गैंडाकोटमा `मुनामदन´ नाटक हेर्न विद्यार्थीको लस्कर

गैँडाकोट, २२ साउन ।
पोखरा थियटरले चितवनका कर्मी चौतारी र तरङ्ग नाट्य समूहलाई साथमा लिएर तयार पारेको नाटक ‘मुना–मदन’ गैँडाकोटमा मञ्चन भैरहेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुप्रचर्चित खण्डकाव्य ‘मुनामदन’को मुख्य कथालाई नाट्य रूपान्तरण गरेर उनीहरु चितवन आइपुगेका हुन् । समाज परिवर्तनको लागि विद्यार्थीहरुलाई प्रशिक्षित गराउने उद्देश्यसहित कविताको रूपान्तरित नाटक अहिले गैँडाकोटमा चलिरहेको छ ।

आठ दशकअघिको सामाजिक परम्परालाई महाकवि देवकोटाले कवितामा उतारेका थिए । तर, हालसम्म पनि कतिपय घटना र परिघटना उस्तै छन् । त्यसकारण पनि समाजको यथार्थ चित्र बोल्ने कवितालाई नाट्य रूपान्तरण गरेर चितवन र नवलपुर आसपासको क्षेत्र आइपुगेको नाटकमा मदनको भूमिकामा रहेका निर्देशक मोतीबहादुर कार्की (परिवर्तन)ले बताए । नाटकमार्फत पोखराबाट बाहिर निस्कने प्रयास गर्दै आएको उनले बताए ।

चितवनको माडीमा तीन दिन मञ्चन गरिसकेको नाटकलाई बुधबार ‘प्रिमियर’ गरेपछि बिहीबारदेखि भने नारायणी किनारमा रहेको दि नारायणी रिसोर्टमा नियमित मञ्चन भइरहेको छ । समाज रूपान्तरणको लागि विद्यार्थीहरुबाटै चेतनाको दियो बाल्नुपर्ने हुँदा शैक्षिक क्षेत्रलक्षित नाटक तयार पारिएको नाटक मञ्चनको संयोजन गर्दै आएका अञ्जान ढुङ्गानाले जानकारी दिए ।

नाटकमा पुस्तान्तरणको लागि पनि निरन्तरता आवश्यक रहेको उनले बताए । ‘त्यसैका लागि पनि हामीले वार्षिक कार्यक्रम गर्दै आएका छौँ,’ उनले भने, ‘कम्तिमा चितवन, नवलपुर क्षेत्रमा नाट्य विधालाई जीवित राखिराख्न प्रयास गरिरहेका छौँ ।’

प्रिमियरमा बाक्लो उपस्थिति रहेको नाटक हेर्न बिहीबार पनि उल्लेख्य उपस्थिति थियो । बिहीबार भरतपुरका प्रेरणा स्कुल, न्यू होराइजन स्कुल, शान्ति विद्या मन्दिर र मनशिक्षा स्कुलका विद्यार्थीले नाटक हेरेका छन् । त्यसैगरी विजय सामुदायिक शिक्षा सदनका विद्यार्थीहरु पनि आएर नाटक हेरेका छन् । नाटक हेर्न भनेर आएका विद्यार्थी उत्साहित हुँदै लहरै लागेर हलभित्र छिरेको दृश्य रमाइलो देखिन्थ्यो ।

आठ दशकभन्दा पनि पहिले प्रकाशित कृतिको कथामा तयार भएको नाटकलाई कलाकारहरुको अभिनयले जीवन्त तुल्याएको छ । जातीय विभेद, आर्थिक अभाव, मायाप्रेम, गीत, सङ्गीत, द्वन्द्व सबै समेटेर समाजलाई चित्रण गर्ने विषयमा पनि नाटक बलियो बनेको छ ।

चितवनमा कर्मी चौतारी र तरङ्ग नाट्य समूहले संयुक्तरुपमा नाटक मञ्चनको संयोजन गर्दै आएको छ । नाटकमा चितवनका पाँच जनासहित २० जना कलाकारहरुले काम गर्दै आइरहेको छ । चितवन र नवलपुर क्षेत्रका नाटकप्रेमीहरुका लागि लामो समयपछि राम्रो नाटक हेर्ने मेसो जुरेको दर्शकहरुले बताएका छन् ।

शुक्रबार तीन वटा शो गरिने कार्यक्रम संयोजक देव श्रेष्ठले बताए । बिहान प्रेसीडेन्सी कलेजका विद्यार्थी आएर नाटक हेर्दैछन् । दिउँसोको शोमा गैंडाकोट इङ्लिस स्कुलका विद्यार्थीहरुले नाटक हेर्ने कार्यक्रम रहेको छ । शनिबार जनैपूर्णिमाको दिन पनि नाटक मञ्चन गरिने श्रेष्ठले बताए । `चितवन र नवलपरासीका विभित्र स्कुलले टिकट बुक गरिसक्नु भएको छ । यो उत्साह देखेर साउन महिनाभरी नाटक देखाउन सक्छौँ भन्ने हामीलाई लागेको छ´, श्रेष्ठले भने ।

प्रिमीयर शो हेरेपछि भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले फेसबुकमा लेखेका छन् : `महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय खण्डकाव्य मुनामदनमा आधारित नाटक हेर्ने मौका मिल्यो । कहिले रुँदै, कहिले हाँस्दै, पददेशिएका कयौं मुना र मदनहरू सम्झदै नाटक हेर्दाको अनुभूति गज्जबको रह्यो । पोखरा थियटर, कर्मी र तरङ्ग नाट्य समूहको प्रस्तुति नाटक आज पनि चल्दै छ । अनुकूल मिलेसम्म हेर्न आग्रह गर्दछु ।´

त्यसैगरी कवि भूपिनले लेखेका छन् – `महाकवि देवकोटाले मुनामदनमा प्रस्तुत गरेको आय आर्जनका लागि विदेशिनु पर्ने नेपालीको कारुणिक कथा अझै फेरिएको छैन । कर्मी चौतारी/तरङ्ग नाट्य समूहको आयोजना अनि मित्र परिवर्तनको परिकल्पना, निर्देशन र सुन्दर नाट्य रुपान्तरणमा गैँडाकोटमा चलिरहेको मुनामदन चितवन र नवलपुरका नाटकप्रेमीहरूले हेर्न नछुटाऔँ ।´

त्यसैगरी कवि एसआर दुवाडी लेख्छन् – `महाकविको अमर काव्य मुनामदन , नाटकका रूपमा मञ्चन भैरहेको छ । नयाँ पुस्तामा पनि मुनामदन जीवन्त हुनु आवश्यक छ । चितवन आसपास रहनुहुनेहरूले नछुटाउनु होला ।´

मुनामदन नाटकको कथासार र सन्देश

मुनामदन नेपाली साहित्यको एक ऐतिहासिक, भावनात्मक र यथार्थवादी काव्य कृति हो, जसलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका हुन् ।

यस काव्यले नेपाली समाजको तत्कालीन अवस्था, परदेशी पीडा, नारीको समर्पण, प्रेम, कर्तव्य र मानवतावादी दृष्टिकोण प्रस्तुत गर्छ । मुनामदन प्रेमकथामा आधारित भए पनि यसले नेपाली समाजमा श्रमिक वर्गको दुःख, परदेश जाने प्रवृत्ति, नारीको पीडा, कर्तव्य र मानवता जस्ता गम्भीर विषयवस्तु उठाएको छ । मदन नामका युवक जीविका चलाउन भनी कमाउन लाहुर जान्छन् र उनकी पत्नी मुना घरमै रहन्छिन् । कमाउन भनेर ल्हासा गएको मदनको मृत्युको खबर पाउँदा मुनाको निधन हुन्छ । तर पछि थाहा हुन्छ मदन बाँचेका छन् तर मुना बितिसकेकी हुन्छिन् । अन्त्यमा, मदनले जीवनको असली अर्थ बुझ्छन् – सेवा, प्रेम र मानवता नै जीवनको सार हो ।

नाटकका मुख्य पात्रहरूमा मदन जसले श्रमजीवी, माया गर्ने तर विवशताले परदेश जाने पात्रको प्रतिनिधित्व गर्छन् । मुना जसले निष्ठावान, पतिप्रेमी, समर्पित नेपाली नारीको प्रतिनिधित्व गर्छिन् । आमाले पुत्रमोहमा रहेकी पात्रको प्रतिनिधित्व गर्छिन् । लाहुरे साथीहरूले स्वार्थी र गैर-जिम्मेवार साथीहरुको प्रतिनिधित्व गर्छन् । तिब्बती (भोटे) पात्रले मानवता र दयाको प्रतीक पात्रको प्रतिनिधित्व गर्छन् ।

नाटकको मुख्य सन्देशहरूमा परदेशी पीडा जहाँ नेपाली समाजमा बिगत र वर्तमानमा रोजगारीको अभावले मानिसहरू परदेश जान बाध्य छन् । यो नाटकमा त्यसको भावुक चित्रण छ । नारीको प्रतीक्षा र त्यागको चित्रण छ जहाँ मुना भोट गएका मदनको प्रतीक्षा गर्छिन्, आशा गर्छिन् तर अन्त्यमा प्रेममा मृत्यु अँगाल्छिन् । भोटेले मदनलाई बचाउँछन् तर आफ्ना लाहुरे साथीहरूले साथ छाड्छन् । यहाँ मानवतावादले जात, धर्म वा भाषा हेर्नु हुँदैन मन सफा हुनु पर्छ भन्ने संदेश नाटकमा पनि प्रस्तुत गरिएको छ । प्रेम र परिवारप्रतिको उत्तरदायित्वका सबालमा जीवनमा पैसा भन्दा माया, परिवार र कर्तव्य ठूलो हुन्छ भन्ने सन्देश दिन्छ । नाटकमा सरल, भावुक र बोधगम्य भाषा प्रयोग गरिएको छ ।

नाटकले बिगत र वर्तमान नेपाली समाजको वास्तविकता बोल्छ । निर्धनता, श्रमजीवी जीवन, परदेशीपना, नारीको पवित्रता, समाजको दृष्टिकोण आदिको जीवन्त अभिनय छ । मुनामदन केवल प्रेमकथा होइन, यो नेपाली समाजको बिगत र वर्तमानको ऐना हो । यसले मानवता, नारी सम्मान, सामाजिक न्याय र जीवनका मूल्यमान्यतालाई उजागर गर्छ । देवकोटाको यो कृति सरल भाषामा गहिरो सन्देश दिने उत्कृष्ट साहित्यिक धरोहर हो । यहि विषयवस्तुमा आधारित भएर नाटक मन्चन गरिनु प्रसंशनीय कार्य हो । नाट्य क्षेत्रमा लाग्ने विद्यार्थी, शिक्षक, अभिभावक एवम् समाजका सबै बर्गका व्यक्तिका लागि यो नाटक अति उपयोगी हुने नै छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट