भरतपुर, चितवन
२०८२ साउने सङ्क्रान्ति
प्रिय मित्र राधा,
अनन्त सम्झना ।
म यता चितवनमा ठिकठाक छु, अनि तिमी काठमाडौँतिर कस्ती छौ नि ? हाम्रो प्रत्यक्ष घेटघाट नभएको पनि दुई वर्ष जति भयो होला है ? यसबीचमा मैले तिम्रा ‘मारियम मान्छे भई’ र ‘उत्सव’ उपन्यास पढेर सकेँ । तिम्रा फेसबुक स्टाटस त दिनहुँ हेर्दै आएको छु । बेला बेलामा लाइक र कमेन्ट पनि गरेकै छु । यति कुरा त मेसेन्जरमा लेखेको भए पनि हुने हो । फोन गरेर भनेको भए पनि हुने हो । किन किन पत्रका माध्यमबाट लेख्न मन लाग्यो र यो पत्र कोरेको छु । यसको उत्तर मेसेन्जरमै दिए पनि म केही भन्दिनँ ल ।
तिमीलाई थाहा छ कि छैन ? म त जन्मले मात्र पहिलो हुँ, बाँकी जीवनमा त त्यसपछिका अन्य अङ्कले चित्त बुझाएको छु मैले । हो, म जीवनमा दोस्रो, तेस्रो र त्योभन्दा पछाडि पनि धेरैचोटि भएको छु, केवल पहिलो हुन भने सकिएन । तिमी त जन्मले कान्छी पो हौ क्यारे ? तर सधैँ ‘रोल नम्बर एक’, साँच्चै सबै कुरामा तिमीचाहिँ दोस्रो हुन मन नपराउने स्वभावकी थियौ । यतिबेला तिम्रो त्यो स्वभाव फेरियो कि उस्तै छ हँ ?
सप्तगण्डकी बहुमुखी क्याम्पसमा बी.एड्. पढ्दैताका तिमी राम्रो कविता लेख्थ्यौ । आजसम्म तिम्रो कविताको कृति नआए पनि त्यो कला तिम्रा किशोर उपन्यासहरुमा देखिएकै छ । मजस्ता पाठकलाई यति भए त पुगिहाल्यो नि :
“घाम प्रकृतिको !
रात प्रकृतिको !
जुँगा प्रकृतिको !
महिनावारी प्रकृतिको !
घाम, रात फेर्न सकिन्न !
जुँगा फेर्न सकिन्न !
महिनावारी रोकिन्न !” (‘उत्सव’, पृ. ५४)
हिजोआज ममा कुनै किताब पढेपछि त्यसका बारेमा केही लेख्ने बानी बसेको छ । कसैले यसलाई खराब पनि भनेको होलान्, कतिले मन पनि पराइदिन्छन्, त्यही भएर लेख्ने गरेको छु । किताबका बारेमा केही न केही लेख्ने बानी यतिबेला लत बनिसकेको छ । यही मेसोमा म यहाँ यतिबेला तिम्रो पछिल्लो किशोर उपन्यास ‘उत्सव’का बारेमा कुरा गर्दै छु । साथी भएर कमीकमजोरी पनि देखाइदियो भनेर रिसाइ त हाल्दिनौ नि ? रिसाए पनि फकाउने बानीचाहिँ छैन नि मेरो ।
तिम्रो किताबका बारेमा क्या राधा,
यहाँ म सुरुमै तिम्रो ‘उत्सव’ उपन्यासको अन्तिम अनुच्छेद साभार गर्दै छु :
“आमा मलाई तानेर नाच्न थाल्नुभयो । अनि, मैले पारुल दिदी, अनामिका दिदी र दादालाई तानेँ । दादाले मामुलाई अनि उनका साथीहरुलाई । अनि, हामी सबै, सबै खुलेर नाच्यौँ । सबैले भनिरह्यौँ– महिनावारी खुसी लिएर आउँछ । महिनावारी उत्सव बनेर आउँछ ।” (पृ. ७९)
खासमा तिमीले ‘उत्सव’ उपन्यासमा भन्न खोजेको कुरा यत्ति हो । हैन त ? मलाई थाहा छ, तिमी यतिबेला सुरक्षित महिनावारीका बारेमा कार्यक्रमहरु चलाउने, प्रवचन दिने, अनुसन्धान गर्ने र त्यसकै बारेमा दत्तचित्तले लेख्ने गरेकी छौ । सायद त्यही भएर होला, त्यसलाई तिमीले आफ्नो फेसबुक अकाउन्टको नाममा पनि झल्काएकी छौ । त्यसै पुष्टि तिम्रा पछिल्ला दुई किशोर उपन्यासहरु ‘मारियम मान्छे भई’ र ‘उत्सव’ हुन् । हैन र ?
म यहाँ तिमीसँग तिम्रो पछिल्लो उपन्यास ‘उत्वस’का बारेमा मात्र कुरा गर्दै छु । त्यो उपन्यास खासमा एउटी एघार वर्षे किशोरी एलिनाको कथा रहेछ । घरपरिवारमा छोरा र छोरीलाई बराबर हुन् भन्ने तर महिनवारीका विषयलाई लिएर गरिनमे भेदभावका कुरालाई यसमा उठाइएको रहेछ । यो उपन्यास ‘छोरीहरुको ब्रतबन्ध हुँदैन हो ?’, ‘म ठूलो हुने कहिले हो ?’, ‘घर नै अपवित्र हुन्छ रे !’, ‘हामी अट्ने ठाउँ खोई ?’, ‘दोष हो र !’, ‘गल्ती हाम्रो हो आमा !’ र ‘उत्सव’ गरी जम्मा सात वटा शीर्षकसहितको खण्डमा विभक्त रहेछ । यसमा राखिएको प्रश्नात्मक वा जिज्ञासामूलक शीर्षकहरुले मलाई निकै प्रभावित गर्यो ।
उपन्यासकी नायिका एलिनाले आफ्नी फूपूको छोरा प्रबल दादाको ब्रतबन्धमा जाने क्रममा मामुलाई पेट दुखेको बाहनामा घरै छोडेर जानुपरेको र फूपूको घरमा आफ्नो दाजुको ब्रतबन्धका लागि सजिएर बसेकी पारुल दिदीलाई अचानक महिनावारी भएका कारण अरुको घरको अँध्यारो कोठामा थुनिएको देख्दा गरेका अनुभूति यसमा राम्ररी उतारिएको रहेछ । यसमा उसले गरेका चलाखी, विद्रोह र चिन्तनका कुरा पनि मिसिएर आएका रहेछन् । यसरी महिनावारी हुँदा गरिएको विभेदले एलिनाका मनमा निराशा मात्र नपलाएर विद्रोह पनि पलाएको देखाउँदा मलाई निकै खुसी पनि लाग्यो ।
साथी राधा,
तिमीले यसभित्र एलिनाका बाबाले फेसबुक र रेडियोमा आयुष्मा नाम गरेकी ११ वर्षकी बालिका पहिलोचोटि महिनावारी हुँदा उसका बाबाआमाले उत्सव मनाएको खबर हेरेको कुरालाई पत्रिकाले समाचार बनाएपछि उनको विचार परिवर्तन भएको देखाएकी रहेछौ । त्यसपछि उनले घरमा लगेर नाटकीय पाराले त्यो खबर सुनाउँदा सुरुमा उनकी आमा रिसाएको भए पनि पछि खुसी भएको देखाएकी रहिछौ । अन्तिम खण्ड ‘उत्सव’मा एलिना पहिलोचोटि महिनावारी हुँदा पनि त्यस्तै उत्सव मनाएको देखाएर उपन्यास टुङ्ग्याएकी रहिछौ ।
अझ खास कुरा भनौँ, तिम्रो ‘उत्सव’ उपन्यासका यी हरफहरुले मन तानेको छ :
साक्ष्य १.
‘दादा ! तिम्रो ब्रतबन्ध भयो ?’ मैले दादाको काँधमा हात राख्दै सोधेँ ।
दादाले टाउको मात्र हल्लाउँदै भने, ‘भएको छैन । भएको भए मैले पनि बाबाको जस्तै जनै लगाउँथेँ नि उल्लु !’
दादाले मलाई कुरा मिलेन भने उल्लु भन्छन् । म पनि कहिलेकाहीँ उनलाई उल्लु भनेर स्वाद फेर्छु । अनि, कहिले भनिदिन्छु, ‘ए उल्लुकी दादु के हुन्छ उल्लु !’ (पृ. १२–१३)
साक्ष्य २.
मैले आमालाई फकाउन पर्यो भने जुम्रा हेरेझैँ गरेर ठुङ्ग मार्दिन्छु । टाउकामा जुम्रा नभए पनि कन्याइदिँदा आमालाई मज्जा आउँछ रे ! कहिलेकाहीँ त मलाई आफैँ पनि त्यसरी ठुङ्ग पड्काउन मन पर्छ । आज पनि मैले आमाको कपालमा ठुङ्ग हान्दै हिजोअस्तिदेखि चाङ लागेका प्रश्न आमालाई सोधेँ, ‘जनै किन बाबाहरुले मात्र लगाउने ? दादाहरुले मात्र लगाउने ? केटीहरुले, मामुहरुले, आमाहरुले किन नलगाएको ? तपाईंको जनै खै आमा ?’ (पृ. १६)
साक्ष्य ३.
घरमा कहिलेकाहीँ बाबाले, कहिलेकाहीँ आमाले खाना बनाउने कारण पनि महिनावारी रहेछ । तर, मलाई साँचो कुरा कसैले पनि भनेन ।
जनै लगाउन नहुने कारण पनि महिनावारी भएको कारण पो रहेछ । पन्छिने भनेको पनि महिनावारी पो रहेछ । अस्तिनै आमाले उमेर सानो भए पनि पुरुषहरु ठूलो मान्छे, चोखो मान्छे भनेको पनि महिनावारीलाई लिएर पो रहेछ । (पृ. ४९)
साक्ष्य ४.
खासमा बाबा त बिहानै आउनु भएको थियो । नालीबेली सबै थाहा थियो । पारुल दिदीलाई मेरी प्यारी भान्जी भनेर चेप्रो घसेर नसक्नेले आज भान्जीलाई घरभित्र राख्न सकिन्थेन ?
मचाहिँ कत्ति न बाबालाई केही थाहा छैन । सबै कुरा भन्छु अनि बाबाले दिदीलाई भित्र ल्याइहाल्नु हुन्छ भन्ने आश गरेर अनामिका दिदीसँग पिसाब फेर्ने बहाना गरेर जुक्ति लगाउन आएकी । खुब आफूलाई कति न बाठी सम्झेकी भनेर आफैँले आफैँलाई गाली गर्न मन लाग्यो । मेरो जुक्ति त पानीको फोका फुटेझैँ भयो । (पृ. ४१)
साक्ष्य ५.
‘यिनीहरुले केही नभनेकाले महिनावारी बार्नु ठिकै हो भनेर तिम्री मामुलाई बार्न लगाएँ । फुपूलाई बार्न सिकाएँ । अहिले पारुलले सिकी । अब तिमीलाई बार्न लगाउनका लागि तिमी ब्रतबन्धमा रिसाउँदा पनि मैले वास्ता गरिनँ । ब्रतबन्धदेखि तिमी हामी सबैसित टाढाटाढा हुँदा पनि भए होस् भनेर जिद्दी कसेर बसेँ ।’ आमा बोलिरहनु भयो । (पृ. ६४)
तिमी कति सरल तरिकाले कुरालाई बयान गर्दिरहिछौ भन्ने मैले हेक्का नै राखेको रहेनछु । त्यसको पुष्टि माथिका साक्ष्यहरुले गरेका छन् भन्ने ठान्छु म । तर पाँचौँ साक्ष्यमा हजुरआमा त्यति सजिलै चलिआएको चलन तोड्न कसरी सफल हुनुभयो ? यो भने मैले अलिक बुझिनँ । आफ्ना छोराबुहारीलाई कति विश्वास गर्नसक्नुभएको हो नि ? यसका बारेमा अलिकति बहस गर्नुपर्ला कि ? थप पुष्टि गरेको भए अझ राम्रो हुन्थ्यो भन्ने कुरा मात्र क्या !
मलाई लागेको कुरा नि राधा,
तिमी त स्वास्थ्य क्षेत्रमा काम गरेकी महिला । तिम्रो सङ्गत त्यस्तै बालिका, किशोरी, युवती र प्रौढ महिलासँग पनि भएकै छ । मचाहिँ विगत तीस वर्षभन्दा बढी समयदेखि भाषा शिक्षणमा लागेको शिक्षक हुँ । मेरो पनि बालबालिकादेखि लिएर प्रौढाहरुसँग बसउठ हुन्छ । मैले भेटेका किशोरीहरुले तिम्रो उपन्यासको मुख्य पात्र एलिनाले जस्तो परिपक्व भाषा प्रयोग गर्दैनन् । अझ तिमीले उसलाई पोस्ट कोभिड पात्रका रुपमा उभ्याएकी रहिछौ । तिमीले उसको बासस्थान काठमाडौँको रिङरोडबाहिर बस्ती देखाएकी रहिछौ । त्यहाँकी एउटी ११ वर्षकी किशोरीको यति परिपक्व भाषा कहाँ भेट्यौ हँ ?
साक्ष्य १.
दिदीभन्दा म एक वर्षमात्र सानी हुँ । दिदी १२ र म ११ वर्ष । दिदीलाई छोएकै आधारमा सबैले मलाई पनि पनि छिछि र दूरदूर गरे । महिनावारी भएपछि मलाई पनि के बाँकी राख्छन् ? (पृ. ४७)
साक्ष्य २.
बाबाको बालाई हामी सबैले बा नै भन्छौँ । उहाँ हामीबीच नहुनु भएको पनि धेरै नै भयो । झन् मैले त सम्झँदा पनि सम्झन्नँ । ताते–ताते गर्ने बेलाको कुरो कसले सम्झन्छ र भन्या ? फोटोको भर न हो । (पृ. ८)
साक्ष्य ३.
साँघुरो गल्लीमाथिको आकाश पनि एक टुक्रामात्र देखिन्थ्यो । जति साँघुरो गल्ली थियो, त्यति नै सङ्कुचनमा परेको थियो उहाँहरुको अस्तित्व पनि । अपमानको पहाडले थिचिएर कन्चटमा चिटचिट पसिना आइरहेको थियो । (पृ. ३७)
साक्ष्य ४.
नफुट्ने, नबिलाउने, नहराउने खत त पारुल दिदी, अनामिका दिदी र मेरो मनमा मात्रै हुने भयो । ब्रतबन्ध नामको घाउको खत । जिन्दगीभर नमेटिने खत । (पृ. ४१)
म यहाँ तिम्रो उपन्यासबाट साभार गरिएका साक्ष्यका आधारमा प्रश्न सोध्दै छु । पहिलो साक्ष्यमा उठाएको कुरामा म सहमत छु, किनकि यसको अन्तिम वाक्य तिम्रो गुरु वाक्य हो । तिम्रो उपन्यास यसैको वरिपरि घुमेको छ । दोस्रो साक्ष्यमा यति महत्वपूर्ण उसले सजिलै कसरी भनी ? भन्ने हो । त्यस्तै तेस्रो साक्ष्यमा प्रयोग भएको काव्यात्मक वाक्य त एउटी एघार वर्षे किशोरीले बोल्नै सक्तिन । त्यस्तै चौथो साक्ष्यमा भएका कुरा उसले उठाउन सक्छे, तर त्यसरीचाहिँ अलिक होइन भन्ने निष्कर्ष हो मेरो ।
मेरो मनभित्र केही प्रश्नहरु अडेका छन्, के किशोर उपन्यासका पाठक छन् ? यी किताबहरु ती किशोरीहरुसँग पुग्छ चाहिँ कसरी ? तिमीसम्म तिनका प्रतिक्रिया आएका छन् कि छैनन् ? यसका उत्तर मलाई जुन कुनै माध्यमबाट पठाउँदा पनि हुन्छ । अन्त्यमा, तिमी आफ्नो मिसनमा अडिग छौ । तिम्रो मिसनको लागि शुभकामना । कृतिको सफलताको कामना पनि । अहिलेलाई यत्ति ल ।
उही बी.एड्.कालीन साथी
रमेश प्रभात ।





