चितवन, १४ भदौ ।
कवि विमला तुम्खेवा शुक्रबार साँझ चितवनका कविहरुको माझमा प्रस्तुत भइन् । नेपाली लेखक सङ्घ चितवन शाखाले कवि तुम्खेवाको एकल कविता वाचन राखेको थियो ।
भरतपुरस्थित होटल अशोकामा आयोजना गरिएको कार्यक्रममा कवि तुम्खेवाले विभिन्न कविताहरु वाचन गरिन् । एउटा कविता यस्तो थियो :
जङ्गल जस्तो घर र तपटेनको आमा
हरेक बिहान धुवाँजस्तो हल्का कुहिरोमा बेरिएर नगरकोट उदाउँछ
सँगै उदाउँछे हस्याङफस्याङ गर्दै टपटेनको आमा सपनाहरुको साथ
यही जङ्गल त हो उसले आफ्ना बैँशकाे पलहरु बिताएको
यही जङ्गल हो उसलाई बाँच्न सिकाउने
पारि देखिने जरसीङ्गपैवाले
कतिपटक लुकामारी खेल्यो उसको बैँशसँग
कतिपटक तोडियो उसको बिश्वास
र त
आफ्नै अनुभवहरुको निचोडबाट उसले बुझेकी छे
कुनै दिन म पनि जानेछु
एक शून्य यात्रामा
सब तानाबानालाई बिर्सीएर
उसले रोपेका धानका बिरुवाहरु
उसले रोपेका यी बाँसका झ्याङहरु
उसले रोपेका यी नासपातीका बोटहरु
कोदोको नलहरुलाई छुँदै उदाएर अस्ताउने हरेक दिनको घाम
यही त रहेछ आखिरमा जीवन
जसरी रातको अँध्यरोमा शीतको प्रहारबाटै आफूलाई जोगाउँदै उभिन्छ यो कोदोको बोट
फूलको चक्रलाई मौरीले बुझैझैँ बुझेकी छ उसले
यी एैशेँलुका बोटहरुले पनि उसलाई नजिकबाट चिनेको छ
कुनै दिन कुनै समय
सीमसीम झरीमा रुझीरहेको पुरानो लुम्दारको सरसराउटको फेदमा उभिएर
यो ठाउँ नै छोडेर जाने नसोचेको होईन
तर
लोग्ने र सन्तानकै मायाले बाँची यो जङ्गल जस्तो घरमा
सम्झन्छे कुन साहसले बाँची ?
साहसले भरिएको कथा हो उ
यी खुट्टाले कयौं वर्षदेखि बोकेर हिँडेकी छे
चार सन्तान हुर्काउनुको कथा
घरलाई घरजस्तै बनाईरहनुको कथा
यहाँको उकाली ओराली बाटाहरुलाई कुल्चेर आएकी छे आफ्नै दु:खलाई झैँ
जब पर हिमाल घामको किरणसँगै लुक्छ
उसैबाट त हो उसले दुःखलाई कसरी लुकाउनुपर्छ भन्ने जानेको
लज्जालु झारको पात झैँ मुस्कानभित्र दु:ख लुकाउन उसले जन्मँदै सिकेर आएको हो
तपटेनको आमा –
तिम्रो स्वरुपले मलाई कसैसँग गुनासो नलिई जीवन बाँच्ने कला सिकाएको छ ।
कार्यक्रममा कवि तुम्खेवाले १० वटा कविता प्रस्तुत गरिन् । सार्वजनिक बसमा एक दिन, सम्झनाहरुको तुक्का नै त हो जिन्दगी, यो बगिरहेको खोलाको कथा हो, उनीहरू मानिसको शक्ति अघि निरन्तर लडिरहे, म उभिनेछु यो सतिसालको रुख झैँ, सन्चै छ तिमीलाई ?, म चाहन्छु त्यो बगरमा मेरो नाम लेख्नू, प्रश्नहरुको पनि यात्रा हुँदो रहेछलगायतका कविता तुम्खेवाले कार्यक्रममा सुनाइन् ।

कविता सुनिसकेर कवि भूपिनले विमलाका कवितामा पूर्वीय महक भएको बताए । `विमलाजीका कवितामा पूर्वी नेपालको महक मिसिएको छ । कवितामा विद्रोह छ तर उहाँको वाचन नरम र सरल छ । यो विमलाजीको विशेषता हो ।´, भूपिनले भने । कार्यक्रममा भूपिन र सरिता तिवारीले कवि तुम्खेवाका एकएकवटा कविता पनि वाचन गरे । सङ्घकी अध्यक्ष शान्ति शर्माको अध्यक्षतामा गरिएको कार्यक्रमलाई सचिव सामना पहाडले सहजीकरण गरेकी थिइन् ।





