काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९७ रन बनाएको थियो । पोखराका ब्याटरले लुम्बिनीको अनुशासित बलिङसामु ठूलो साझेदारी गर्न सकेनन् ।
लुम्बिनीका रुबेन ट्रम्पलम्यानले तीन विकेट लिए । तिलक भण्डारीले दुई विकेट लिँदा शेर मल्ल, रोहित पौडेल, किशोर महतो र अभिषेक गौतमले समान एक विकेट लिए ।
९८ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले सहज रूपमा जित निकालेको हो । यस जितसँगै लुम्बिनीले प्रतियोगितामा आफ्नो स्थिति थप मजबुत बनाएको छ ।




