चितवन, ९ मङ्सिर ।
चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा बिहीबार (मंसिर १० गते) बबिना किराँती र सुरेश अञ्जानको सांगीतिक प्रस्तुति रहने भएको छ ।
महोत्सवमा दैनिक राष्ट्रिय कलाकारका साथै नारायणी कला मन्दिर नारायणगढका विभिन्न सांस्कृतिक प्रस्तुति र आदिवासी जनजातिका सांस्कृतिक कार्यक्रमसमेत भइरहेका छन् ।
महोत्सवमा विभिन्न व्यावसायिक स्टल, बाल उद्यान, जिरो ग्र्याभिटी राइड, ३६० डिग्री राइड र पिरामिड गेट मुख्य आकर्षणका रूपमा रहेका छन् ।
महोत्सवको साधारण टिकट १०० रुपैयाँ र विद्यार्थी टिकट ८० रुपैयाँ तोकिएको छ । विशेष कन्सर्ट हुने दिन साँझ ५ देखि ९ बजेसम्म सञ्चालन हुने कन्सर्ट जोनमा प्रवेशका लागि साधारण टिकट ३०० र भिआइपी टिकट ५०० रुपैयाँ लाग्नेछ । कन्सर्ट जोनमा प्रवेश नगर्ने दर्शकले भने नियमित टिकटमै महोत्सव अवलोकन गर्न पाउनेछन् ।
रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् चितवनको सहआयोजनामा मंसिर ३ गतेदेखि सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।
बाढीका कारण कुरूप बनेको नारायणी नदी किनारलाई आफ्नै लगानीमा सम्याएर महोत्सव सञ्चालन गरिएको आयोजकले जनाएको छ । महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी भरतपुरको पर्यटन, व्यापार र आर्थिक गतिविधि प्रवर्द्धन गर्ने साझा अवसरका रूपमा लिइएको आयोजकको भनाइ छ । आयोजकले महोत्सवमा सहभागी भई सफल बनाउन सबैलाई आग्रह गरेको छ ।





