले पनि यति बेला
नस्वीकार्न सक्नुहुन्छ
प्रतिरोधी देब्रे हातले लेखिएको
यो मेरो देब्रे कविता ।” (पृ. ३०)
लेख्नका लागि दाहिने हात प्रयोग गर्ने भए पनि म आफू पनि देब्रेहाते नै हुँ । यस्ता देब्रहातले लेख्ने कवि विपिनलाई मेरो सलाम छ । भावमा मात्र होइन, भाषा र शैलीमा पनि तिमीले कमाल गरेर देखाएका छौ । तिम्रा कविताहरुको शक्ति अब चितवनमा मात्र सीमित छैन । त्यसो त माडीको रातमाटे डाँडाको भव्य समारोहमा भएको तिम्रो कविताको लोकार्पण कार्यक्रमा उपस्थित जनसमुदायले पनि तिमीप्रति कति माया गर्दा रहेछन् भन्ने प्रमाणित गरिसकेका छौ । उनीहरुको मायाका लागि पनि तिमीले लेखिरहनुपर्छ । विद्रोहको ज्वालालाई निभ्न नदिनु, तिमीलाई असल गुरु बन्न नसकेको यो सामान्य शिक्षकको अनन्त शुभकामना छ ।

किन सुस्त छ चितवनको कवितायात्रा ?

भावकगण, अन्त्यमा कविताका पक्षमा थोरै काम गरेको नाताले एउटा कुराचाहिँ उठाउनै पर्छ मैले । साँच्चै किन सुस्त छ हँ चितवनको कवितायात्रा ? हुन त सबैले भन्छन्, चितवन सम्भावना बोकेको ठाउँ हो । विविधता यसको पहिचान हो र हो सीमा पनि । यहाँको मौलिक संस्कृति भनेको माडीका भूमिपुत्र थारुहरु र पहाडका चेपाङहरुको संस्कृति हो । तर दुःखका साथ भन्नुपर्छ यिनको साहित्य मूल धारमा आउन सकेको छैन । अझ चेपाङहरुको साहित्य त लेखिएकै छैन भन्दा पनि हुन्छ । थारुका बारेमा केही लेखिएको छ, जति लेखिएको छ, त्यो पर्याप्त छैन । यसमा विपिनहरुको कलम चल्नु जरुरी छ । यो काममा लागिरहन विपिनलाई आग्रह र शुभकामना पनि छ मेरो ।

कविता लेख्न कहाँ सजिलो छ र ? अझ कविता भनेर लेखिएको सामग्री साँच्चैको कविता बनाउन त कि भूपिनको जस्तो भाषा चाहिन्छ, कि विनोदी गुरुको जस्तो समर्पण । सायद त्यही भएर होला चितवनको कवितायात्रा अपेक्षित गतिमा अगाडि बढ्न सकेको छैन । कवितामा यात्रामा निस्केका युवापुस्ता एउटा कृति निकालेर थकाइ मारिरहेका छन् । कतिले कृति निकाल्ने आँटै गरेका छैनन् । यस्तोमा कसरी जन्मन्छ चितवनको नयाँ कविता ? जन्मँदै नजन्मेको कविता हुर्कने त प्रश्नै भएन । यो जिम्मेवारी पनि विपिनले बहन गरुन् भन्दै अहिलेलाई यो गन्थनबाट छुट्टिन चाहन्छु ।

भबतु सब्ब मङ्गलम् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट