कस्तो छ त राजन पौडेलको मुक्तकसङ्ग्रह ‘अनिदो मन’ ?

`अनिदो मन’का मुक्तकमा के छ ?

पाठकवृन्द, ‘अनिदो मन’ राजन पौडेलको पहिलो एकल कृति हो भने यसको प्रकाशन उनकै धर्मपत्नी वन्दना पौडेलले गरेकी हुन् । सुरुमा यो कृतिको बाहिरी सौन्दर्यको कुरा गरौँ है । हरेक पृष्ठमा दुई दुईवटा मुक्तक राखी डिमाइ साइजका कूल १२५ पृष्ठमा जम्मा २३० वटा मुक्तकहरु समेटी यो कृति तयार भएको छ । हार्ड कभरमा हल्का पहेँलो रङको वेट लेस पेपरमा छापिएको यो कृति बाहिरी रुपमा हेर्दा सुन्दर देखिन्छ ।

मेरो विचारमा कृतिलाई बुझ्न बाहिरी रुपले मात्रै पुग्दैन त्यसको अन्तर्यमा जानुपर्छ भन्ने ठान्छु म । समीक्षकभन्दा पनि खासमा म एउटा पाठक भएका नाताले पनि कृतिको मूल्याङ्कन त्यसभित्रको सामग्रीका आधारमा हुनुपर्छ भन्ने ठान्छु । राजनको मुक्तकमा निराशा अधिक छ, त्यो समकालीन युवामा पाइने साझा विशेषता पनि हो । यसभित्र निराशा मात्र होइन, आशा, प्रेम, प्रणय, वीरता, उत्साह, पुर्खाको गान, बुद्धको सम्मान, आमाको महिमा, बहिनीको माया, परदेशको पीडा, घरदेशको सम्झना, गाउँको याद, सहरको बेथिति, जीवन, दर्शन, व्यङ्ग्य, विद्रोहलगायतका विविध भावहरुको माला बनाइएको छ । तिनको छोटो चर्चा केही साक्ष्यका साथमा गरिएको छ ।
जम्मा २३० वटा मुक्तक रहेको यो कृतिको सुरु निराशाबाट गरिएको छ भने यसको अन्त्य पनि निराशामा लगेर गरिएको छ । यसका लागि पहिलो र अन्तिम मुक्तक हेरौँ :
पहिलो मुक्तक :
फूलहरुको मधुर सुवास पनि मन पर्न छोड्यो मलाई
आफन्तीको मायालु आभास पनि मन पर्न छोड्यो मलाई
यथार्थमा जिउन सिकेदेखि हर चिज बदलिँदो रहेछ
सपना देखाउने आकाश पनि मन पर्न छोड्यो मलाई । (पृ. ११)
माथिको मुक्तकमा फूलको सुवास, आफन्तीको मायालु आभास र सपना देखाउने आकाशजस्ता कुरा पनि मन पर्न छोडेको कुरा गरिएको छ । सिर्जनामा यस्तो खालको भाव आउनु भनेको निराशाको पराकाष्ठा हो । त्यस्तै अन्तिम मुक्तक यस्तो छ :
अन्तिम मुक्तक :
मेरो आफ्नो कुनै रहर छैन
मैले नपिएको कुनै जहर छैन
र पनि कति अभागी रहेछु म
सपना फुलाउने कुनै सहर छैन । (पृ. १२५)
माथि साभार गरिएको मुक्तकमा पनि आफ्ना कुनै रहर नभएको र सपना फुलाउने सहर नभएको कुरा गरिएको छ । जब मानिससँग सपना फुलाउने कुराको अभाव हुन्छ, तब उसमा के आशाको कुरा गर्न सकिन्छ र ? यस्ता निराशा आजका युवामा बढ्दै गएको सङ्केत पनि यो कृतिले गरेको अनुमान गर्न सकिन्छ ।
राजनका मुक्तकमा निराशा मात्र छैन, कताकति आशाको सङ्केत पनि पाउन सकिन्छ । त्यसका लागि हेरौँ एउटा मुक्तक :
आँखाभरि सपना झुलाएर बाँचिरहेछु
रहरको सगरमाथा चुलाएर बाँचिरहेछु
एक मुठी विश्वास छरेर हृदयको बारीमा
सम्झनाको बहुमूल्य फूल फुलाएर बाँचिरहेछु । (पृ. ३१)
माथि साभार गरिएको मुक्तकमा आँखाभरि सपना झुलाएको, रहको सगरमाथा चुलाएको र हृदयमा सम्झनाको फूल फुलाएको कुरा गरिएको छ । यस्तो हुनु भनेको आशाको खेती गर्नु हो । यसले मान्छेलाई जस्तोसुकै अवस्थामा पनि केही गर्ने प्रेरणा दिन्छ । यस्तै उनी आफ्नो मुक्तकमा प्रेमलाई यसरी चित्रण गर्छन् :
उस्तै जीवन्त यादमा छौ तिमी
प्रेमको अनन्त वर्षात्मा छौ तिमी
मायालुपनको मिठो आभास बोकेर
मुटु चिमोट्ने रङ्गीन प्रभातमा छौ तिमी । (पृ. २०)
माथिको मुक्तकमा एटा प्रेमीले आफ्नी प्रेयसीलाई हरदम सम्झना गरेको कुरा छ, त्यसैले यो प्रेमिल मुक्तक हो । त्यस्तै उनी आफ्नो मुक्तकमा आफ्नी प्रेमिकालाई फूलझैँ फक्रेको हेर्न चाहेको कुरा यसरी मुखरित गर्छन् :

तिम्रो जीवन फूलझैँ फक्रिएको हेर्ने रहर छ मेरो
तिमीलाई हरदम मायाको डोरीले बेर्ने रहर छ मेरो
जुनीजुनी हजारौँ जुनीसम्म प्रेमको जीवन्त मसीले
हृदयको खाली पानामा तिमै्र नाम केर्ने रहर छ मेरो । (पृ. २७)
माथिको मुक्तकमा प्रेमकै महानतम् वर्णन पाइन्छ । हृदयको खाली पानामा उनको नाम केर्ने रहर हुनु भनेको प्रेममा गरिने प्रतीक्षाको चित्रण हो । उनी आफ्नो मुक्तकमा प्रेममा हुने प्राप्ति मात्र नभएर विछोडलाई पनि यसरी चित्रण गर्छन् :
नौ डाँडा काटेर जानेलाई म के भनूँ
आउँछु भनी ढाँटेर जानेलाई म के भनूँ
मायाका मिठामिठा सपनाहरु देखाउँदै
जानीजानी मुटु साटेर जानेलाई म के भनूँ । (पृ. ३५)
माथिको मुक्तकमा जानीजानी अर्कैसँग मुटु साटेर जाने प्रेमिकाको यादलाई चित्रण गरिएको छ । यसरी विछोड सहेर बस्ने कुरा मात्र होइन, उनको मुक्तकमा उत्साहको भाव पाइन्छ । उदारहरण लागि हेरौँ एउटा मुक्तक :
प्रत्येक हारहरुलाई जित बनाउँछु म
मेरा सबै शत्रुहरुलाई मित बनाउँछु म
अनुपम अलौकिक प्रेमको माधुर्यता घोलेर
यो जिन्दगीलाई मिठो गीत बनाउँछु म । (पृ. १२)
माथिको मुक्तकमा हारलाई पनि जित बनाउने कुरा गरिएको छ, त्यस्तै शत्रुलाई मित बनाउनुका साथै जस्तो अवस्थामा रहे पनि जिन्दगीलाई मिठो गीत बनाउने कुरा गरिएको छ । यस्तो भाव उत्साह र आशाको भाव हो । त्यस्तै उनी आफ्नो मुक्तकमा वीर पुर्खालाई सम्झँदै आफूमा वीरताको भाव पनि यसरी भर्ने गर्छन् :
वीर नेपालीहरुको अदम्य साहस र पहिचान खोज्दै छु
बलभद्र र अमर सिंहको निश्चल स्वाभिमान खोज्दै छु
दुनियाँको कुनै तागतले कहिल्यै झुकाउन नसक्ने
सगरमाथाको त्यो अटल गौरव र शान खोज्दै छु । (पृ. ५३)
माथिको मुक्तकमा वीर पुर्खाहरु बलभद्र र अमरसिँहको सम्झना गर्दै दुनियाँको कुनै तागतले झुकाउन नसक्ने सगरमाथाको अटल गौरवको खोजी गरिएको छ । यसमा वीरताको भावलाई सुन्दर तरिकाले चित्रण गरिएको छ । त्यस्तै उनी कतै मानवताका पक्षमा पनि कलम चलाउँछन् । हेरौँ एउटा मुक्तक :
मान्छेलाई मान्छे हुन दिँदैनन् यी मान्छेहरु
जति दुखोस् घाउ रुन दिँदैनन् यी मान्छेहरु
अझै यिनकै इसारामा चल्नु पर्ने हो र
नत्र किन मान्छे छुन दिँदैनन् यी मान्छेहरु । (पृ. ५४)
हो, हाम्रो इतिहास गौरवमय छ । हाम्रा पुर्खाहरुले यो देश जोगाउन आफ्नो रगतले सिँच्ने काम गरे । हामीले त्यो कुरालाई बिर्सनु हुँदैन भन्ने भाव माथिको मुक्तकमा पाइने भएकाले यो देशभक्तिको उच्च नमुना भएको मुक्तक हो । उनको मुक्तकमा देशभक्ति मात्र होइन, कतैकतै दर्शनको कुरा पनि पाइन्छ । हेरौँ एउटा मुक्तक :
कोही मालिक कोही दास कसरी भयो
धरतीमाथि यो आकाश कसरी भयो
बुझिन हजूर पटक्कै बुझिन मैले
ढुङ्गाभित्र भगवानको बास कसरी भयो । (पृ. १४)
हामीमध्ये अधिकांशले ईश्वरको पूजा गर्छौं । त्यसमाथि आस्था राख्छौँ । त्यसका लागि ढुङ्गालाई ईश्वरको प्रतीक मान्ने गर्छौं । यसरी भगवान् मानिएका ढुङ्गाभित्र ईश्वर कसरी बास हुन्छ ? भन्ने प्रश्न पनि उठाउँछन् उनी । यसमा दर्शनसँगै व्यङ्ग्य पनि पाइन्छ । उनको मुक्तकका अर्को प्रमुख विशेषता भनेकै व्यङ्ग्य हो । हेरौँ एउटा मुक्तक :
बादलले आकाशलाई छेक्न कहाँ सक्छ र
जो सुकैले काँडामाथि टेक्न कहाँ सक्छ र
सधैँ अर्काको गुलामी गर्ने तिम्रो कलमले
गरिबहरुको कहानी लेख्न कहाँ सक्छ र । (पृ. १८)
माथिको मुक्तकमा अरुलाई नभएर लेखकले बिकाउ लेखकहरुमाथि नै व्यङ्ग्य गरेका छन् । अर्काको गुलामी गर्ने लेखकले गरिबहरुको कहानी कहिल्यै लेख्न सक्तैन भन्ने उनको दाबी नै कठोर व्यङ्ग्यको नमुना हो । उनी हाल विदेशमा आफ्ना सन्ततिको भविष्य खोजिरहेका छन् । त्यही अनुभूतिलाई मुक्तकमा यसरी उतारेका छन् :

छातीभित्र चन्द्र र सूर्य बोकेर बाँचेको एउटा परदेशी हूँ म
आफ्नै माटोको सुगन्ध मुटुमा साँचेको एउटा परदेशी हूँ म
सम्भावनाको घुम्टोभित्र मुस्कुराउँदै गरेको चाँदनीलाई हेरेर
उमङ्गको आकाशमा कावा खाँदै नाचेको एउटा परदेशी हूँ म । (पृ. ३०)
माथिको मुक्तकमा परदेशमा बसेर घरदेशको सम्झना गरिएको छ । परदेशमा बसेर पनि चन्द्र र सूर्य अङ्कित झन्डाको सम्झना गरिनु यसको ज्वलन्त प्रमाण हो । उनी देशलाई मात्र होइन, आमालाई पनि यसरी सम्झिन्छन् :
अभावको जाँतो पिन्दै होलिन् गाउँमा मेरी आमा
अरुभन्दा दुब्ली भिन्दै होलिन् गाउँमा मेरी आमा
भालेको डाँकसँगै पटुकीमा एक मुठी सपना पोको पारेर
दाउरा घाँस गर्न हिँड्दै होलिन् गाउँमा मेरी आमा । (पृ. १३)
माथिको मुक्तकमा गाउँमा बस्ने आमा यतिबेला के गर्दै होलिन् ? भनेर सम्झना गरिएको छ । आमाले गर्ने गरेका तमाम कामहरुको फेहरिस्त तयार पारिएको छ । यस्ता सम्झनामा आमालाई अरु मुक्तकमा पनि उतारिएको पाइन्छ । त्योबाहेक आफ्नी बहिनीको पनि सम्झना गरिएको पाइन्छ । यसरी सम्झँदा उनी आफ्नो बाल्यकालका यसरी सम्झना गर्छन् :
म गरिबीको आगोसँग खेलेर हुर्किएको मान्छे
अभावहरुको डरलाग्दो भुमरी झेलेर हुर्किएको मान्छे
सयौँ चोटि हजारौँ चोटि जिन्दगीको रणभूमिमा
मृत्युलाई पनि जबरजस्ती पेलेर हुर्किएको मान्छे । (पृ. ३७)
प्रायः कविहरु आफ्नो बाल्यकाललाई चित्रण गर्दा सुखद खालको चित्रण गर्छन्, तर राजनले आफ्नो बाल्यकाललाई गरिबीको आगोसँग खेलेर हुर्किएको भनेका छन् । यसरी जस्तो भोगियो, त्यस्तै उतार्न सक्नु उनको लेखकीय इमान्दारी हो । यही भएर उनको मुक्तकसङ्ग्रहको नाम ‘अनिदो मन’ भएको होला । हेरौँ शीर्षकसँग मिल्ने एउटा मुक्तक :
एउटा जीवन्त प्रेमको खुल्ला आकाश हो अनिदो मन
कसैकसैमाथि कसैको अटुट विश्वास हो अनिदो मन
हृदयको भकारीमा कर्मको पाखुरीले टन्न भरेर राखेको
माया, प्रेम, भरोसा र समर्पणको रास हो अनिदो मन । (पृ. ८१)
यसरी समग्रमा हेर्दा ‘अनिदो मन’ मुत्तकसङ्ग्रह एकरसता भएको कृति होइन । यसमा जीवनका विविध भावहरु अटाएका छन् । जसरी जीवनमा विविधता छ, त्यसैगरी यो कृतिमा पनि विविधता छ । त्यसैले यो कृति जीवनको प्रतिछाया बनेको छ भन्ने निष्कर्ष हो मेरो ।

राजनको मुक्तकको शक्ति के हो ?

विविधतालाई आफूमा समाहित गर्न सक्नु नै राजनका मुक्तकको सबैभन्दा प्रमुख शक्ति हो, जसले उनका मुक्तकलाई एकरसताबाट मुक्त गराएका छन् । उनी निराशाभन्दा प्रणयको शालीन अभिव्यक्तिमा बढी खुलेका छन् । हेरौँ एउटा मुक्तक :
तिमीलाई निःशर्त मन पराउने मान्छे म
उपहारमा जून तारा पठाउने मान्छे म
जुनीजुनी सयौँ हजारौँ जुनीसम्म पनि
छातीमा राखेर दिलमा सजाउने मान्छे म । (पृ. १२२)
त्यस्तै संरचनागत विविधता उनको अर्को शक्ति हो । उनी छोटो संरचनामा पनि सुन्दर मुक्तक लेख्न सक्छन् भन्ने कुराको पुष्टि यो मुक्तकले गरेको छ :
तिमीलाई भेट्ने रहरमा मर्दैछु
आएर तिमै्र सहरमा मर्दैछु
पिएर घुटुघुटु मायाको प्याला
घात–प्रतिघातको जहरमा मर्दैछु । (पृ. ८९)
मुक्तक छोटो मात्र हुनुपर्छ भन्ने छैन । उनी लामो संरचना मात्र नभएर लामो अनुप्रासको प्रयोग गरेर पनि मुक्तक रचना गर्न सक्छन् भन्ने कुराको प्रमाणस्वरुप तलको मुक्तकलाई लिन सकिन्छ :
आमाको कुरा मानेको भए म पनि सायद ठुलो मान्छे हुन्थेँ होला
पैसालाई सर्वश्व ठानेको भए म पनि सायद ठुलो मान्छे हुन्थेँ होला
अरुले झैँ इमान, नैतिकता, मूल्य र मान्यतालाई तिलाञ्जलि दिँदै
जालझेल, छलकपट जानेको भए म पनि सायद ठुलो मान्छे हुन्थेँ होला । (पृ. ५०)
यहाँ म राजनका मुक्तकको प्रशंशा गर्नतिर लाग्दिनँ । उनको पहिलो कृति भएकाले यसमा कमी कमजोरीहरु पनि प्रशस्तै छन् । त्यसका बारेमा पनि केही चर्चा किन नगर्नु ? हैन त पाठकगण ?

राजनले सुधार्नुपर्ने कुरा के हो ?

पाठकवृन्द, ‘अनिदो मन’भित्र रहेका कूल २३० वटा मुक्तकमध्ये करिब एक दर्जन जति पुरै र अरु एक दर्जन जति आंशिक रुपमा दोहोरिनु यसको मुख्य कमजोरी हो । उदाहरणको लागि मुक्तक १२८ र २३० लाई लिन सकिन्छ । त्यसै गरी कतिपय मुक्तकको संरचना मात्र फरक छ भने भाव एउटै छ । उनले ‘पत्थरको सहर’, ‘सपनाको बजार’जस्ता बिम्बलाई विभिन्न मुक्तकमा पटक पटक दोहो¥याएका छन् यसले उनका मुक्तककलाई कमजोर बनाएको छ । मेरो विचारमा यसो हुनुको कारण उनको व्यस्तता हो । मोबाइलको किप्याडमा लेखेर नोट्समा थन्क्याएका सामग्रीलाई विदेशबाट एक महिने छुट्टीमा नेपाल आउँदा सङ्कलन, सम्पादन, प्रकाशन र लोकार्पणसम्मको प्रक्रिया पूरा गरेर फर्कने चाहना राख्नु नै यसको मुख्य कारण हो भन्ने ठान्छु म । तर लेखकलाई म व्यस्त भएका कारण मेरा कृति कमजोर भए भन्ने छुट छैन । फुर्सदमा लेखेर छपाए के बिग्रिन्छ ? आगामी कृतिमा चाहिँ यसका बारेमा सोच्नैपर्छ है ।

‘अनिदो मन’मा भावगत र संरचनागत आवृत्तिदोष मात्र छैनन्, कतै त मुक्तकका लागि आवश्यक पर्ने अन्त्यानुप्रास पनि मिलेका छैनन् । हेरौँ एउटा मुक्तक :
त्यो मरुभूमिमा पनि फूल फुलाउँछु म
भाग्यको होइन कर्मको पहाड चुलाउँछु म
हेर्नुस् न एक दिन त्यो पाजी काललाई छोपेर
कसरी फनफनी जता भन्यो त्यतै नचाउँछु म । (पृ. ५३)
माथिको मुक्तकमा पहिलो पङ्क्तिमा आएको ‘फुलाउँछु’, दोस्रो पङ्क्तिमा आएको ‘चुलाउँछु’ जस्ता अनुप्रास मिलेको भए पनि चौथो पङ्क्तिमा भएको ‘नचाउँछु’ त कत्ति पनि मिलेको छैन । त्यस्तै दोस्रो पङ्क्तिमा आएको ‘चुलाउँछु’ पद अव्याकरणिक खालको भएकाले त्यसमा पनि दोष देखिन्छ । यस्ता दोषहरुबाट पर रहन सके बल्ल कृति सुन्दर बन्न सक्छ । यसमा सचेत रहन राजन भाइलाई आग्रह गर्छु म । यो संसारमा दोषरहित भन्ने कुरा त केही पनि छैन, त्यही हुनाले यसमा भएका विभिन्न खालका दोषहरु हटाएर छिट्टै अर्को कृति आउने छ भन्नेमा कुरामा चाहिँ म ढुक्क छु । भबतु सब्ब मङ्गलम् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट