चितवन, २० जेठ ।
विश्व रक्तदाता दिवस – २०२५ को विशेष अवसरमा नेपालमै पहिलोपटक ऐतिहासिक रक्तदान महोत्सव यही जेठ ३१ गते (जुन १४) भरतपुरस्थित उद्योग संघको सभाहलमा आयोजना हुँदैछ । ब्लड डोनर्स सोसाइटी नेपाल, जिल्ला शाखा चितवनको आयोजनामा हुन लागेको यो कार्यक्रमले स्वेच्छिक रक्तदानको संस्कृति मजबुत बनाउने उद्देश्य लिएको छ ।
कार्यक्रममार्फत १५०० युनिटभन्दा बढी रगत संकलन गर्ने लक्ष्य राखिएको छ भने ५००० भन्दा बढी नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने तयारी गरिएको छ । रक्तदान कार्यक्रमसँगै सहभागीहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण, रक्त समूह पहिचान, नयाँ रक्तदाता सम्मानजस्ता गतिविधिहरू पनि समावेश गरिनेछन् ।
युवालाई सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्ने लक्ष्य
यस महोत्सवको मूल भावना युवा पुस्तालाई मानव सेवा र सामाजिक उत्तरदायित्वप्रति जागरुक बनाउनु हो । “स्वेच्छिक रक्तदान भनेको मानवताको उच्चतम अभ्यास हो । आजको दिन हामी रगतदाताहरूको सम्मान मात्र होइन, भावी पुस्ताको प्रेरणाको बीजारोपण पनि गरिरहेका छौं,” आयोजक संस्था व्लड डोनर्स सोसाइटी नेपाल, जिल्ला शाखा चितवनका अध्यक्ष एकराज बुर्लाकोटीले बताए ।
उनका अनुसार देशको जुनसुकै कुनाबाट पनि इच्छुक व्यक्तिहरूले महोत्सवमा सहभागी भई रक्तदान गर्न सक्नेछन् । “रक्तदान एउटा साहसी र संवेदनशील निर्णय हो । हामी प्रत्येक नेपालीलाई यसको महत्त्व बुझ्न प्रेरित गर्न चाहन्छौं,” उनले भने ।
सहभागितामार्फत उदाहरणीय समाज निर्माण
संस्थाका सचिव विपिन पाठकले रक्तदानलाई समाजसेवाको स्थायी संस्कृति बनाउनु आवश्यक रहेको बताए । “आज हामीले एक दिनका लागि रगत दिएर कसैको जीवन बचाउन सक्छौं, तर यो अभ्यास निरन्तर भइरहनुपर्छ । हामी यस्तो अभियान चलाइरहेका छौं, जसले समाजमा दीर्घकालीन चेतना फैलाउनेछ ।,” सचिव पाठकले जोड दिए ।
उनले यस महोत्सवलाई एउटा परम्परा बनाउने योजना रहेको पनि खुलासा गरे । “चितवनबाट सुरु भएको यो ऐतिहासिक पहललाई हामी राष्ट्रिय अभियानका रूपमा विस्तार गर्दैछौं,” उनले थपे ।
रक्तदान गर्न इच्छुक व्यक्तिहरूका लागि अनलाइन फारम भर्नुपर्ने व्यवस्था गरिएको छ । फारममार्फत दाताको पूर्वसूचना संकलन गरी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्य लिइएको छ ।
यस प्रकारको ऐतिहासिक रक्त महोत्सवले देशभर रक्तदानको चेतना अभिवृद्धि गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।





