नवलपरासी, १८ कात्तिक ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुन लागेको जिल्ला अधिवेशनमा सम्झना सापकोटाले जिल्ला उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेकी छन् । अग्रजहरूको अनुभवको सम्मान, युवा ऊर्जाको सदुपयोग र महिला नेतृत्वको सशक्त उपस्थितिलाई जोड दिँदै अघि बढेकी सापकोटाको उम्मेदवारीलाई बदलिँदो समय र समाजको अपेक्षाअनुरूपको नेतृत्व प्रयासका रूपमा प्रस्तुत गरिएको छ ।
समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी सापकोटासँग शैक्षिक चेतना, राजनीतिक अनुभव र व्यावहारिक नेतृत्व क्षमताको संयोजन छ । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेकी उनी महिला संघ हुँदै नेपाली कांग्रेसको जिल्ला सदस्यको जिम्मेवारीसमेत निर्वाह गरिसकेकी छन् । उनीसँग दुई दशक लामो राजनीतिक तथा संगठनात्मक अनुभव छ ।
राजनीतिसँगै उद्यमशीलताको क्षेत्रमा समेत सक्रिय सापकोटाले आफ्नै नेतृत्वमा विद्यालय सञ्चालन गरी शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै आएकी छन् । यसले उनको नेतृत्व क्षमता, व्यवस्थापकीय दक्षता र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गर्छ ।
अग्रजहरूको अनुभव र मार्गदर्शनलाई सम्मान गर्दै युवा पुस्ताको नवीन सोच तथा महिलाको नेतृत्व क्षमतालाई संगठन निर्माणमा समेट्ने उनको संकल्प छ। सबल, समावेशी, गतिशील र एकताबद्ध कांग्रेस निर्माणलाई प्राथमिकतामा राखेकी सापकोटाले नयाँ सोच, साझा संकल्प र सशक्त संगठन निर्माणका लागि पार्टीका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूसँग साथ, विश्वास र समर्थनको अपिल गरेकी छन् ।
राजनीतिक अनुभव, उच्च शैक्षिक योग्यता, शैक्षिक उद्यमशीलता र महिला नेतृत्वको पृष्ठभूमिसहित जिल्ला उपसभापतिको प्रतिस्पर्धामा उत्रिएकी सापकोटाको उम्मेदवारीले नेपाली कांग्रेस नवलपरासीको जिल्ला नेतृत्वमा महिला सहभागिता र नयाँ पुस्ताको प्रतिनिधित्वलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ ।





