कवि तीर्थ श्रेष्ठलाई चिठी

आषाढस्य प्रथम दिवसे, २०८२
भरतपुर, चितवन ।

आदरणीय कवि तीर्थ श्रेष्ठमा,
एउटा जबरदस्त पाठकको नमस्कार ।

यता चितवनतिर म ठिक छु, अरुको बारेमा मलाई थाहा छैन । उता पोखरातिरचाहिँ यहाँलाई कस्तो छ कुन्नि ? आफ्नो स्वास्थ्यको बारेमा ख्याल राख्नुहोला है । भनिराख्नु नपर्ला, म यहाँको कविताको जबरदस्त पाठक हुँ । सुरुमा मलाई यहाँको ‘लाहुरे फूल ! म तिम्रो नाम फेर्न चाहन्छु’ कविताले पागलजस्तै बनाएको थियो । त्यसपछि मैले यहाँका कविताहरुलाई पछ्याउँदै आएको हुँ । अझ एम्.फिल्. पढ्दा यहाँको ‘हिउँमा लेखिएका नामहरु’को विभिन्न कोणबाट अध्ययन गरेपछि त म यहाँका कविताको डाइहार्ट फ्यान भएको हुँ । अझ भनौँ, मलाई नेपाली गद्यकवितामा भूपी शेरचनको ‘मेरो चोक’ र यहाँको ‘हिउँमा लेखिएका नामहरु’ बाहेक अरु कुनै पनि कविता पूरै कण्ठस्थ छैन भन्नुपर्दा कत्ति पनि हीन ठान्दिनँ । हो, म आफू पनि कविता लेखिटोपल्ने भए पनि आफ्नै कविता पनि कण्ठस्थ छैन मलाई ।

यो, सूचना र प्रविधिको जमानामा पनि म पुरानै पाराको चिठी लेखिरहेछु । चिठी लेख्नुको मजा जो बेग्लै छ । उतिबेला चिठीबाहेक अरु सुविधा थिएन हामीलाई हैन त दाजु ? अझ एउटा सानो मान्छेलाई आइकनका सामुन्नेमा सबै कुरा भन्न नसकिँदो रहेछ । त्यसमा पनि एउटा सामान्य पाठकले लेखकलाई भेट्यो भने त उसको मुखबाट वाक्य नै छुट्दैन भन्ने कुरा मलाई जति कसलाई थाहा होला ? त्यसो त म यहाँको मात्र नभएर सिङ्गै पोखराको फ्यान हुँ । मलाई सरुभक्त दाजु, रमेश श्रेष्ठ दाजु, रोशन शेरचन दाजुजस्ता अग्रज र भूपिन, सरस्वती प्रतीक्षा, दीपक समीपजस्ता समवयीको याद पनि दिलाउँछ पोखराले । तर यतिबेला म केवल हजुरमा केन्द्रित हुँदै छु । मैले भर्खरै यहाँको पछिल्लो कविता कृति ‘हिउँमा लेखिएका नामहरु’ पढेर सकेँ, हुन त अलिक अगि यहाँको ‘धर्सैधर्साको चक्रव्यूह’ पनि पढेको हुँ । यतिबेला भने मैले यहाँको पछिल्लो कृति ‘हिउँमा लेखिएका नामहरु’ पढेको रन्कोमा यो पत्र कोरेको हुँ ।

आदरणीय तीर्थ दाजु,

मैले अगि नै भनिसकेँ मलाई यहाँको कविता ‘हिउँमा लेखिएका नामहरु’ कण्ठस्थ छ । सरलता र गहनता नै यसको शक्ति हो भन्ने लाग्छ मलाई । यसलाई अझ पुष्टि होस् भनेर हो कि किताबको आवरणमै पूरै कविता राखिएको रहेछ ः
हामीले
लेखेर आएका छौँ
हिउँमा आ–आफ्ना नामहरु

एकछिनपछि हिउँ थपियो भने
रहने छैनन् हाम्रा नामहरु
एकछिनपछि घाम लाग्यो भने पनि
बाँकी रहने छैनन् हाम्रा नामहरु
हामी रहँदारहँदै
नरहने हाम्रा नामहरु
हामी नरहँदा
कसरी रहलान् हाम्रा नामहरु !

हामीले
लेखेर आएका छौँ
हिउँमा आ–आफ्ना नामहरु !
यो कविताका यी शब्दहरु मलाई वेदका मन्त्रजस्ता लाग्छन् । यसमा म सिङ्गो जीवनको अस्तित्व पाउँछु । यो कविता जति पढे पनि अघाउन्नँ म । साँच्चै तीर्थ दाजु, यस्ता मार्मिक शब्दहरुचाहिँ कसरी फुर्‍यो हँ ?

अनि नि तीर्थ दाजु,

बुक हिल पब्लिकेशनले यहाँको पछिल्लो कविता कृतिका ‘हिउँमा लेखिएका नामहरु’का बारेमा यस्तो लेखेको रहेछ ः “हिउँमा लेखिएका नामहरु उनका उत्कृष्ट कविताहरुको सङ्कलन हो ।” अनि यहाँले पनि “यो सङ्ग्रहका लागि कविताहरु चयन गरिदिएकोमा प्रिय सरस्वती प्रतीक्षालाई धन्यवाद !” भन्नुभएको रहेछ । मैले कत्ति पनि नबुझेको एउटा कुरा सोधेँ है, कवि स्वयम् सक्रिय छँदैमा अरुले चयन गरिदिएको कुरा कसरी प्रतिनिधि बन्छ ? म बबुरोलाई बुझाइदिने कष्ट गरिदिनु हुन्थ्यो कि ? ?

अनि अब तपाईंको कविताका कुनै नयाँ कृति आउँदैनन् र ? यदि आए भने ती कविताहरुचाहिँ अप्रतिनिधि हुन् ? हामीले ती कवितालाई कुन तहमा राखेर हेर्ने हो ? यसका बारेमा पनि हामी पाठकहरु बुझ्न चाहन्छौँ । हामीलाई बुझ्ने हक त छ नि ?

साँच्चै तीर्थ दाजु,

हिजोआज नेपाली कविताका कृतिलाई हार्डकभरमा छाप्ने प्रचलन बढ्दो छ । यसका बारेमा यहाँलाई कत्तिको हेक्का छ । कभर हार्ड भएपछि मूल्य पनि हार्ड नै हुँदो रहेछ । हामी पाठकलाई त पढ्नसँग सरोकार छ । कभर कस्तो छ ? भन्ने कुराले त्यति प्रभाव नपार्दो रहेछ । यहाँको ‘हिउँमा लेखिएका नामहरु’ कृतिमा जम्मा ५८ वटा कविताहरु समेटिएका रहेछन् । ती सबै पहिल्यै पढिसकेका कविताहरु नै रहेछन् । प्रतिनिधि जो भनिएको छ, त्यसैले त्यसका बारेमा थप केही बोल्न चाहिनँ मैले ।

यो कृतिको आउटलुक राम्रो छ, चयन गरिएका कविताहरु सुन्दर छन् । जम्मा ९७ पृष्ठमा कविता सकिएको छ, एक घन्टामा सिङ्गो कृति पढेर सकिन्छ । यतिसम्म त उत्तम छ । तर यसको खत्तम कुराचाहिँ मूल्य हो । ९७ पृष्ठको किताबको मूल्य ६००÷– रुपैयाँ राखेर ब्रम्हलूट किन मच्चाएको होला ? के कविताका कृति छाप्दा प्रकाशकले जति पनि मूल्य राख्न पाउने हो ? यसको कति प्रतिशत यहाँले रोयल्टी पाउनुभयो ? हामी पाठकले जति पनि मूल्य तिरेर पढ्नुपर्ने हो ? यहाँ त परिवर्तनका लागि जीवन आहुति दिन पनि तयार भएर लाग्नुभएको व्यक्ति पनि भएको नाताले प्रकाशकको ब्रम्हलूटबाट हामी पाठकलाई मुक्त गराउन केही भूमिका खेल्नुपर्दैन र भन्या ?

र अन्त्यमा तीर्थ दाजु,

मलाई तपाईंसँग गुनासो गर्नुपर्ने कुरा नेपाली लेखक सङ्घको लम्पसारवादका बारेमा चाहिँ अर्कोचोटि विस्तृतमा लेखूँला । हामी साहित्यप्रेमीहरु कुनै पार्टी, गुट वा उपगुटमा लाग्ने प्रचलन हटाउनुका सट्टा त्यसको पाउमा लगेर सुताइदिने तपाईंको नियतमाथि चाहिँ किन शङ्का नगर्ने ? यसको उत्तरचाहिँ सोच्दै गर्नुहोला ।

मलाई भलिभाँती थाहा छ, यहाँ केही नगरी बस्न सक्ने मान्छे होइन, अझ कविता नलेखी त पक्कै पनि बस्न सक्नुहुन्न । अन्त्यमा यहाँको सुस्वास्थ्यको कामना गर्दै यहाँबाट छिट्टै अर्को कविताको नयाँ कृति आओस् भन्ने कामना गर्दै कलमलाई विश्राम दिन्छु । नमस्कार ।

यहाँको शुभचिन्तक र निरन्तरको पाठक
रमेश प्रभात, चितवन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट