श्याममोहन श्रेष्ठ मभन्दा चारपाँच वर्ष कान्छा होलान् । उनी मेरा अभिन्न मित्र हुन् । मेरो विषयमा उनलाई सबै थाहा छ, मलाई पनि उनीबारे राम्रै जानकारी छ । तर उनले किताब लेख्लान् भन्ने मलाई थाहा थिएन । किनकि मलाई पनि थाहा थिएन, म कसरी लेखक भएँ ।
हामी दुवै जना रमाउनुपर्ने, हाँसखेल गर्नुपर्ने र ठट्टैठट्टामा दिन बिताउनुपर्ने किसिमका मानिस हौं । हामी यस्ता छौं — आफूले आफैँलाई चिन्न नसक्ने । समय अनि परिबन्ध र परिवेशले चिनाइदिनुपर्ने ।
बच्चा छँदा खुब खेल्ने रहर । कलेज जाँदा प्रेम गर्ने रहर । ३० वर्ष कटेपछि के गरौं के गरौं भन्ने हुटहुटीको लहर । ४० नाघेपछि पैसा कमाउने रहर । ५० कटेपछि अलिअलि नाम कमाउने रहर । ६० वर्ष नाघेपछि दर्शनको अन्तरकुन्तरमा हराउने अनि ७० पछि यथार्थको धरातलमा टेक्ने रहर । बस्, श्याम र मेरो जीवन यही रहरैरहरमा बाँच्ने जीवनशैलीका उदाहरण हुन् ।
जब श्यामको पुस्तक ‘एक फिरन्तेको चट्याङे जीवन : काठमाडौं–पेरिस–काठमाडौं’ विमोचन गर्ने बेला मैले पनि दुई शब्द बोल्नुपर्ने भयो, म धर्मसंकटमा परेँ । किनभने त्यति बेला कोरोना भाइरसको डरले म बाहिर निस्किएको थिइनँ । कसैलाई भेटेको पनि थिइनँ । शङ्काले लङ्का जलाउँछ भने जस्तै कोभिड महामारीको डरले आफूले आफैँलाई कैदी बनाएको थिएँ । तर श्यामको पुस्तक विमोचनले मलाई त्यो कैदबाट उन्मुक्त गराए जस्तो लाग्यो । म उक्त कार्यक्रममा गएँ । पुस्तक त मैले पढेको थिइनँ । तैपनि त्यहाँ श्यामले के-के लेख्छन् भन्ने अनुमान गरिसकेको थिएँ । लामै बोल्ने इच्छा थियो । तर वक्ता धेरै भएकाले मैले आफ्ना विचार छोट्याएँ ।
त्यहाँ केके बोलेँ । वास्तवमा त्यति याद पनि भएन । तर एउटा अभिव्यक्ति अहिले पनि याद छ । भनेको थिएँ, ‘श्यामले यो किताब कसरी लेखे, मलाई थाहा छैन । उनी पनि म जस्तै शब्द, भाषा र साहित्यमा धेरै दक्ष व्यक्ति होइनन् । उनले आफ्नो किताबमा जे लेखे, त्यो मनैबाट लेखेको हुनुपर्छ । तसर्थ मन जब बोल्छ, अरू मनले सुन्छन् । पुस्तकको मर्म यही हो । मेरा किताब ‘सोच’, ‘खोज’, ‘मोज’, ‘कोष’ आदि पनि मनैबाट लेखेको हुँदा मेरा अभिव्यक्तिहरूले पाठकहरूको मन छुन सम्भव भयो । त्यसैले श्यामको किताबले पाठकको मन अवश्य छुन्छ भन्नेमा म ढुक्क छु ।’
मलाई के कुरा थाहा छ भने श्याम झुटो बोल्न सक्दैनन् । कुराहरू लुकाउन पनि सक्दैनन् । तसर्थ यो किताबमा उनले जेजति लेखे, त्यसले देखाउँछ कि यो पुस्तक उनको जीवनका घटनाक्रमको गाथा हो । श्यामको किताब विमोचन भएकै दिन घर ल्याएर पढ्ने बेला मलाई त्यस्तै अनुभूति भयो ।
घरमा आएर चिया पिउँदै साँझ ५ बजे किताब पढ्न थालेको थिएँ । राति ११ बजेसम्म खुरुरु पढिरहेँ । कहीँ पनि रोकिइनँ । एकदम रमाइलो लाग्यो । किताब पढ्दै गर्दा मेरा अगाडि श्याम बसिरहेझैँ लाग्यो । पहिलपहिले हामी गफ गरिरहने बेला श्यामका भाव अनि अभिव्यक्ति जम्मै किताबका पानाहरूमा मैले देखेँ । गफ गर्ने बेला पनि उनले मलाई सधैं हँसाउने गर्छन् । यो किताबमा पनि उनले मलाई हँसाएको हँसायै गरे । पुस्तक पढ्ने बेला श्यामको इनोसेन्ट (निर्दाेषपनयुक्त) फेस मलाई झलझली याद आयो । मेरा लागि पुस्तकको सबभन्दा राम्रो पक्ष यही हो ।
म समालोचक होइन । मलाई शब्द, भाषा र साहित्यबारे त्यति ज्ञान छैन । त्यसैले यो किताबमा के राम्रो, के नराम्रो भन्ने मूल्यांकन गर्न सक्दिनँ । जन्मजात सकारात्मक सोचबाट अभिप्रेरित व्यक्ति भएकाले पनि आनी छोइङ डोल्माले भने जस्तै ‘फूलको आँखामा फूलै संसार’ देख्छु । श्याम जस्तै म पनि यात्रामा रमाउने मान्छे । मैले पनि पृथ्वीका सातै महादेश घुमेको छु । अहिलेसम्म पनि संसारका विभिन्न ठाउँ घुम्ने क्रम रोकिएको छैन । त्यसमा रमाइरहेको पनि छु । २२/२३ वर्षको उमेरमा मैले युरोप घुम्दा जे-जे अनुभव गरेको थिएँ, श्यामले पनि त्यस्ते अनुभव गरेका रहेछन् । ‘इनारमा बस्ने भ्यागुता’ले यो किताबको मर्म बुझ्न सक्दैन ।
श्यामको खल्तीमा पर्याप्त पैसा थिएन, बिना पैसा उनले काठमाडौंदेखि युरोपका सहरसहर कसरी घुमे, त्यसको अनुभव कस्तो हुन्छ भन्ने भुक्तभोगीलाई मात्र थाहा हुन्छ । जुन बेला म पेरिस घुमेको थिएँ, मसँग पनि पैसा थिएन । बस कहाँबाट कसरी लिने भन्ने पनि थाहा थिएन । तर मलाई पेरिसका सबै ऐतिहासिक दरबार, भवन, स्मारकहरू हेर्ने रहर उत्कट थियो । मलाई सम्झना छ, बिहान ६ बजे उठेर नक्सा हेर्दै पेरिसको सम्पूर्ण दृश्यावलोकन गरेको थिएँ । ट्याक्सी लिन पैसा छैन, बसको रुट थाहा थिएन । बस्, हिँडेको हिँड्यै चार दिन पेरिस घुम्दा जुन बेला मेरो पाइन्ट खुकुलो भयो, त्यति बेला याद भयो — म त हिँड्दाहिँड्दा सर्लक्कै दुब्लो पो भएछु । जवानीको जोस कस्तो अचम्मको हुँदो रहेछ । बस् त्यही जोस मैले श्यामको पुस्तकमा पाएँ ।
मलाई लाग्छ, यो पुस्तक युवाहरूका लागि हो । र संसारलाई चिन्न अनि बुझ्न चाहने युवाहरूले यो किताब पढेर विश्वदर्शन गर्ने जमर्काे गर्नुपर्छ । किनभने एक्काइसौँ शताब्दीका युवाले विश्वलाई चिन्न सकेनन् भने उनीहरू विश्व नागरिक बन्न सक्दैनन् । अबको नागरिक कुनै एउटा देशको होइन, विश्वकै नागरिक बन्नु आवश्यक छ । विश्वलाई चिन्न केवल पुस्तक पढेर, सिनेमा हेरेर मात्र पुग्दैन, भ्रमण भनेको कानले सुनेर र आँखाले हेरेर मात्र पनि हुँदैन । शरीरका पञ्चतत्त्वले छुनुपर्छ । खुट्टाले टेक्नुपर्छ । हातले छुनुपर्छ । आँखाले हेर्नुपर्छ । मनले अनुभूति गर्नुपर्छ र कानले सुन्नुपर्छ । अनि मात्र भ्रमणको लक्ष्य परिपूर्ति हुन्छ । त्यसका लागि श्यामको यो पुस्तक पथप्रदर्शकका रूपमा उपयोगी हुन सक्छ । किनभने श्यामको पञ्चतत्त्वले चिन्तनमनन एवम् मन्थन गरेका कुराले युवालाई विदेश भ्रमण गर्न धेरै सघाउँछ ।
अन्त्यमा, मित्र श्यामको यो पुस्तकले युवालाई केही हदसम्म मार्गदर्शन गर्छ भन्ने विश्वास लिँदै उनलाई बधाई अनि पुस्तक सफलताको समेत शुभकामना ।





