माडी, २२ असोज ।
माडी नगरपालिका–४ स्थित सोमेश्वर सामुदायिक वन (साविक ७ नम्बर) को प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ईश्वर महतो विजयी हुनुभएको छ ।
नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धनका साझा उम्मेदवार नेत्र आलेलाई १० मतको अन्तरले पराजित गर्दै महतो वन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो ।
स्वतन्त्र मतदाताको समेत समर्थन पाउनुभएका महतोले गठबन्धनका उम्मेदवार आलेलाई पछि पार्नुभएको हो । यसअघि वन समितिको अध्यक्षका रूपमा एक कार्यकाल जिम्मेवारी सम्हालिसक्नुभएका आले पुनः नेतृत्वमा दोहोरिने उद्देश्यका साथ गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।
तर, निर्वाचनको अन्तिम परिणाम महतोको पक्षमा गएको हो ।
ठूला राजनीतिक दलहरूको संयुक्त गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै महतोले हासिल गरेको जितलाई स्थानीयस्तरमा अर्थपूर्ण रूपमा हेरिएको छ । कतिपय स्थानीयले यस परिणामलाई आगामी स्थानीय तहको निर्वाचनमा देखिन सक्ने जनमतको सम्भावित संकेतका रूपमा समेत हेरेका छन् ।
निर्वाचन परिणामले स्थानीयस्तरमा राजनीतिक दलप्रतिको समर्थन र मतदाताको रोजाइबारे नयाँ बहससमेत सिर्जना गरेको छ ।





