मकवानपुर, ६ साउन ।
बागमती प्रदेश सरकारका सत्ता साझेदार दल नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी आफ्ना ६ जना मन्त्रीको सामूहिक राजीनामा गराएको छ । यससँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
बुधबार एमालेबाट उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, विना विभागीय मन्त्रीहरू किरण थापा, भरतबहादुर केसी र जयराम थापाले राजीनामा दिएका हुन् ।
राजीनामाअघि एमालेका मन्त्रीहरूले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई भेटेर पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए। त्यसपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा दर्ता गराएका हुन् । मुख्यमन्त्री बानियाँले भेट नदिएपछि उनीहरूले राजीनामा पत्र मुख्यमन्त्री सचिवालय र प्रदेश प्रमुख सचिव बाबुराम अधिकारीसमक्ष बुझाएका थिए ।
एमालेले समर्थन फिर्ता लिएसँगै बागमती प्रदेशको सत्ता राजनीतिले नयाँ मोड लिएको छ। अब मुख्यमन्त्री बानियाँले संविधानअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। सरकारलाई निरन्तरता दिन उनले कम्तीमा ५३ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।
मुख्यमन्त्री बानियाँ २०८२ साउन २० गते एमाले–कांग्रेस गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका थिए । यसअघि कांग्रेसका बहादुरसिंह लामाले २०८१ साउन ९ देखि २०८२ साउन २० सम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
प्रदेश तहमा एमाले र नेकपाबीच नयाँ सत्ता समीकरणको चर्चा भइरहेका बेला सरकार गठन दुवै दलका लागि चुनौतीपूर्ण देखिएको छ। सरकार बनाउन प्रदेशसभामा ५३ सांसदको समर्थन आवश्यक छ ।
हाल ११० सदस्यीय बागमती प्रदेशसभाका ६ पद रिक्त रहेकाले १०४ सदस्य कायम छन् । प्रदेशसभामा कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टी (हानेपा)का २ सांसद छन् ।




