गोरखापत्र दैनिकका संवाददाताको पहिचान बनाएका वसन्त पराजुली पछिल्लो समय लेखकको रुपमा पहिचान बनाउन कसरत गरिरहेका छन् । उनै वसन्त पराजुलीको पछिल्लो उपन्यास `बखान´ पढेपछि केहि पाठकीय प्रतिक्रिया लेख्न मन लाग्यो ।
पराजुलीको उपन्यास बखानमा सहकारीका संस्थापक भनेर चिनिएका ‘बखानसिंह गुरुङ’लाई मुख्य पात्रको रुपमा उभ्याइएको छ । जसको मनोवैज्ञानिक चित्रण अत्यन्त गहिरो र संवेदनशील छ । उनले आफ्नो व्यक्तिगत चाहना र सामाजिक जिम्मेवारीबीचको द्वन्द्वलाई सम्हाल्न खोजेको देखिन्छ । उनको चेतना निरन्तर सत्ता, स्वतन्त्रता र न्यायका विषयमा उठ्ने प्रश्नहरूले छर्लङ्ग पारेको छ । बखानसिंहको मनमा अव्यक्त पीडाको साथमा गज्जबको आशा र साहस पनि लेखकले देखाउन खोजेका छन्, जसले पाठकलाई उनको भावनात्मक अनुभवमा गहिरोसँग भिज्न बाध्य पार्छ । उनका मनका द्वन्द्वहरू पीडादायी तर पवित्र छन्, जसले पात्रलाई हरेक व्यक्तित्वका रूपमा मात्रै होइन, एक युगका प्रतिनिधि पात्रको मूर्त रूपमा प्रस्तुत गरेका छन् ।
राजा महेन्द्रको छवि भने पात्रको भन्दा पनि प्रतीकात्मक स्तरमा टेकाइएको छ । उनको रहस्यमय मृत्यु र शासनकालले उपन्यासमा एउटा ठूलो तनाव र प्रभाव पैदा गरेको छ । उनी एक शक्ति, नियन्त्रण र अनिश्चितताका प्रतीक हुन्, जसले नेपाली समाजमा सत्ता र व्यक्ति बीचको सम्बन्धका पीडादायी पक्षलाई उजागर गरेको छ । उनका निर्णय र घटनाले केवल राजनीतिक मात्र नभई व्यक्तिगत र भावनात्मक तहमा पनि मानिसहरूमा गहिरो छाप छोड्न सफल भएको छ ।
बखानसिंहलाई नेपाली युवाहरूको आकांक्षा र विद्रोहको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ । उनको संघर्ष, उदासी र अन्तर्निहित आशाले एउटा परिवर्तनशील जनमानसको स्वर प्रतिनिधित्व गरेको छ । राजा महेन्द्रको रहस्यमय मृत्यु भने शासन, इतिहास र जिम्मेवारीको गर्भित पक्ष हो, जसलाई उपन्यासले अचेतन तवरले प्रकट गरेको छ । उपन्यासमा बखानको समर्पण व्यक्तिगत मात्रै होइन, समग्र समाजको जागरण र परिवर्तनको प्रतीक हो ।
ग्रामीण परिवेश थारु जाति बाहुल्यता, परम्परा र बदलिँदो सामाजिक संरचनाहरू पनि एउटा ठूलो प्रतीकात्मक आयाममा छन । ती परिदृश्यहरूले उपन्यासलाई केवल कथा नभई सांस्कृतिक दस्तावेज बनाएको छ, जहाँ पुराना र नयाँबीचको टकराव स्पष्ट रुपमा झल्किएको छ ।
लेखकले सरल, स्पष्ट र प्रभावशाली भाषा प्रयोग गरेका छन् । भाषा न अलंकारमय छ, न त असहज । भाषाकै कारण कथा सलल बगेको छ । यसको सहजता र प्रवाहले पात्रहरूको मनोभाव र घटनाक्रमलाई स्वभाविक रूपमा अनुवाद गरेको छ । उपन्यासका वाक्यहरूमा सजीव संवाद छन् जसले मनोवैज्ञानिक पक्षको समेत सूक्ष्मता पाउन सकिन्छ ।
संरचनात्मक रूपमा, बखानले कालक्रमलाई सरल तर संवेदनशील तरिकाले प्रस्तुत गरेको छ । घटनाहरू क्रमबद्ध हुनुका साथै पात्रहरूको आन्तरिक र भावनात्मक विकासलाई प्राथमिकता दिइएको छ । उपन्यासको लयमा आत्मीयता छ, जसले पाठकलाई कथाभित्र गहिरोसँग प्रवेश गराउन मद्दत गर्दछ ।
उपन्यासका समग्र शक्तिशाली पक्षहरूका बाबजुद, केही कमजोरीहरू पनि प्रष्ट देखिएका छन् । उपन्यास पढ्दै जाँदा कथाको प्रवाहमा केही अंशहरू धेरै लम्ब्याउन खोजेको र दोहोरिएको महसुस हुन्छ । जसले पाठकलाई अलि झिँजो लाग्छ नै । पात्रहरूका मनोवैज्ञानिक पक्षमा गहिरो पहुँच दिने प्रयास गर्दा कतिपय ठाउँमा संवाद र वर्णनहरू अत्यधिक विस्तृत भई कथा सान्दर्भिकताबाट अलि टाढा परेको महसुस हुन्छ । यस्तो अवस्थामा कहानीको गतिशीलता र पठनको रस एकाएक कम भएको आभाष हुन्छ । यसका साथै राजा महेन्द्रको रहस्यमय मृत्युलाई लिएर उपन्यासमा राखिएको अर्थपूर्ण रहस्य केही असंगठित र अस्पष्ट प्रस्तुत भएकोले पाठकमा पूर्ण सन्तुष्टि नपुगेको भान हुन्छ नै ।
बखान उपन्यास केवल एउटा कथा होइन, भावनात्मक, ऐतिहासिक र सांस्कृतिक रूपमा नेपाली समाजका पीडाहरू र आशाहरूको गम्भीर प्रशोधन हो । पात्रहरूको मनोवैज्ञानिक गहिराई, जीवन्त प्रतीकात्मकता र प्रभावकारी शैलीले यसलाई साहित्यिक र मानवतावादी दृष्टिले विशिष्ट बनाएको छ । एउटा पाठकको रूपमा, यो उपन्यासले हामीलाई इतिहासमाथि प्रश्न गर्न, वर्तमान जीवन र समाजको पुनरावलोकन गर्न र आफैंलाई पुनः चिनारी बनाउन प्रेरित गर्न सफल छ । समग्रमा बखान उपन्यास चितवनको यौटा ऐतिहासिक दस्तावेज हो भन्दा अतिशयोक्ति हुँदैन । शिखा बुक्सले प्रकाशन गरेको बखान उपन्यासको आयतन २५२ पृष्ठमा फैलिएको छ र यसको मूल्य ५९५ रुपैयाँ राखिएको छ ।




