ब्युनस आयर्स ।
लियोनेल मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले बेनिनविरुद्ध ३–० गोलको जित निकालेको छ । मेसीले एक गोल गर्नुका साथै दुई गोलका लागि सहयोग गरेको विवरणमा उल्लेख छ ।
ब्युनस आयर्सस्थित इस्टाडियो मन्युमेन्टलमा ८५ हजारभन्दा बढी दर्शकको उपस्थितिमा भएको खेलमा मेसीले आफ्नो प्रभावशाली खेल प्रस्तुत गरेका थिए । अर्जेन्टिनाको जर्सीमा उनको प्रदर्शनले समर्थकलाई रोमाञ्चित बनाएको विवरणमा जनाइएको छ ।
मेसीको अन्तर्राष्ट्रिय यात्रा अनेक उतारचढावले भरिएको छ । कुनै समय अर्जेन्टिनाका लागि अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको भन्दै आलोचना खेपेका उनले पछि कोपा अमेरिका र विश्वकपको उपाधि जितेर आफ्नो फुटबल यात्रालाई ऐतिहासिक बनाए ।
सन् २०१६ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेर पछि निर्णय फिर्ता लिएका मेसीले अर्जेन्टिनालाई सन् २०२१ र २०२४ मा कोपा अमेरिका तथा सन् २०२२ मा कतार विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेले ।
क्लब र राष्ट्रिय टोलीबाट प्राप्त सफलताले मेसीलाई फुटबल इतिहासका महान् खेलाडीमध्ये एक बनाएको छ । क्रिस्टियानो रोनाल्डोसँगको उनको प्रतिस्पर्धाले पनि आधुनिक फुटबललाई लामो समयसम्म रोमाञ्चक बनाएको छ ।





