भरतपुर, २९ वैशाख ।
प्राध्यापक कृष्ण खनालको पुस्तक `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´को सन्दर्भमा रहेर भरतपुरमा विमर्श कार्यक्रम गरिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ५ को कार्यालयको आयोजना र गिरिजा – सुशील स्मृति प्रतिष्ठान चितवनको सहआयोजनामा भरतपुर- ५ स्थित डबका रिसोर्टमा शनिबार कार्यक्रम गरिएको हो ।
विमर्श कार्यक्रममा देवकी गौतम, प्रेम रिमाल र डाक्टर एकनारायण पौड्यालले पुस्तकका बारेमा टिप्पणी राख्दै विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक एवम् राजनीतिक योगदानको चर्चा गर्नुभयो ।
पुस्तकमा वीपी कोइरालाको राजनीतिक एवम् साहित्यिक सक्रियता र त्यतिबेलाको राजनीतिक परिवेशलाई कृष्ण खनालले पठनीय ढंगले उतार्नुभएको देवकी गौतमले बताउनु भयो । अर्का वक्ता प्रेम रिमालले नेपालको प्रजातान्त्रिक आन्दोलनका एउटा बौद्धिक व्यक्तित्व कृष्ण खनालले यस पुस्तकमार्फत वीपीको बहुआयामिक चेतनालाई उजागर गरेको बताउनुभयो । नेपाली समाजमा बौद्धिक र सांस्कृतिक चेतना विस्तारमा वीपीको योगदान रहेको प्रसङ्गलाई पुस्तकमा समेटिएको रिमालले बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारी, पूर्वमन्त्री एवम् नेपाली कांग्रेस कार्यसम्पादन समिति सदस्य उमा रेग्मी, नेपाली कांग्रेस चितवनका उपाध्यक्ष राजीव न्यौपाने, भरतपुर- ५ का वडा अध्यक्ष युद्धप्रसाद श्रेष्ठ, पूर्व रजिस्ट्रार सूर्यकान्त घिमिरे, डाक्टर कृष्णप्रसाद सापकोटा, हरि गौतम, लेखराम सापकोटालगायतले वीपीको राजनीतिक योगदानको चर्चा गरेका थिए ।
घिमिरेको सान्दाजु विमोचन
कार्यक्रममा शुभाष घिमिरेले लेख्नुभएको उपन्यास `सान्दाजु´को विमोचन गरिएको थियो । यो पुस्तक वीपी कोइरालाको जीवनकथामा आधारित उपन्यास हो । वीपी कोइरालाका विचारहरू, जीवनसंघर्ष, समर्पण, त्याग, बलिदान र जीवनका चुनौतीपूर्ण घडीहरूमा उनले प्रदर्शन गरेको साहसलाई यस उपन्यासमा कलात्मक तरिकाले प्रस्तुत गरिएको समीक्षक उदय अधिकारीले बताउनु भयो ।
संयुक्त राज्य अमेरिकाबाट शिक्षा शास्त्रमा स्नातकोत्तर घिमिरेका `अमेरिका अनुभूति´ (२०७९) संस्मरण – डायरी, `मौन विद्रोह´ (२०८०) उपन्यास र द साइलेन्ट रिबेलियन (२०८०) अङ्ग्रेजी उपन्यास प्रकाशित छन् । घिमिरेले वीपी कोइरालाको अदालती बयानलाई नेपालीबाट अङ्ग्रेजी भाषामा अनुवाद पनि गर्नुभएको छ भने सरुभक्तको प्रसिद्ध कृति `चुली´को पनि अनुवाद गर्नुभएको छ । कार्यक्रमलाई गिरिजा – सुशील स्मृति प्रतिष्ठानका अध्यक्ष युवराज भुसालले सहजीकरण गर्नुभएको थियो ।





