हरियो टिसर्ट
हरियै टोपीमा
हातमा पञ्जा लगाएर
कनीकनी कुचो समाउँदै
सेल्फी खिचिरहेको छ
यो देशको तन्देरी
तालुकवाला अड्डाको फेर समाउँदै
ङिच्चङिच्च दाँत देखाएर
मालिकत्व स्विकारी रहेछ राष्ट्रसेवक
युट्युवरहरु
व्यस्त छन् अन्तर्वार्तामा
हरियो वन नेपालको धनको नारा
उचालिएको छ एकाएक
टेलिभिजनका पर्दाहरूमा
हरियोकै दृश्यहरू
एमएम रेडियोहरूले
गाइरहेछन् निरन्तर हरियोकै गीत
सडकमा दौडिएका छन् ब्रुमरहरू
भगवानहरूका हात हातमा छन्
कुचो , गैँची र प्लेकार्ड र ब्यानरहरू
सहरले ओढेको छ हरियो सिरक
सडकले ओछ्याएको छ हरियो तन्ना
उडिरहेको छ व्योममा
एउटै आलाप
“ पृथ्वी हाम्रो साझा घर हो “
अलिपरको सडकमा बसेर
हेरिरहेछु सारा दृश्यहरू
लागिरहेछ
यो बिहानीरूप
सदासदाको बिहानी हुने छ
एक्कासि
शयनकक्षभित्र
टिपरले उडाएको एकमुठी धुलो
मेरो श्वासनली हुँदै फोक्सोमा पुग्छ
दुवै फोक्सो एकैचोटि कराउँछन्
“ ए बुद्दु , छिटो उठ
ढिलो भइसक्यो
सारा मानिसहरू वातावरण दिवस मनाइरहेका छन् ।





