काठमाडौं, ९ मङ्सिर ।
नेपाल बालसाहित्य समाज (नेबासास) ले १५०औँ जयपृथ्वीबहादुर सिंह जन्मजयन्तीका अवसरमा विभिन्न अग्रज तथा अनुज स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । आइतबार ललितपुरस्थित पाटन दरबार सङ्ग्रहालयमा आयोजित कार्यक्रममा १० बालकृतिसमेत लोकार्पण गरियो ।
नेबासास जयपृथ्वीबहादुर सम्मान नेपाली बालसाहित्यका इतिहासकार एवं समाजका पूर्वअध्यक्ष प्रमोद प्रधानलाई प्रदान गरियो ।
त्यस्तै, प्रा. डा. चूडामणि बन्धु, तेजप्रकाश श्रेष्ठ, प्रभात सापकोटा, डा. जयन्ती रुपाखेती र अमेरिकामा रहेका आभास अर्याललाई विभिन्न विधाका पुरस्कार प्रदान गरियो । ती पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको थियो ।
यसैगरी, आयन्स जवालीलाई नेबासास जयपृथ्वीबहादुर बालस्रष्टा पुरस्कार र अमृत विकलाई नेबासास जयपृथ्वीबहादुर बालकला पुरस्कार प्रदान गरियो । दुवै पुरस्कारको राशि जनही पाँच हजार रुपैयाँ रहेको थियो ।
कार्यक्रममा बालसाहित्यका विधा : सिद्धान्त र परम्परा, कमिलाको बानी, इन्द्रेणी, चन्द्रबहादुर, हितुवा, जादुको छडी, स्यालको सिङ, आँखा झिम्काउने पहाड, मन्त्रपुरकी माया र हजुरआमाको भान्छा कोठा गरी १० पुस्तक लोकार्पण गरियो ।
लोकार्पित कृतिमाथि सर्जक शैलेन्दुप्रकाश नेपालले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । कार्यक्रममा अग्रज बालसाहित्य सर्जक एवं नेबासासका संस्थापक तथा संरक्षक रामकुमार पाँडे विशेष अतिथि थिए । नेबासासका अध्यक्ष विजयराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव डा. विष्णु केसीले गरेका थिए ।
कार्यक्रम नेपाल बालसाहित्य समाज, पाटन सङ्ग्रहालय र सिविन नेपालको संयुक्त आयोजनामा भएको थियो ।





