विश्वभरका नेपाली पत्रकार टोकियोमा भेला हुँदै, ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स–२०२६’ जुलाई २५ मा

टोकियो, (जापान), ७ साउन ।
नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स–२०२६’ आगामी जुलाई २५ मा जापानको राजधानी टोकियोमा आयोजना हुँदैछ । सम्मेलनमा नेपाल पत्रकार महासंघका १२ वटा वैदेशिक शाखाले सहआयोजकको भूमिका निर्वाह गरेका छन् ।

‘प्रवासी सञ्चारमाध्यममार्फत नेपाल र विश्वलाई जोड्ने’ मूल नारासहित आयोजना हुने सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मासहित केन्द्रीय कार्यसमितिका ३३ जना पदाधिकारी तथा सदस्य, महासंघका १२ वैदेशिक शाखाका अध्यक्ष तथा प्रतिनिधि, जापानस्थित पत्रकार तथा विश्वका विभिन्न मुलुकमा क्रियाशील नेपाली पत्रकारहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ ।

विश्वव्यापीकरणसँगै नेपाली समुदायको उपस्थिति विश्वका धेरै मुलुकमा विस्तार हुँदै जाँदा प्रवासी पत्रकारिताको भूमिका थप महत्वपूर्ण बन्दै गएको छ । उच्च शिक्षा, रोजगारी, व्यवसाय तथा अन्य विविध कारणले विदेशमा रहेका नेपाली समुदायका गतिविधि, समस्या, सफलता र सरोकारलाई मातृभूमिसम्म पुर्‍याउने महत्वपूर्ण जिम्मेवारी प्रवासी पत्रकारितामाथि आएको सन्दर्भमा सम्मेलन आयोजना गरिएको नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए ।

महासंघ जापान शाखाकी उपाध्यक्ष मनिषा चम्लागाईँका अनुसार सम्मेलनमा प्रवासी सञ्चारमाध्यमले नेपालसँग सम्बन्ध जोड्न खेलेको भूमिका, प्रवासी पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावना, महासंघको केन्द्रीय समिति र वैदेशिक शाखाबीचको सम्बन्ध, प्रवासमा नेपाली समुदाय र मिडियाको सम्बन्ध, जिम्मेवार पत्रकारितामा प्रविधिको प्रभाव तथा प्रेस स्वतन्त्रताजस्ता विषयमा कार्यपत्र प्रस्तुति, प्यानल छलफल र अन्तरक्रिया कार्यक्रम हुनेछन् ।

नेपाल पत्रकार महासंघ केन्द्र र वैदेशिक शाखाबीचको सम्बन्धलाई थप संस्थागत र औपचारिक बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा रहेको महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्लले बताए । उनका अनुसार विदेशमा असहज परिस्थितिमा रहेर पनि प्रवासी पत्रकारहरूले देशप्रति उत्तिकै जिम्मेवार र गम्भीर भएर पत्रकारिता गरिरहेको सन्देश सम्मेलनले प्रवाह गर्नेछ ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारीले प्रविधिको विकाससँगै नेपालभित्र वा बाहिर बसेर गरिने पत्रकारिताबीचको दूरी घटेको उल्लेख गर्दै पत्रकारिता अहिले विश्वव्यापी स्वरूपमा विकसित भइसकेको बताए । उनका अनुसार डायस्पोरामा सक्रिय पत्रकार र उनीहरूले गरिरहेको पत्रकारिता प्रवासी नेपाली समुदायका लागि मात्र होइन, नेपालका लागि पनि अपरिहार्य बन्दै गएको छ । डायस्पोरा पत्रकारिताको बहुआयामिक महत्वबारे गम्भीर विमर्श गर्ने उपयुक्त अवसरका रूपमा उनले सम्मेलनलाई व्याख्या गरेका छन् ।

नेपाल पत्रकार महासंघ जापान शाखाले विश्वभरका नेपाली पत्रकारलाई एउटै साझा मञ्चमा जोड्ने यस सम्मेलनलाई प्रवासी पत्रकारिताको इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ । सम्मेलनले नेपाल र विश्वभरका नेपाली सञ्चारकर्मीबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै प्रवासी पत्रकारिताको संस्थागत विकास, अन्तर्राष्ट्रिय सहकार्य र व्यावसायिक क्षमता अभिवृद्धिमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रले पनि उल्लेखनीय सहयोग गरेको छ । जापानस्थित अग्रणी फिनटेक कम्पनी डिजिटल वालेट कर्पोरेशनअन्तर्गत सञ्चालित स्माइल्स मोबाइल रेमिटेन्स र स्माइल्स कनेक्ट मुख्य कार्यक्रम साझेदार (मेन इभेन्ट पार्टनर) बनेका छन् ।

आयोजकले मुख्य कार्यक्रम साझेदार स्माइल्स मोबाइल रेमिटेन्स, स्माइल्स कनेक्ट, इभेन्ट पार्टनर फ्रन्टअप ई–सिम तथा अन्य प्रायोजक, सहयोगी संस्था र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै सार्वजनिक–निजी क्षेत्रबीचको सहकार्यले प्रवासी पत्रकारितालाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट