भरतपुर,२ जेठ ।
माडी नगरपालिकामा कर्मचारीप्रति स्थानीय आक्रोशित बनेका छन् । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी सहित कर्मचारीको टोलीनै माडी–७ देवेन्द्रपुर नजिकैको एक मन्दिरमा मंगलबार आयोजित एक सांस्कृतिक कार्यक्रममा सहभागि हुन गएपछि सेवाग्राही कार्यालय परिसरमा कुर्न बाध्य भएका थिए ।
लामो विदामा रहेका जैसी आइतबार कार्यालयमा हाजिर हुने भनिएपनि मंगलबारमात्रै काठ्माण्डौबाट माडी पुगेका थिए । उनी दिउसो २ बजे अन्य १० जना कर्मचारीलाई लिएर सांस्कृतिक कार्यक्रम हेर्न पुगेका थिए । २ कोठाका कर्मचारी ताला लगाएरै हिँडेका थिए । आर्थिक वर्ष अन्त्यतिर भएकाले योजना सम्झौता, भुक्तानी लगायतका फाइल सहित पुगेका उपभोक्ता समितिका पदाधिकारी दिनभरी पर्खाइमा बसेका थिए । पौने ४ बजे प्रशासकीय अधिकृत सहितको टोली आइपुगेपछि स्थानीय सेवाग्राही आक्रोशित बनेका थिए । “योजना कार्यान्वयन गर्ने अवधि सकिदै छ । फाइल लिएर हप्तौसम्म धाउनुपर्ने बाध्यता छ”, एक स्थानीयले भने, “कहिले विदा, कहिले कार्यालयबाहिर हुँदा सेवा लिनै सकस भयो ।”
सेवग्राही मंगलबार झण्डै २ दर्जन फाइल रुजु गराउन बसेका थिए । उनका अनुसार प्रशासकीय अधिकृतले यसअघिपनि कार्यसम्पादनमा हेलचक्र्याइ गर्ने, फाइल हेर्नै नमान्ने जस्ता गतिविधि गर्दै आएको बताए । ‘जनताको काम नगरी हिँड्ने’ भन्दै आक्रोशित भीडले मूलगेटमै घेरेको थियो । लगत्तै कार्यक्रममा सहभागी हुन पुगेका मेयर उपमेयर कार्यालयमा आएपछि स्थानीयले गुनासो सुनाएका थिए । “दिनभरी कुर्नुपरेपछि स्थानीय रिसाउनु स्वभाविक हो”, उपमेयर ताराकुमारी काजी महतोले भनिन्, “जनताको काम गर्नुपर्छ । कार्यालयनै खाली बनाएर हिँड्ने छुट कुनै कर्मचारीलाई छैन ।” उनले कार्यलय समयमा बाहिर किन गएको भनेर मेयरले स्पष्टिकरण मागेको जानकारी दिइन् । “प्रशासननै लक गरेर हिँड्नु गलत काम हो”, उनले भनिन्, “यसअघिपनि यस्तै गुनासा आएका थिए । अब लापरवाही हुन दिइने छैन ।”





