चितवन, २३ असोज ।
चितवनको कालिका नगरपालिका–१०, सिद्धीस्थित चेपाङ छात्रावासमा रहेका ७० जना विद्यार्थीलाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज चितवनले खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।

एक्सपर्टले शुक्रबार छात्रावासका विद्यार्थीका लागि खाद्यान्न, स्टेशनरी, किताब बोक्ने झोलालगायत सामग्री सहयोग गरेको हो । संस्थाको वार्षिकोत्सवको अवसर पारेर विद्यार्थीलाई आवश्यक सामग्री उपलब्ध गराइएको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । उनले चेपाङ बालबालिकाको शिक्षाका लागि संस्थाले विगतदेखि नै सहयोग गर्दै आएको उल्लेख गरे ।
स्थानीय भरत चेपाङले नौ वर्षअघि आफ्नै घरछेउको एउटा कोठाबाट छात्रावास सञ्चालन सुरु गरेका थिए । विभिन्न दाताको सहयोगमा सञ्चालन भइरहेको छात्रावासमा अहिले चितवन, मकवानपुर र धादिङका छ स्थानीय तहका ७० जना बालबालिका आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् ।
यसअघि कक्षा १० सम्मका विद्यार्थीलाई मात्रै छात्रावासमा राख्ने गरिएकोमा यस वर्षदेखि कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई पनि राख्न थालिएको संस्थापक भरत चेपाङले बताए । “कक्षा १० सम्म पढाएर मात्रै हाम्रो उद्देश्य पूरा नहुने देखेपछि यस वर्षदेखि कक्षा ११ का विद्यार्थीलाई पनि राखेका छौँ,” उनले भने, “उनीहरूको पढाइ र आवास व्यवस्थापनका लागि दाताकै सहयोगमा निर्भर हुनुपरेको छ ।”
छात्रावासमा अनाथ तथा आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित बालबालिकालाई आवासीय सुविधासहित पढाउने गरिएको छ । यहाँका विद्यार्थीका लागि दैनिक ३० किलो चामल आवश्यक पर्ने संस्थापक चेपाङले बताए । खाद्यान्नसँगै अन्य दैनिक उपभोग्य सामग्रीको व्यवस्थापन पनि छात्रावासका लागि चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा एक्सपर्टका रिजनल म्यानेजर किरण पौडेल, बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजाललगायतको उपस्थिति थियो ।





