भरतपुर, २९ जेठ ।
सुनसरीका ओमप्रकास बानियाँले विश्वर घुमेर नेपाल आउन ‘निम्तो’ बाँड्ने लक्ष्य लिएर साइकल यात्रामा निस्किएका छन् । बैशाख १९ गते देखि नेपाल यात्रामा निस्किएका २७ बर्षिय बानियाँले सोमबारसम्म २३ जिल्लाको यात्रा पुरा गरेका छन् । नेपाल यात्रा सकेपछि उनी विश्व भ्रमण गर्न मन्त्रालयस्तरमा अनुमति लिने प्रक्रियामा पनि छन् ।

“विश्वलाई निम्तो बाँड्ने मेरो लक्ष्य हो”, भरतपुर महानगरपालिकामा भेटिएका उनले भने, “नेपालका पर्यटन गन्तव्य चिनाउन साइकलबाटै विश्वबजारमा पुग्नेछु ।” वैदेशीक रोजगारीका शिलशिलामा साढे ६ वर्ष कतारमा ‘वेटर’ काम गरेका बानियाँ नेपाल फर्केर देश चिनाउने अभियानमा सक्रिय बन्न थालेका छन् । “विदेश हुँदानै विश्व साइकलयात्री पुष्कर शाहबाट प्रभावित थिएँ”, उनले भने, “नेपाल आएपछि साइकल यात्रामा निस्कने सोच बनाएँ । नेपाल यात्रा पुरा गरेपछि विश्वलाई साइकलबाटै नियाल्ने छु ।” उनले नेपाल धार्मिक पर्यटन र पर्यापर्यटनका लागि निकै उर्वर रहेको सन्देश फैलाउने बताए ।
“नेपालका थुप्रै गन्तव्य ओझेलमा छन्”, उनले भने, “ती गन्तव्यलाई चिनाउने मेरो अभियान हो । पर्यटक भित्र्याउने योजना छ ।” प्रचार प्रसारको कमी हुनाले नेपालमा बाह्य पर्यटक भित्राउन गारो हुने गरेको उनको भनाई छ । ६ महिना भित्र नेपालका ७७ वटा जिल्लाको यात्रा पुरा गर्ने बताए । दशै तिहार लगत्तै भारत हँुदै विश्व यात्रामा निस्कने बताए । “नेपालका गन्तव्य चिनाउने पोष्टरनै बोकेर जानेछु”, उनले भने, “ती गन्तव्यबारे जानकारी दिएर नेपाललाई चिनाउने छु ।” विश्वलाई ८÷९ वर्षमा साइकलबाटै घुमेर सक्ने लक्ष्य लिएको बताए । उनले सुरुमा परिवारले सहयोग नगरेपनि अभियान बुझेपछि सहयोग गर्न थालेको बताए । नेपाल भ्रमणको लागि व्यक्तिगत २ लाख ७५ हजार खर्च लाग्ने अनुमान गरेको बताए । उनलाई बराहक्षेत्र नगरपालिकाले साइकल सहयोग गरेको छ ।





