भरतपुर, १२ असार ।
निबन्धकार रामचन्द्र पाठकको नवीनतम् निबन्धसङ्ग्रह `स्व:उद्यम´ लोकार्पण भएको छ। भरतपुर १० स्थित सगुन पार्टी प्यालेसमा एक कार्यक्रमका बिच उक्त संग्रहलाई सार्वजनिक गरिएको हो । महाकालेश्वर टोल विकास संस्थाका अध्यक्ष एकनारायण पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी रहनुभएको थियो । पूर्व सांसद विजय सुवेदी तथा वडा नम्बर १० का वडाध्यक्ष परमेश्वर खनाल विशिष्ट अतिथिका रुपमा रहनुभएको उक्त कार्यक्रममा साहित्यकार एलबी क्षेत्री, होमनाथ सापकोटा, डिआर पोखरेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेती, साहित्यकार केदारनाथ खनाल, डाक्टर धनेश्वर भट्टराई, रमेश प्रभात, तेज कार्की, रामचन्द्र लम्साललगायतका साहित्यकारहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा टोल विकास संस्थाकी उपाध्यक्ष बिन्दु खनाल सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने परिवारजनका तर्फबाट लेखकका छोरा दीपक पाठकले धन्यवाद प्रकट गर्नुभएको थियो । कवि विपिन पाठकले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सङ्ग्रहमा रहेका निबन्ध विभिन्न आयामका र मौलिक शैलीमा रचना गरिएका छन् । पूर्व जनस्वास्थ्य प्रमुखका रूपमा रहनुभएका पाठक सेवानिवृत्त भएसँगै लेखनमा सक्रिय रहँदै आउनुभएको छ । निबन्धकार पाठक भरतपुर निवासी हुनुहुन्छ ।





