माडीमा ११औँ थारू साहित्य राष्ट्रिय सम्मेलन हुँदै, तयारी तीव्र

पुस १० र ११ गते बघौडामा आयोजना हुने सम्मेलनमा सिर्जना वाचनदेखि राष्ट्रिय कविता प्रतियोगितासम्मका कार्यक्रम

चितवन, २१ असोज ।
थारू भाषा, साहित्य, कला, संस्कृति र इतिहासको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले ११औँ थारू साहित्य राष्ट्रिय सम्मेलन चितवनको माडीमा आयोजना हुने भएको छ ।

आगामी पुस १० र ११ गते माडी नगरपालिका–३, बघौडामा हुने सम्मेलनको तयारीलाई आयोजकले तीव्रता दिएको छ ।

थारू लेखक संघ नेपाल केन्द्रीय समितिको आयोजनामा हुन लागेको सम्मेलनले थारू साहित्यको विकाससँगै भाषा, कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणमा जोड दिने अपेक्षा गरिएको छ ।

गत वर्षको सम्मेलनले गरेको थियो माडीमा आयोजना गर्ने निर्णय

गत वर्ष २०८२ माघ १५, १६ र १७ गते पर्साको सूर्य–पटेरवामा सम्पन्न १०औँ थारू साहित्य राष्ट्रिय सम्मेलनका क्रममा आगामी सम्मेलन चितवनमा आयोजना गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार माडीमा सम्मेलन आयोजना गर्न आवश्यक तयारी अघि बढाइएको हो ।

तयारीलाई व्यवस्थित बनाउन थारू लेखक संघ चितवनका अध्यक्ष चन्द्रमणि महतोको अध्यक्षतामा बैठकसमेत सम्पन्न भएको छ । थारू लेखक संघ नेपालका केन्द्रीय पूर्वअध्यक्ष तथा संरक्षक एवं साहित्यकार प्रा. डा. कृष्णराज सर्वहारीको प्रमुख आतिथ्यमा बसेको बैठकले सम्मेलनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्नुका साथै जिम्मेवारी बाँडफाँड गरेको छ ।

बैठकले स्मारिका प्रकाशन उपसमितिको संयोजकमा प्रा. डा. कृष्णराज सर्वहारी, कार्यक्रम तथा आर्थिक उपसमितिको संयोजकमा चन्द्रमणि महतो, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा हिरामति गुरौ, आवास व्यवस्थापन उपसमितिको संयोजकमा लीलकुमार महतो र प्रचारप्रसार उपसमितिको संयोजकमा मनोज थारू ‘अज्ञात’लाई जिम्मेवारी दिएको छ ।

त्यस्तै, अतिथि स्वागत तथा सत्कार, राष्ट्रिय कविता प्रतियोगिता, हल तथा मञ्च व्यवस्थापन, कार्यक्रम सञ्चालन, स्वयंसेवक परिचालन र स्टल व्यवस्थापनलगायतका उपसमिति गठन गर्न बाँकी रहेको जनाइएको छ । बाँकी उपसमिति पनि शीघ्र गठन गरी सम्मेलनको तयारीलाई थप तीव्रता दिने आयोजकले जनाएको छ ।

स्थानीय साहित्यिक तथा सांस्कृतिक संस्थासँग समन्वय

सम्मेलनको तयारीकै क्रममा माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारीसँग भेटघाट तथा छलफल गरिएको छ । सम्मेलनलाई भव्य, व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय साहित्यिक, सांस्कृतिक तथा सामाजिक संस्थासँग समन्वय गर्ने विषयमा छलफल भएको आयोजकले जनाएको छ ।

तयारी बैठकमा नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य तथा थारू लेखक संघ नेपाल केन्द्रीय समितिका पूर्वअध्यक्ष एवं हालका सल्लाहकार डा. कृष्णराज सर्वहारी, थारू लेखक संघ चितवनका सल्लाहकार डा. सञ्जय चौधरी, थारू कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललितकुमार चौधरी, थारू पत्रकार संघ चितवनका अध्यक्ष तथा थारू लेखक संघ चितवनका सदस्य मनोज थारू ‘अज्ञात’लगायत थारू कल्याणकारिणी सभा क्षेत्र नं. १ माडीका पदाधिकारी सहभागी थिए । बैठकमा माडी नगरपालिका–३ का वडाध्यक्ष पुरन महतोको समेत उपस्थिति थियो ।

साहित्य, कला र संस्कृतिका विविध विषयमा विमर्श

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा थारू भाषा, साहित्य, कला, संस्कृति र इतिहासका विविध विषयमा छलफल तथा विमर्श गरिने आयोजकले जनाएको छ ।

सम्मेलनमा सिर्जना वाचन, राष्ट्रिय कविता प्रतियोगिता, साहित्यकार तथा सिर्जनशील पुरस्कार वितरण, कार्यपत्र प्रस्तुति, प्यानल छलफल र अन्तरक्रियालगायतका कार्यक्रम समावेश गरिनेछन् । यी कार्यक्रममार्फत थारू साहित्यका विविध पक्षमाथि बहस गर्नुका साथै स्रष्टाहरूबीच विचार, अनुभव र सिर्जना आदानप्रदान गर्ने अवसर प्रदान गरिने अपेक्षा गरिएको छ ।

थारू साहित्यको दायरा नेपालमा मात्र सीमित नराखी छिमेकी मुलुक भारतको बिहार क्षेत्रका थारू लेखक तथा साहित्यकारलाई समेत सम्मेलनमा सहभागी गराउने योजना रहेको आयोजकले जनाएको छ । देशका विभिन्न स्थानका साथै विदेशबाट समेत स्रष्टा, पाठक, साहित्यप्रेमी तथा शुभेच्छुक माडीमा आउने अपेक्षा गरिएको छ ।

विभिन्न संस्थाको सहकार्य, माडी नगरपालिका प्रवर्द्धक

सम्मेलनलाई सफल बनाउन विभिन्न साहित्यिक, सामाजिक तथा सांस्कृतिक संस्थाले सहकार्य गर्ने भएका छन् । सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठान केन्द्रीय समिति, थारू लेखक संघ नेपाल केन्द्रीय समिति, थारू कल्याणकारिणी सभा चितवन, बुद्धिजीवी सभा चितवन, थारू पत्रकार संघ चितवन, थारू कलाकार संघ चितवन, महिला सभा चितवन, युवा सभा चितवन, थारू कल्याणकारिणी सभा क्षेत्र नं. १ माडी, माडी प्रज्ञा प्रतिष्ठान, माडी साहित्य परिवार, भरतपुर प्रज्ञा प्रतिष्ठान र गैँडाकोट नगर–प्रज्ञा प्रतिष्ठानको सहकार्य रहनेछ ।

माडी नगरपालिकाले सम्मेलनको प्रवर्द्धकका रूपमा भूमिका निर्वाह गर्ने आयोजकले जनाएको छ ।

थारू साहित्यिक तथा सांस्कृतिक केन्द्रका रूपमा माडीलाई चिनाउने अपेक्षा

थारू लेखक संघ चितवनको मुख्य संयोजनमा माडीमा राष्ट्रियस्तरको थारू साहित्य सम्मेलन आयोजना हुनुलाई स्थानीय भाषा, साहित्य तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका स्रष्टा, साहित्यकार र पाठकको जमघटले थारू भाषा, साहित्य, कला, संस्कृति र इतिहासबारे विमर्शको अवसर सिर्जना गर्नुका साथै माडीलाई थारू साहित्यिक तथा सांस्कृतिक गतिविधिको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट