जिम्मेवार पत्रकारितामा जोड दिँदै बाल संवेदनशील अभिमुखीकरण सम्पन्न

काठमाडौं । बालबालिकाको सर्वोत्तम हित, गोपनीयता र सुरक्षा सुनिश्चित गर्दै पत्रकारितालाई अझ मर्यादित र संवेदनशील बनाउने उद्देश्यले आयोजित दुई दिने ‘बाल संवेदनशील पत्रकारिता’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको गोदावरीमा मंसिर ८ र ९ गते सञ्चालन भएको कार्यक्रममा बाल अधिकारको संरक्षण र संवर्धनमा सञ्चारमाध्यमको भूमिकालाई केन्द्रमा राखेर छलफल तथा अभिमुखीकरण गरिएको थियो।

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) नेपाल, सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब र प्लान इन्टरनेसनल सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।

पत्रकारितामार्फत् बालबालिकाको विषय उठान गर्दा उनीहरूको सर्वोत्तम हितलाई सधैं माथि राख्नुपर्ने र जोखिममा रहेका बालबालिकालाई थप मनोवैज्ञानिक आघातबाट जोगाउन पत्रकारको भूमिका रहने विषयलाई कार्यक्रममा विशेष जोड दिइएको थियो ।

कार्यक्रममा सामुदायिक सूचना नेटवर्क सीआईएन अकोराबका सम्पादक लिलप्रकाश चन्दले भएकाले बालबालिकालाई केवल पीडित वा असहाय पात्रका रूपमा मात्र नदेखाई समाधानमुखी र जवाफदेही पत्रकारिता गर्नुपर्ने उल्लेख गरे ।

यस्तै, सिजप नेपालका अध्यक्ष तिलोत्तमा पौडेलले नेपालमा बालबालिकाको अवस्था, बाल अधिकारका आधारभूत सिद्धान्त, बाल संरक्षण प्रणाली, विपद्मा बालबालिकामा परेको प्रभाव तथा सञ्चारकर्मीले उठाउनुपर्ने सवालबारे प्रस्तुतीकरण दिएका थिए ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पनि बालबालिकाको गोपनीयता र मर्यादाको सम्मान गर्दै पत्रकारले बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकतामा राखेर रिपोर्टिङ गर्नुपर्ने विषयमा जोड दिए ।

सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेतले बालबालिकासम्बन्धी समाचारमा संवेदनशीलता किन आवश्यक छ भन्ने सन्दर्भमा बालबालिकाको मर्यादा, गोपनीयता र मनोवैज्ञानिक सुरक्षाको रक्षा गर्दै जिम्मेवार पत्रकारिता गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

अभिमुखीकरण कार्यक्रममा ३९ जना पत्रकारहरूको सहभागिता रहेको थियो । पत्रकारले आफ्नो पेशागत मर्यादाको ख्याल राखेको जसरी नै बालबालिकासँग सम्बन्धित रिपोर्टिङ गर्दा बालबालिकाको मर्यादा, गोपनीयता र सुरक्षामा आँच आउन दिन नहुनेमा सहभागीहरूले एक मत व्यक्त गरेका थिए ।

कार्यक्रमकै अवसरमा १३ सदस्यीय ‘बालमैत्री पत्रकार समूह’ समेत गठन गरिएको छ । समूहको संयोजकमा सुभद्रा धिताल र सह–संयोजकमा नरेन्द्र रौले चयन भएका छन् । यसैगरी, समूहको सदस्यहरूमा उमा शर्मा, विनोद देवकोटा, क्रिषला भण्डारी, शिव गौतम, सपना बोहरा, सुरेश प्रसाद सैँजु, पवित्रा मुडभरी, मनिषा बस्नेत, टोपेन्द्र रोकामगर, सत्यराज भट्ट र दानिस राज अन्सारी रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट