आने में सदा देर लगाते ही रहे तुम ,
जाते रहे हम जान से , आते ही रहे तुम ।
-‘रासिख’ अजीमाबादी ।
बगरमा बालुवाको घर बनाउन खोज्दै छ ऊ ,
र त अरूको बस्तीमा आगो लगाउन खोज्दै छ ऊ ।
-अनायास , ग. सं. , पृ. ५४ ।
पिता हरिप्रसाद पौडेल र माता कुमकुमारी पौडेलका पुत्र-रत्नका रूपमा चितवनको भरतपुर-५ , कैलास नगरमा २०४४ माघ ४ गते रामकृष्ण पौडेलको जन्म भएको हो ।लेखनको आरम्भ २०५८ बाट गरेका अनायासले फुच्ची जमुनासँग युगलरूपमा ‘धमिलिएका डोबहरू’ ( सबाल जवाफ सयुक्त गजलसङ्ग्रह ? ) प्रकाशनमा ल्याएझैं ‘अनायासका पानाहरू’मार्फत ई गजल कृति इन्टरनेटद्वारा रसास्वादन गर्न सकिन्छ । चितवन मेडिकल कलेजमा क्रियारत रहँदै गजल मञ्च चितवनको वर्तमान नेतृत्व कुशलतापूर्वक समाल्दै आइरहेका अनायासले कविता , गीत , गजल , मुक्तक , हाइकु र लघुकथाहरूमा हात बसालिसकेका छन् तापनि यिनी गजलका लागि बेसी समर्पित र सफल देखिन्छन् । रामकृष्ण अनायासको कृतिले मलाई विशेष मोहनी लगांउनुको के पनि कारण छ भने कारण मेरो प्रमुख आतिथ्यमा ” प्रत्यूष , अन्जानमा गयौ कि ? र ‘अनायास’ विमोचित हुनुभन्दा पनि प्रेम प्रणय , सामाजिक सद्भाव , स्वाधीनताका साथै सामाजिक विकृति र विसङ्गतिप्रति खरो विचार सम्प्रेषणले आकर्षित भएको हुँ ।
आजभोलि गजलको लोकप्रियता बढ्दो गतिमा छ । सिकारुदेखि लिएर राष्ट्रस्तरका लब्धप्रतिष्ठित साहित्यकारहरूसमेत गजल लेख्न र सुन्न रुचाउँछन् । गजलका कृति नै तयार पार्नेहरूको सङ्ख्या तोक्न पनि गाह्रो भइसकेको छ । यतिखेर मेरो हातमा रामकृष्ण अनायासको गजलसङ्ग्रह ‘अनायास ‘ ( २०८२ )आइपरेको छ । यस कृतिको अग्रपृष्ठहरूमा समालोचक रमेश प्रभातको प्रकाशकीय र भूमिका र कृतिकारको मन्तव्य र पश्चावरणमा लेखराम सापकोटा र बालकृष्ण थपलियाका विशेष भनाइहरूले कृतिको ओज बढाएझैं लाग्दछ।
सामान्यत: गजल भनेको कोमलकान्त पदावलीले समन्वित रदिफोकाफियाको अनुशासनमा रहेर सुकुमार शैलीमा सिर्जना गरिने लयात्मक रचना हो । नेपाली साहित्यमा बहुप्रतिभाशाली युवाकवि मोतीराम भट्ट ( वि सं. १९२३-१९५३ ) ले २०४० सालतिर उर्दू फारसीबाट नेपाली साहित्यमा भित्र्याएका हुन् । युवा-युवती बिचको हार्दिकतापूर्ण प्रणयवार्तामा केन्द्रित रचनालाई गजलका रूपमा हेरिए पनि युगीन परिवर्तनसँगै गजलप्रतिका धारणाहरुमा पनि परिवर्तित हुँदै आइरहेका छन् ।’जब दो दिल मिलते हैं तो गजल बनते है’ बाट परिवर्तित भई ” जब दो वर्ग आपस में टकराते हैं तो गजल बनते है” ‘मा पल्लवित भई ओइलाउन थालिसकेको छ । गजलको उच्च मूल्याङ्कन गर्दै उर्दू फारसी साहित्यमा स्वतन्त्र , अनुपम र विशिष्ट काव्यात्मक विधाका रूपमा स्थापित गरिए पनि नेपाली साहित्यमा भने कविताको उपविधामा राखेर अध्ययन गर्ने गरिन्छ ।
गजलका साधकहरुले शेर, रदीफ, काफिया, मिसरा, मत्ला, मक्ता, मुसलसल गजल, गैर मुसलसल गजल, मुरद्दफ गजल र गैर मुरद्दफ गजल, रुक्न, अरकान र बहर आदिका प्राविधिक र शास्त्रीय शब्दहरुसहित यसका संरचनात्मक पक्ष, विषयात्मक पक्ष र कलात्मक पक्षका वारेमा राम्ररी बुझ्नुपर्दछ । अनायासका रचनामा दृष्टि फेर्दा उनले गजलका नीति नियम बुझेर लेखेका हुन्जस्तो लाग्दछ । यस कृतिमा ७० वटा गजलहरू सङ्कलित छन् । बैंसे पिरती, हार्दिकता, शान्ति, स्वाधीनता, हक, अधिकारसहित समाजिक, राजनीतिक र सांस्कृतिक तहमा कालो बादलझैं फैलिरहेको विकृति विसङ्गतिप्रति गजलकारले तीव्र हुङ्कार भरेका छन् । गजल कति सुन्दर र पठनीय तलका शेरका बानगीबाट सहजै अनुमान लगाउन सकिन्छ । यथा-
मेरा गजललाई त्यति कमजोर नठान महाशय !
म गजल लेखेरै यो सरकार गिराउन सक्छु !पृ. ७
फूललाई के थाहा कति बेला झर्छु भनेर
हेर्नु त मान्छेको घमन्ड सोच्दैन मर्छु भनेर । पृ. ८
अस्पतालबाटै बिरामीको मृगौला चोरिएपछि
डाक्टरले अरूको भावना बुझेन नाफा कमाउनु अघि । पृ. ३०
हेर ! मधेस जलाएर पहाड ढलाउँदैछन् छिमेकीले
आफ्नै झण्डा गाड्ने अनि शासन चलाउँदैछन् छिमेकीले। पृ.४०
तिर्खाएको तिम्रो प्यासको पानी बन्छु भन्थ्यौ
संसार देख्ने त्यो आँखाको नानी बन्छु भन्थ्यौ । पृ. ६५
चर्चित गजलकार रामकृष्ण अनायासले आगामी दिनहरूमा पनि यस्तै राम्रा र स्तरीय कृतिहरू प्रकाशनमा ल्याउन र गजलका प्यासीहरूको तिर्खा मेटाउन सकून् भन्ने हार्दिक शुभेच्छासहित लेखनी थाम्दछु । सर्वे भवन्तु सुखिन: … !!





