बागमतीका १४ उद्यमी पुरस्कृत, अन्नपूर्णा खाद्य उद्योग सर्वोत्कृष्ट

मकवानपुर, ९ मङ्सिर ।
बागमती प्रदेश सरकारले १३ जिल्लाका १४ उद्योगलाई नवप्रवर्तन उद्यमी सम्मान २०८३ अन्तर्गत पुरस्कृत गरेको छ । ललितपुर महानगरपालिका–१७ मा रहेको अन्नपूर्णा खाद्य उद्योग प्रदेशकै सर्वोत्कृष्ट उद्योग घोषित भएको छ ।

उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले बुधबार आयोजित कार्यक्रममा सर्वोत्कृष्ट उद्योगका सञ्चालक अन्नपूर्णकुमारी थापालाई दुई लाख रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो । प्रदेशका १३ जिल्लाबाट एक/एक उद्योगलाई जिल्ला स्तरमा उत्कृष्ट घोषणा गरी जनही ७५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

जिल्ला स्तरमा पुरस्कृत हुने उद्योगहरूमा रामेछापको पुष्पाञ्जली नेपाली हाते कागज उद्योग, सिन्धुपाल्चोकको अरनिको कृषि तथा पशुपालन फार्म, सिन्धुलीको लाङ्घाली जुनार उद्योग, काठमाडौंको सौगात आधुनिक कृषि फार्म, नुवाकोटको सानो कल्लेरी कृषि फार्म र मकवानपुरको शर्मा एकीकृत कृषि तथा पशुपन्छी फार्म रहेका छन् ।

त्यस्तै, ललितपुरको दाहाल कार्पेट उद्योग, चितवनको फाइटोकेयर इन्टरनेसनल प्रालि, काभ्रेपलाञ्चोकको लेकाली पुष्टकारी उद्योग, भक्तपुरको क्रियटिभ उड कार्भिङ, धादिङको श्री पी एण्ड जी मौरीपालन उद्योग, दोलखाको रेनु झोला तथा ट्राउजर उद्योग र रसुवाको राजन्या कृषि तथा पशुपन्छी फार्म पुरस्कृत भएका छन् ।

प्रतिस्पर्धाका लागि प्रदेशका १३ जिल्लाबाट ३९ उद्योग छनोट सूचीमा परेका थिए । तीमध्येबाट मापदण्डका आधारमा सर्वोत्कृष्ट र उत्कृष्ट उद्योग छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा मुख्यमन्त्री किरण थापा मगरले उद्योगको प्रतिस्पर्धात्मक क्षमता विकास, श्रमिकको सम्मान र सीप विकासलाई प्रदेश सरकारले प्राथमिकता दिने बताउनुभयो । प्रदेशको भूगोल र वातावरण सुहाउँदो उत्पादन प्रवर्द्धनका कार्यक्रम अघि बढाइएको उहाँको भनाइ थियो ।

उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतीले उद्योग प्रवर्द्धन र व्यावसायिक विकासमार्फत उत्पादनमा आत्मनिर्भर बन्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
‘औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ आयोजित १२औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा पुरस्कृत उद्योगहरूले आफ्ना उत्पादनसमेत प्रदर्शनी गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट