भरतपुर, २१ जेठ ।
गजलकार सरस्वती पौडेलको पहिलो गजलसङ्ग्रह ‘प्रत्यूष’ सार्वजनिक हुने भएको छ । गजल मञ्च चितवनको प्रकाशन तथा सम्पूर्ण किताब नारायणगढको वितरणमा बजारमा आउन लागेको यस कृतिले समकालीन नेपाली गजल साहित्यमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
महिलाकस संवेदना, दृष्टिकोण र अनुभूतिलाई केन्द्रित गर्दै लेखिएका गजलहरुले प्रेम, विछोड, समाज, आत्मसङ्घर्ष र अस्तित्वको गहिरो चित्रण गर्ने प्रयास गरेको छ ।
सङ्ग्रहको सम्पादन गजलकार /समालोचक रमेश प्रभातले गरेका छन् । गजल मञ्च चितवनले यस पुस्तकलाई प्रकाशन गर्न लागेर महिला स्रष्टाको सिर्जनात्मक यात्रामा थप ऊर्जा प्रदान गरेको प्रभातले बताए ।
गजल मञ्च चितवनका सल्लाहकार एवं निवर्तमान अध्यक्ष लेखराम सापकोटाले यस कृतिले महिला स्वरको मजबुत उपस्थिति नेपाली गजलमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले यस गजलसङ्ग्रहलाई समकालीन गजल साहित्यमा स्तरीय र पठनीय कृति हुने ठम्याइ गरेका छन् ।
पुस्तकको आवरणमा प्रयोग गरिएको चित्रले एउटा महिला आकृति र त्यसको वरिपरि फैलिएको प्रकाश–अन्धकारको समिश्रणमार्फत गहिरो अर्थ संकेत गर्छ । आवरणमा रहेको प्रतीकात्मकता स्वयं पुस्तकका विषयवस्तुसँग मेल खाने खालको छ, जसले भावनात्मक तथा सौन्दर्यात्मक पक्षलाई समेत उजागर गर्दछ ।
गजल मञ्च चितवनद्वारा प्रकाशित पुस्तकको बिक्रीवितरण सम्पूर्ण किताब, नारायणगढमार्फत हुनेछ । पुस्तकको मूल्य रु. २५१ तोकिएको छ । प्रकाशकका अनुसार पुस्तक जेठ महिना मै सार्वजनिक गर्नेगरी तयारी अन्तिम चरणमा पुगेको छ ।
गजलकार सरस्वती पौडेल नेपाली गजल साहित्यमा लामो समयदेखि सक्रिय रहेकी छन् । यस कृति ‘प्रत्यूष´ मार्फत उनले नेपाली गजल विधामा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने अपेक्षा गरिएको छ ।
‘प्रत्यूष’ केवल गजलहरूको सङ्ग्रह मात्र नभएर यो महिलाको आत्मा, आवाज र अस्तित्वलाई गजलको मीठो लयमा पस्किएको साहित्यिक दस्तावेज बन्नेछ ।




