(यो आलेख गजल मञ्च चितवनद्वारा आयोजित गजल उत्सव, २०८२ मा विमोचित तीन कृतिहरुको टिप्पणी प्रस्तुत गर्ने क्रममा मिति २०८२ साल असार २१ गते शनिबार चितवन मा.वि.मा प्रस्तुत गरिएको थियो ।)
सुरुमा अलिकति गजलका कुरा
भावकगण, यहाँले जीवनमा पहिलो गजल कहिले पढ्नुभयो ? अनि पहिलो गजलचाहिँ कहिले र कुन सुन्नुभयो ? हिन्दीका जगजीत सिँह, चित्रा सिँह, पङ्कज उधास कि अरु कुनै ? अनि नेपालीमा नि ? तिलकसिँह पेलाभन्दा पहिला नेपाली गजल कत्तिको मन पराउनुभयो ? अनि सन्तोष श्रेष्ठलाई कत्तिको सुन्ने गर्नुभएको छ नि ? यहाँलाई हिजोआजको नेपाली गजल कस्तो लाग्छ ? अनि यहाँले अचेल गजल सुन्ने बानीलाई कायमै राख्नुभएको छ कि छैन ? त्यसो भए गजल पढ्ने कुरा हो कि सुन्ने ? यी प्रश्नहरुको उत्तर दिँदै गर्नुहोला है त ।
म निसमालोचना लेख्ने मान्छे, अब अलिकति स्वसमालोचनाको कुरा गरौँ है । यतिबेला कवि एल् बी क्षेत्रीलाई सम्झन चाहन्छु । उहाँ मञ्चमा उभिएपछि आफ्नाका कविताको समालोचना आफैँ गर्न थाल्नुहुन्छ, त्यसैले अब त स्वसमालोचना पनि चितवनको ब्रान्ड बनिसक्यो । म यो भूमिका किन बाँधिरहेको छु भने म पनि गजल लेख्थेँ, अझै पनि लेख्दै छु, तर आजका दिनसम्म मेरो एउटा पनि गजलको कृति छापिएको छै्रन । एउटा पनि गजल रेकर्ड भएको छै्रन । अब मलाइ तँ गजलकार कसरी भइस् ? भन्नुहोला । फेरि पनि म आफूलाई गजलकार मान्छु, त्यसो भएपछि यो स्वसमालोचना भएन त ?
त्यसपछि चितवनको गजलका कुरा
यहाँलाई राम्ररी थाहा भएको हुनुपर्छ, चितवन आप्रवासीहरुको जिल्ला हो । यहाँ बसोबास गर्ने तेस्रो पुस्ता अझै सक्षम भइसकेको छैन भन्ने लाग्छ मलाई । कतिपय त पहिलो पुस्ता नै पनि छन्, उदाहरणका लागि म आफैँ काफी छु, अनि तपाईं नि ? मेरो बाबा चितवन बसाइँ आउनुभएको भए पनि मेरो जन्म र बाल्यकालका स्वर्णिम दिनहरु पहाडमा बितेको हो । यसरी अन्यत्रबाट चितवनमा बसाइँ आउँदा व्यक्ति मात्र आएन । उनको संस्कार, भाषा, संस्कृति पनि आयो हैन त भावकगण ?
चितवनको साहित्यिक यात्रा पुग नपुग साँढे छ दशकको छ । अनि गजलको नि ? नेपाली गजल २०३५ सालपछि पुनर्जागरणमा आएको भए पनि २०४६ सालपछि बल्ल सशक्त बनेर आयो । हो, त्यही कालखण्डमा चितवनमा पनि गजल लेख्न थालियो । चितवनमा चालीसको दशकको उत्तरार्धमा मात्र गजल लेखिन थालेको हो । यसको सशक्तता भने सिनर्जी र कालिका एफ् एम्को स्थापना पछि मात्र भएको हो भन्ने त यहाँलाई पनि थाहा छ नि ? अनि साठीको दशकमा अभिव्यञ्जना साहित्य प्रतिष्ठानले गरेको गजल प्रतियोगिता, चितवन साहित्य परिषद्ले गरेको गजल प्रशिक्षण र हाम्रो मझेरी साहित्य प्रतिष्ठानले गरेको टिकटमा गजलका बारेमा त यहाँले बिर्सनुभएको छैन होला नि ? चितवनमा गजलले एकताका निकै गति लिएको भए पनि पछि लामो समय धिमा गतिमा अगाडि बढिरहेको छ भन्नेमा त यहाँहरु सहमत हुनुहुन्छ होला नि ? यतिबेला एकै मञ्चमा तीनवटा कृति विमोचन गराएर यसले पुरानो गति पक्रिएको हो कि भन्ने आभाष दिलाएको छ । कि कसो भावकगण ?
अनि त्यसपछि चितवनमा गजलकारका पुस्ता विभाजनका कुरा
साहित्यको चर्चा गर्दा त्यसको कालविभाजन गर्ने र पुस्ता निर्धारण गर्ने पनि प्रचलन छ नेपाली साहित्यमा । यसका केही प्रचलित मापदण्ड पनि छन् । त्यसमा समयलाई मूल आधार मानिन्छ भने समाजमा हुनेगरेका विभिन्न घटनालाई पनि आधार मान्ने प्रचलन छ । त्यही आधारमा कोही अग्रज हुन्छ भने कोही अनुज । उमेर बढी हुँदैमा अग्रज हुने र कम हुँदैमा अनुज हुने भन्ने कुराचाहिँ होइन । कपाल फुल्नुसँग अग्रज हुनुको सम्बन्ध छैन भन्ने ठान्छु म । त्यसो भए, के भयो भने अग्रज भइन्छ ? के भयो भने अनुज भइन्छ ? यसका बारेमा कुनै दिन बहस गर्दै गरौँला । तर लेखनको समयका आधारमा चाहिँ पक्कै छुट्याइएको हो भन्नेमा म ढुक्क छु ।
भावकगण, यहाँ मैले चितवनका गजलको पुस्ता छुट्याउन लागेको छु । यसमा लेखन र सार्वजनिक रुपमा प्रकाशन गरेको समयलाई आधार मानेको छु । यो मेरो वर्गीकरण अन्तिम होइन, यसलाई अस्वीकार गर्ने यहाँलाई पूरापूर छुट छ । मेरो ध्यान नपुगेर तलमाथि भएको भए माफ चाहन्छु । म फेरि पनि भन्छु, कपाल फुल्दैमा अग्रजचाहिँ भइँदैन है ।
विभिन्न पुस्ताका प्रतिनिधि नाम र प्रवृत्तिका कुरा
चितवनका बारेमा मैले अगाडि नै छोटो चर्चा गरिसकेँ । चालीसको दशकमा नेपाली गजलमा नयाँ कृतिहरु छापिन थालेपछि त्यही पढेर चितवनमा पनि गजल लेखिन थालेको हो । त्यतिबेला गोरखापत्र र रेडियो नेपालबाहेक अरु मिडिया थिएनन् । तिनमा गजल आउँदैनथे । अनि कसरी गजलका बारेमा थाहा पाउनु ? भेटिएका कृति पढ्ने र त्यसैलाई नक्कल गरेर गजल लेख्ने प्रचलन चितवनमा पनि थालिएको थियो । यही २०४० को दशकलाई उठान बिन्दु मानेर चितवनको गजललाई निम्न पुस्तामा वर्गीकरण गरिएको छ :
पहिलो पुस्ता
मैले अघि पनि भनिसकेँ, २०४० को दशकको मध्यपछि अर्थात् २०४६ पछि मात्र चितवनमा गजल लेखिन थालेको हो । यो पुस्ताको थालनी कविवर गोविन्दराज विनोदीले गरेका हुन् । यसै पुस्ताका अन्य गजलकारहरु कपिल अज्ञात, हरिहर पौडेल, गोपाल पौडेल र रमेश प्रभात हुन् । यो समयमा कृति गजलको निस्केन, केवल पत्रपत्रिकामा छापिने काम भयो । पछि यिनमा गोविन्दराज विनोदी र कपिल अज्ञातको गजलको कृति छापिएको छ भने गोपाल पौडेलको गीत र गजलको मिश्रित कृति छापिएको भेटिन्छ । यिनीहरुमध्ये हाल हरिहर पौडेल र गोपाल पौडेल गजलमा सक्रिय छैनन्, तर पनि तिनको योगदानलाई बिर्सन भने हुँदैन ।
दोस्रो पुस्ता
२०५० को दशकमा चितवनको गजलले केही फड्को मारेको स्थिति देखिन्छ । यही दशकको उत्तरार्धतिर सिनर्जी र कालिका एफ् एम्को स्थापना भयो । त्यसले गजलमा निकै फड्को मार्न सघायो । सिनर्जी आउनुअघिको पचासको दशकलाई यहाँ मैले दोस्रो पुस्तामा सामेल गरेको छु । यो समयमा कृति नै लिएर आएका धर्म प्रधान अकिञ्चन चितवनको पहिलो गजलकृतिका लेखक बनेका छन् । यसै समयमा गजलमा कलम चलाउने अन्य स्रष्टाहरुमा पुष्प अधिकारी अञ्जलि, गोवद्र्धन पूजा, किसान प्रेमी, युवराज अर्याल, सुरेन्द्र अस्तफल, शभ्भु गिरी निर्दोषजीवन, लेखराम सापकोटा आदि पर्दछन् । यिनहरुमध्ये युवराज अर्याल गुमनाम भएका छन् भने शम्भु गिरी आफूलाई गजलकार मान्दैनन् । अन्य गजलकार भने गजलमा सक्रियतापूर्वक लागेका छन् ।
तेस्रो पुस्ता
वि.सं. २०५० को दशकको उत्तरार्धमा सिनर्जी र कालिका एफ् एम्को स्थापना पश्चात् चितवनको गजलमा बाढी नै आयो । लेखिएका गजललाई तिनमा कार्यक्रम प्रस्तोताले वाचन गर्ने वा लेखक स्वयम्को आवाजमा सुनाउने प्रावधान भएपछि अन्य विधामा कलम चलाएका पाका पुस्तादेखि युवा पुस्ता पनि गजलमा आकर्षित भए । त्यस्ता पाका पुस्ताका स्रष्टा हुन् : प्रेमविनोद नन्दन । उनी आफू मात्र नभएर शीतल कादम्बिनीसँग नारिएर गजलमा सवाल जवाफ लिएर आए, त्यो चितवनको सम्झनयोग्य काम थियो । सिनर्जीको इनर्जी पाएर गजलमा होमिएका तेस्रो पुस्ताका अन्य गजलकारमा धनराज गिरी, केशवराज आमोदी, विमलप्रकाश देवकोटा, सनत अञ्जाम, सजल नयन, विनोद अनुज, विद्या भण्डारी चिराग, विष्णु पुरी सन्यासी, विष्णु तिवारी उषा, राजविफल पौडेल, सरला जोशी, रामकृष्ण अनायास आदिको नाम लिन सकिन्छ । यो पुस्ताको सूची निकै लामो बन्न सक्छ । यतिबेला गजलको बाढी नै आएको हुँदा कतिपय गजलकार त बाढीसँग विलय पनि भइसकेको स्थिति छ । तिनको हिसाबकिताब समयले पक्कै गर्ला ।
चौथो पुस्ता
चितवनको गजलमा २०६० को दशक निकै सशक्त दशक हो । यसको प्रारम्भमै बालकृष्ण थपलियाको सम्पादनमा ‘गजलपथका यात्रीहरु’ (२०६०) नामक संयुक्त गजलकृति निस्कियो । यसको प्रकाशन अभिव्यञ्जना साहित्य प्रतिष्ठानले गरेको थियो । यसमा समेटिएका केही गजलकार पचासको दशकमै गजल लेखेका र केही साठी लागेपछि गजल लेख्न थालेको पनि छन् । मैले यहाँ चौथो भनी वर्गीकरण गरेको पुस्ताका सशक्त गजलकार प्रभाकर पण्डित हुन् तर उनको यतिबेला उनको सक्रियता गजलमा भन्दा अन्यत्र बढी देखिन्छ । यसै समयदेखि गजलमा काम गरेका अन्य आशलाग्दा प्रतिभाहरु अविरत सुमन, द्वारिका नेपाल, अमर न्यौपाने, गोर्खे साँइलो, डी आर पोखरेल, पोषराज पौडेल, इन्द्रप्रसाद रेग्मी आदि हुन् । यीमध्ये कतिपयले अचेल गजलमा कम रुचि दिएको पाइन्छ । यसो हुनुको कारण प्रमुख कारण के हो ? भन्ने बारेमा गजल मञ्चले खोजी गरोस् भन्न चाहन्छु म ।
पाँचौँ पुस्ता
भावकगण, २०७० को दशकदेखि गजलमा लागेकाहरुलाई मैले यहाँ पाँचौँ पुस्ता भनेको छु । यो पुस्ताका सबैभन्दा पाका स्रष्टा लकाश पौडेल हुन्, उनले गजलको कृति नै प्रकाशित गराएका छन् । यो पुस्ताका अन्य गजलकारहरुमा सरगम पारु, प्रमिला सानु, प्रवीण सन्नाटा, मुक्त उदास, सरस्वती पौडेल आदिको नाम लिन सकिन्छ । तिनमा पनि मुक्त उदासको सक्रियता निकै देखिन्छ भने अन्य गजलकारहरु पनि उत्तिकै सशक्तताका साथ काम गरिरहेका छन् ।
छैटौँ पुस्ता
भावकगण, २०८० को दशकसम्म आइपुग्दा चितवनमा युवापुस्ताको सक्रियता निकै कम देखिन थालेको छ । त्यसो +२ सक्ने बित्तिकै विदेशी भूमितर्फ युवापुस्ता पलायन हुनुको असर पनि होला । उमेरले पाका भएर पनि रामलाल कुमाल, समिता पौडेल, प्रेम कँडेल यतिबेला बल्ल गजलमा दिलोज्यानले होमिएका छन् भने देवघाट क्षेत्रका आर एस दुवाडीलगायतका युवापुस्ता पनि यसमा लागि परेका छन् । तिनको लगन कति पछिसम्म जान्छ ? यसका बारेमा भने केही भन्न सक्ने स्थिति छैन । उनीहरुमा आशा जगाउने काम कसले गर्ने होला ?
एउटै मञ्चमा तीन पुस्ताका कृति विमोचनका कुरा
भावकगण, मैले चितवनका गजलकारका पुस्ता विभाजनको खाका प्रस्तुत गरिसकेँ । यो खाका उमेरलाई होइन, लेखन र प्रकाशनलाई आधार बनाएर गरिएको हो भन्ने त यहाँले थाहा पाइसक्नुभयो । यहाँ प्रकाशन भनेर कृतिलाई मात्र आधार नबनाएर पत्रपत्रिकालाई पनि आधार बनाइएको कुरा त बुझिसक्नुभयो होला । त्यसो त सार्वजनिक मञ्चमा गएर वाचन गर्नु पनि आफूलाई प्रकाशित गराउनु हो भन्ने ठान्छु म । कसैले लेखेर डायरीमा मात्र थन्क्याएको छ भने त हामीजस्ता पाठक वा भावकले कसरी थाहा पाउने हैन र ? गजल मञ्चले गरेको गजल उत्सवमा आफैँले प्रकाशित गरेका तीन वटा गजल कृतिको एकैसाथ विमोचन ग¥यो । उक्त कार्यक्रममा विमोचित उक्त तीन कृतिका बारेमा म यहाँ छोटो चिनारी प्रस्तुत गर्दै छु ः
किसानप्रेमीको ‘अञ्जानमा गयौ कि ?’ गजलकृतिको छोटो चिनारी
चितवनमा स्थायी बसोबास गर्ने किसान प्रेमी निवृत्त सरकारी कर्मचारी हुन् । उमेरले पाका र रियाजले खारिएका उनी मूलतः गजलमा समर्पित स्रष्टा हुन् । उनका हालसम्म गजब छ मान्छे (२०६३) र अञ्जानमा गयौ कि ? (२०८२) गरी दुई वटा गजल कृति प्रकाशित भएका छन् । उनका गजलहरु युट्युबमा पनि सुन्न सकिन्छ । उनी स्वतन्त्र लय र बहरमा पनि क्रियाशील गजलकार हुन् ।
उनको आज विमोचित कृति अञ्जानमा गयौ कि ? बहरबद्ध गजलसङ्ग्रह हो । यसमा विविध भावका ८५ वटा गजलहरु समेटिएका छन् । यसमा उर्दूमा प्रचलित विविध खालका ३५ वटा बहरहरुको प्रयोग भएको छ । हरेक गजलको अन्त्यमा स्वरभारसहित बहरको नाम पनि दिइएको हुँदा बहर सिक्न चाहने र बहरका बारेमा अनुसन्धान गर्न चाहनेका लागि यो कृति एउटा उपयोगी सामग्री बनेको छ ।
संस्कृत पिङ्गल छन्दमा कुनै कवितामा एउटा गण वा अक्षरमा परिवर्तन भएमा अर्को छन्द बन्छ तर उर्दूमा त्यसो नभएर त्यही नाममा केही शब्द थपिएर अर्को बहर बन्छ भन्ने जानकारी पनि यसका स्वरभारले गराएको छ । उदाहरणका लागि लघु, गुरु, गुरु हुने चारवटा रुक्नको प्रयोग भयो भने बहरे मुतकारिब मुसम्मन सालिम हुँदो रहेछ भने तीनवटा सोही रुक्न र चौथोमा अन्तिमको अक्षर हटाएर लघु र गुरु मात्र राखियो भने बहरे मुतकारिब मुसम्मन महजूफ हुन्छ भन्ने जानकारी पनि यो कृतिले दिएको छ । हामी बहरमा सामान्य रुचि राख्नेले त बहरे मुतकारिब मात्र भन्ने जानेका थियौँ, तर यसमा गजलकारले त्योबाहेक बहरे मुतकारिब मुसम्मन महजूफ, बहरे मुतकारिब मुसम्मन मुक्बूज, बहरे मुतकारिब मुसम्मन मुख्बुन, बहरे मुतकारिब मुसम्मन असलम मक्बूज, बहरे मुतकारिब मुसम्मन महजूफ, बहरे मुतकारिब मुसद्दस सालिमजस्ता अन्य छवटा भेद पनि देखाइदिएका छन् । यसमा सबैभन्दा बढी बहरे मुतकारिब मुसम्मन सालिमका गजलहरु परेका छन् । यसभित्र यो बहरका पन्ध्रवटा गजलहरु छन् । यसभित्र प्रयोग भएका बहरका बारेमा मात्र छुट्टै आलेख बन्न सक्ने भएकाले यसलाई यहीँ रोक्छु ।
यस कृतिको भूमिकामा गजल अन्वेषक केशवराज आमोदी यस्तो लेख्छन् ः “सूत्रोदाहरणपूर्वक बहरलाई धुरीमा राखेर राष्ट्रिय चिन्तनसहित अधिकतर विप्रलम्भी शृङ्गारमा भावाच्छलन गरिनु यस कृतिको मुख्य प्राप्ति भए पनि प्रेम नै जीवनको उपहार ठान्ने प्रेमीको मृदुल प्रेमिल भावका संवेदनाहरु नारायणीको जलप्रवाहझैँ सलल प्रवाहित भएका छन् ।
कताकति सहज मात्रा गिरावट भएकाले पनि बहरका लयहहरुले भावक–पाठकको हृदयमा अचम्मको मोहनी लगाइरहन्छन् ।”
यहाँ म किसान दाइलाई उनको कृतिको अपार सफलताको कामना गर्दै शीर्ष गजल अञ्जानमा गयौ कि ? बाट तीन शेर सापटी लिएर बधाई दिन चाहन्छु :
“अञ्जानमा गयौ कि, जानेर हौ गएकी
रोजी सुमार्ग आफैँ छानेर हौ गएकी
आँखाभरी समेटी तिम्रो अचम्म सपना
सङ्कल्प रै’छ ठूलो मानेर हौ गएकी
यी नेत्रबाट मोती झार्दै थुनेछु बाटो
बोल्दै नबोली ढोका तानेर हौ गएकी ।” (पृष्ठ, ५३)
रामकृष्ण अनायासको ‘अनायास’ गजलकृतिको सङ्क्षिप्त चर्चा
यतिबेला गजल मञ्च चितवनको अध्यक्षको भूमिकामा रहेका रामकृष्ण अनायास प्रतिबद्ध गजलकार हुन् । यसअघि उनको धमिलिएका डोबहरु (संयुक्त गजलसङ्ग्रह) र अनायासका पानाहरु (इ गजलसङ्ग्रह) हामी माझ आइसकेका छन् । यिनको सद्य प्रकाशित र आज विमोचित अनायास गजलसङ्ग्रह स्वतन्त्र लयका ७० वटा गजलहरु समेटिएका छन् । यी गजलहरु समकालीन जीवनका विविध भावहरु समेटिएका छन् । प्रेम यो कृतिको मूल भाव हो, त्यसैसँग सम्बन्धित प्रेमका बारेमा हुने बजार हल्ला, प्रेममा हुने धोका, उचनीचको भावना आदिलाई पनि चित्रण गरिएको छ । त्यस्तै व्यङ्ग्य, विद्रोह, राजनीति, सामाजिक विकृति र विसङ्गतिको चित्रण पनि यसभित्र पाइन्छ । अहिले समाजको आवाज मुखरित गर्नु यो कृतिको सबैभन्दा सशक्त पक्ष हो ।
यो कृतिको सफलताको कामना गर्दै यस कृतिको पहिलो गजलका तीन शेर शेर सापटी लिँदै उनलाई बधाई दिन चाहन्छु म :
“फकिर हुँ यौटा म हराएको सूचना किन बाँड्छौ
मेरो बेग्लै दुनियाँ छ फेरि दुनियाँसित किन दाँज्छौ
भन्छन् अनायास प्रेम र सराब दुबैले मर्छ भनेर
खै तिमीले यो सम्बन्ध अब कसरी भाँच्छौ
सम्बन्ध जोड्नेलाई मेरो कुटीमा भोकै बस्नु पर्दैन
खुन बेचेरै पानी पिलाउँछु आऊ सम्बन्ध गाँस्छौ ?” (पृष्ठ, १)
सरस्वती पौडेलको ‘प्रत्यूष’ गजलकृतिमाथि थोरै प्रकाश
गजलकार सरस्वती पौडेल विविध प्रतिभाकी खानी हुन् । उनल आफ्नो प्रतिभा आफूभित्र सीमित गरेर राखेकी छिन् । उनी एकै साथ कविता, कथा, नाटक र गजलमा क्रियाशील छिन् । उनको पहिलो प्रकाशित कृति बन्ने सौभाग्य प्रत्यूष गजलसङ्ग्रहले पाएको छ । म उनको साहित्यिक विकासको साक्षी बन्न पाउँदा खुसी लागेको छ । उनी आजका युवापुस्ता जस्तै निराशालाई केन्द्रमा राखेर गजल लेख्छिन् । हुन त देशको अवस्थाले पनि उनमा त्यस्तो भाव आएको हुन सक्छ । म उनलाई अर्को गजलको कृतिमा आशाको भाव जगाउन आग्रह पनि गर्न चाहन्छु ।
गजल मञ्च चितवनको कार्यसमितिमा रहेर सक्रियता जनाइरहेकी सरस्वती पौडेलको पहिलो साहित्यिक सन्तान प्रत्यूष गजलसङ्ग्रहमा विविध भावका ७६ वटा गजलहरु समेटिएका छन् । यसभित्र समेटिएको एउटा गजलमा बहरको प्रयोग भएको छ भने बाँकी ७५ वटा गजलमा स्वतन्त्र लयको प्रयोग भएको छ । यसले समकालीन जीवनलाई नारीको कोणबाट चित्रण गरेको छ ।
यस कृतिको भूमिका लेख्दै चितवनका पहिलो संयुक्त गजलकृतिका सम्पादक बालकृष्ण थपलियाले यस्तो लेखेका छन् ः “गजलकार सरस्वती पौडेलका प्रत्यूषमा पठाइएका १११ गजलमध्ये ७६ वटा गजल छानी तिनमा भावहरु सरसर्ती हेर्दा उमङ्ग, आशा र अपेक्षासँगै उज्यालो हुन लागेको अवस्था वा झिसमिसे अवस्थामै छौँ हामी । सामान्यतया साहित्यका समाजकै प्रतिबिम्ब हुन्छ । सरस्वतीजीले झिसमिसे उज्यालोसँगै समतामूलक समाजको अपेक्षा गर्नुभएको छ ।
सुशासन, पारदर्शी र जवाफदेही शासन व्यवस्थाका माध्यमबाट उज्यालो समाज खोज्नुभएको छ । समुन्नत र खुसी नेपालीको अपेक्षा गर्नुभएको छ । समृद्धि, समुन्नत, खुसी वा सुखी नेपाली भन्न सजिलो छ । तर आम जनताले अनुभूति हुने किसिमले समुन्नत नेपाली बनाउन अझै धेरै मिहिनेत र इमान्दार प्रयास जरुरी छ । कुनै कुनै गजलमा त्यसको झल्को आउँछ पनि ।”
बहिनी सरस्वतीलाई पहिलो कृतिको अपार सफलताको शुभकामना दिँदै पहिलो गजलका तीन शेर सापटी लिँदै हार्दिक बधाई दिन्छु म :
“मलाई वर्षौँवर्ष लागेको हो मनमा संसार बनाउन
तिमीलाई निमेष लागेन त्यो संसार अँगार बनाउन
तिमीलाई हो ढुङ्गाबाट मान्छे बनाउन नसकेको
सजिलो छ बरु ढुङ्गालाई मान्छेको आकार बनाउन
बाबाको नामको तमसुक छोराले च्यात्नै सकेन अझै
साहुलाई सजिलो बनेको छ सयलाई हजार बनाउन ।”
अन्त्यमा गजलमञ्चलाई धेरै धेरै बधाई तथा शुभकामना
यतिबेला चितवन पुनः गजलमय बनेको छ । यसमा गजल मञ्च चितवनसँगै हातेमालो गरेर अक्षर समूह चितवन, कविडाँडा समाज, हाम्रो मझेरी साहित्य प्रतिष्ठानहरु लागि परेका छन् । गजल मञ्चले एकपछि अर्को धमाकेदार प्रस्तुतिहरु दिइरहेको छ, यसैको गतिलो उदाहरण २०८२ साल असार २१ गतेको गजल उत्सव पनि हो । गजलकेन्द्री यस्ता कार्यक्रमहरु निरन्तर भइहून् भन्दै उक्त संस्थाको अपार सफलताको शुभकामना र मुरी मुरी बधाई दिँदै अहिलेलाई बिदा लिन्छु । शुभमस्तु ।